अलैँचीको प्रवद्र्धन गर्न मंसिर ७ गतेदेखि ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा हुने दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेलाका बिजेताले पाउने पुरस्कारदेखि मायाको चिनोसम्म अलैँची प्रदान गरिने भएको छ ।
आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिले दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेलाका खेलाईने आमन्त्रित क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिताका बिजेता, विधागततर्फका बिजेतादेखि अतिथिसम्मलाई मायाको चिनो दिँदा अलैँची प्रदान गर्ने भएको हो ।
फङ्फङ्देन झरना पर्यटन विकास समितिले मंगलबार फुङलिङमा पत्रकार सम्मेलन गरी मिक्वाखोला गाउँपालिका-४ तेम्बामा हुने आमन्त्रित अन्तर क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।
फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख २ हजार ८२ रुपैयाँ र उपबिजेता हुने टिमलाई १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैँची पुरस्कार स्वरुप प्रदान गरिने छ ।
मंसिर ११ गते प्रतियोगिता सकिने र सोहि दिनको अलैँचीको चलनचल्तिको मूल्यलाई आधार मानेर सोहि परिमाण अनुसारको अलैँची प्रदान गरिने अध्यक्ष साँवाले बताए ।
‘पुरस्कार प्राप्तकर्तालाई कुनै झञ्झट हुन्न’अलैँची किन्न व्यवसायी कार्यक्रम स्थलमै आईपुग्नु हुन्छ’साँवाले भने । फङ्फङ्देन झरना पर्यटन विकास समितिका कोषाध्यक्ष सुकबहादुर साँवाले बिधागत पुरस्कार र अतिथिलाई दिने मायाको चिनो समेत यसबर्ष अलैँची नै रहने जानकारी दिए । बिधागत पुरस्कारको रकम निक्र्योल भईनसकेपनि बिजेताले प्राप्त गर्ने पुरस्कार रकमको आधारमा अलैँचीको परिणाम मापन गरिने कोषाध्यक्ष साँवाले बताए ।
दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेला सम्पन्न गर्न १९ लाख ५० हजार १ सय १० रुपैयाँ बराबर आयव्यय हुने समितिले अनुमान गरेको छ । मिक्वाखोलाबासी, देशबिदेशमा रहेका दाता, स्थानीय जलविद्युत केन्द्रहरु, निर्माण व्यवसायी र मिक्वाखोला गाउँपालिका समेतको सहयोगमा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।