सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा फैलिएको करिब २१.५ हेक्टर क्षेत्रफलमा रहेको तालतलैया अहिले पूर्वक्षेत्रको प्रमुख मनोरञ्जन तथा वनभोज गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।
मुख्य वनभोज मौसममा दैनिक १२–१५ हजार पर्यटक आउने गरेका छन् भने सामान्य दिनमा पनि ५०० भन्दा बढी घुम्न आउने गर्छन्। एकैपटक ७० भन्दा बढी समूहले वनभोज गर्न सक्ने क्षमता भएकाले अग्रिम बुकिङ आवश्यक हुन्छ।
पर्यटक आकर्षणका लागि यहाँ ६ वटा पोखरी, २ मोटरबोट, चिडियाखाना, नर्सरी, वाटरफाउन्टेन, चिल्ड्रेन पार्क, चौतारा र बगैँचा निर्माण गरिएको छ।
चिडियाखानामा दुम्सी, मयँुर, गिद्ध, चित्तल, हाँस, घोडा, बाँदरलगायत जनावर अवलोकन गर्न सकिन्छ। करिब ४० प्रतिशत पर्यटक भारत तथा तराईका जिल्लाबाट आउने गरेका छन्।
सहरी विकास मन्त्रालयको रु ८५ लाख बजेटले शौचालय, संरचना तथा बालमैत्री सुविधा थप निर्माण गरिएको छ। यसले स्थानीय व्यापारीलाई पनि फाइदा पुर्याएको छ, चटपटे, मःम, चाउमिनजस्ता परिकार बिक्री बढ्दा आयस्तरमा सुधार भएको छ।
अध्यक्ष गङ्गाबहादुर रायमाझीले भने, “यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण चिडियाखाना हो, जहाँ विभिन्न वन्यजन्तु छन्।” त्यस्तै स्थानीय व्यापारी चन्द्रकला श्रेष्ठले भनिन्, “घर नजिकै पर्यटकीय स्थल रहेकाले साना व्यापारीलाई ठूलो फाइदा पुगेको छ।”
फराकिलो क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट र फूलबारीका कारण छुट्टी मनाउन उपयुक्त गन्तव्य बनेको तालतलैया स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै प्रदेश तथा संघीय सरकारको सहयोगमा थप संरचना र संरक्षण कार्य भइरहेको छ।