पूर्व नेपालको सुन्दर र रमणीय सहर धरानबाट व्यावसायिक प्याराग्लाइडिङ उडान पुनः सुरु गरिएको छ। मौसम खुलेसँगै सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित छोटी मोरङबाट धरान स्काइ एडभेन्चर प्याराग्लाइडिङ प्रालिले सोमबारदेखि नियमित उडान सेवा सुरु गरेको हो।
धरानका आकाशमा अहिले रंगीन प्याराग्लाइडिङहरू उडेको देख्दा सहर झनै जीवन्त र आकर्षक देखिन थालेको छ। पर्यटनका दृष्टिले धरानमा सुरु भएको यो सेवा अब सहरको नयाँ पहिचान बन्न थालेकोले यहाँको ‘आकाशको सहर’ को रूपमा स्थापित गर्ने छ।
नेपाल ह्याङ ग्लाइडिङ तथा प्याराग्लाइडिङ संघ सुनसरीका अध्यक्ष रोशन अधिकारीले मौसम खुलेसँगै धरानमा नियमित रूपमा प्याराग्लाईडिङ उडान सुरु गरिएको बताए। प्याराग्लाईडिङ उडान सुरु भएसँगै धरानको आकासमा कावा खाँदै प्याराग्लाइडिङ उड्न आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन हुन थालेको छ। अधिकारीका अनुसार धरानमा प्याराग्लाइडिङ सञ्चालन गर्नका लागि पाइलट तालिम र प्राविधिक तयारी पूरा गरी व्यावसायिक रूपमा सुरु गरेको बताए। उनले भने, ‘धरान र भेडेटारको पर्यटन आकर्षणलाई अझ विस्तार गर्न हामीले व्यावसायिक उडान सुरु गरेका हौं। यसले धरानको आन्तरिक र बाह्य पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्नेछ।’
प्याराग्लाइडिङ उडान छोटी मोरङबाट सुरु भएर धरान बजारवरिपरि परिक्रमा गर्दै धरान रंगशाला, बुढासुब्बा मन्दिर परिसर र सेउती खोला किनारमा ल्यान्डिङ गरिन्छ। करिब ३० मिनेटको हवाइयात्रामा पर्यटकले धरान र आसपासका रमणीय भू–दृश्य, भेडेटार, सप्तकोसी नदीको माथिल्लो भाग तथा पहाडका रमणीय स्थलहरूको दृश्यावलोकन गर्न पाउँछन्।
प्याराग्लाइडिङ पाइलटहरू भूपाल चाम्लिङ राई, शालिग्राम खड्का, मिलन तामाङ, राजेश लिम्बु र तारामणि राईले अहिले नियमित रूपमा उडान सेवा दिइरहेका छन्। यस्तै, धरानकै रोशन अधिकारी, प्रजिता अधिकारी, प्रज्ज्वल अधिकारी र कृष्णराज भण्डारीले सोलो उडान भर्दै आएका छन्। धरानमा हाल छ जना व्यावसायिक ट्यान्डम पाइलट र चारजना सोलो पाइलट स्थायी रूपमा उडानमा संलग्न छन्।
सञ्चालक अधिकारीका अनुसार एकपटकको उडानका लागि ७ हजार रुपैयाँ शुल्क लाग्नेछ। यात्रामा फोटो र भिडियो खिच्ने सुविधा पनि समावेश गरिएको छ। धरानमा सुरु गरिएको प्याराग्लाइडिङ पोखरापछि दोस्रो प्रमुख व्यावसायिक उडान केन्द्र बनेको छ। पोखराको सारङकोटबाट सुरु भएको प्याराग्लाइडिङ देशकै सबैभन्दा लोकप्रिय गन्तव्य बनेको थियो, तर अब धरानमा पनि पर्यटकहरूको चाप बढ्दै गएको सञ्चालक अधिकारीले जनाए। धरान–१४ की रोजिना पाण्डेले पहिलोपटक प्याराग्लाइडिङबाट आकाशमा उड्दा आफूलाई उड्ने पक्षीजस्तो महसुस भएको बताइन्। उनले भनिन्, ‘धरानकै आकाशमा उड्न पाउँदा निकै रोमाञ्चक अनुभव भयो, डरभन्दा बढी आनन्द लाग्यो।’
धरानबाट प्याराग्लाइडिङ उडान हुन थालेपछि भारतको बिहार, विराटनगर, इटहरी, झापालगायत स्थानबाट पनि पर्यटकहरू आउन थालेका छन्। अधिकारीका अनुसार पछिल्लो समयमा पुरुषभन्दा महिलाहरूको सहभागिता बढी भएको छ।
उनले भने, ‘धरानमा उड्ने महिलाको संख्या दिन प्रतिदिन बढ्दैछ, जसले नेपालमा साहसिक पर्यटनमा महिलाको अग्रसरता देखाएको छ।’ धरानकी जानुका लिम्बुले पनि आकासमा कावा खादै उडन पाउँद आनन्द महसुस भएको बताइन्। उनले पहिलोपटक आकाश उड्न पाउँदाको क्षण अविस्मरणीय रहेको बताइन्।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले धरानमा नियमित रूपमा प्याराग्लाइडिङ सञ्चालन हुनुले स्थानीय पर्यटन व्यवसायमा नयाँ ऊर्जा भरेको बताए। उनले भने, ‘यो सेवाले धरानमा आन्तरिक पर्यटक मात्र होइन, भारतका विभिन्न सहरबाट पनि पर्यटक तान्नेछ। यसले होटल, यातायात र रेस्टुरेन्ट व्यवसायमा समेत सकारात्मक प्रभाव पार्नेछ।’ नेपालमा हाल धरानसँगै उदयपुरको बेलका–बुक्ताङ डाँडा, चन्द्रागिरि, स्याङजा र सुर्खेतमा पनि प्याराग्लाइडिङ सञ्चालन भइरहेको छ। तर, धरानको विशेषता भनेको तराई, पाहाड र हिमालको दृश्य अवलोकन गर्ने
विशेषता रहेको छ।
स्थानीय पाइलट भूपाल चाम्लिङ राईका अनुसार यहाँको उडान मार्ग सुरक्षात्मक दृष्टिले सुरक्षित र प्राकृतिक रूपमा उपयुक्त छ। उनले भने, ‘छोटी मोरङ टेकअफ साइट र सेउती किनार ल्यान्डिङ क्षेत्रबीचको उचाइ र हावाको दिशा प्याराग्लाइडिङका लागि अत्यन्तै अनुकूल छ।’ धरानमा सुरु भएको प्याराग्लाइडिङले स्थानीय पर्यटन मात्र होइन, पूर्व नेपालकै साहसिक पर्यटनको नयाँ पहिचान निर्माण गर्ने अपेक्षा गरिएको छ।