धरान–६ पानवारीमा नेपाल प्रहरीले सञ्चालन गर्दै आएको आसरा सुधार केन्द्र पछिल्लो ६ वर्षमा केवल उपचार केन्द्रका रूपमा सीमित नरही दुर्व्यसनको अँध्यारोबाट उज्यालोतर्फ फर्किने १ हजार ८ सय ७ युवाको जीवनयात्राको साक्षी पनि बनेको दाबी गरेको छ ।
लागू औषधको कुलतले व्यक्तिगत जीवन मात्र होइन, परिवार र समाजलाई नै असर पारिरहेको सन्दर्भमा केन्द्रले पुनःस्थापनामार्फत युवालाई जिम्मेवार नागरिक बनाउने अभियानलाई सात वर्षदेखि संस्थागत रूप दिएको जनाएको हो ।
बिहीबार केन्द्रको सातौँ वार्षिक उत्सव तथा साधारण सभा कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना खत्री कार्कीले अन्जानमा वा साथीसंगतको प्रभावमा लागू औषधको लतमा फस्नु दुःखद अवस्था भएको उल्लेख गरिन् । उनले दुर्व्यसनले व्यक्ति, परिवार, समाज हुँदै राष्ट्रमै नकारात्मक असर पार्ने भएकाले यसविरुद्ध सबै वर्ग, समुदाय र संघ–संस्थाको साझा प्रयास अपरिहार्य रहेको धारणा व्यक्त गरिन्। उनका अनुसार उपचार, परामर्श र पुनःस्थापनाको समन्वित अभ्यासले मात्र दुर्व्यसनमा फसेकाहरूलाई दिगो रूपमा जीवनमा फर्काउन सकिन्छ र यसमा आसरा सुधार केन्द्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन् ।
२०७५ चैत १ गते स्थापना भएको यस केन्द्रले सुरुआतमा एक जना लागू औषध प्रयोगकर्ताबाट सेवा सुरु गरेको थियो । आज भने यसले देशभरबाट आउने सेवाग्राहीलाई समेट्दै कोशीबाट १ हजार ६ सय ५५ जना, मधेसबाट १ सय ३५ जना, बाग्मतीबाट १४ जना, सुदूरपश्चिमबाट २ जना र भारतबाट १ जनालाई दुर्व्यसनमुक्त बनाइसकेको छ। हाल केन्द्रमा ९५ जना उपचार र परामर्शको प्रक्रियामा रहेको जनाइएको छ ।
उमेर समूहका आधारमा हेर्दा १६ देखि २० वर्षका ३ सय ८४ जना, २१ देखि ३० वर्षका ८ सय ७ जना, ३१ देखि ४० वर्षका ३ सय ३५ जना तथा ४१ वर्षभन्दा माथिका २ सय ८० जना पुरुषले यहाँ उपचार लिएका छन्। गाँजा, चरेस, आइस, ट्याब्लेट, मदिरा, हेरोइनलगायत विभिन्न लागू औषध प्रयोग गर्ने ९ सय २५ जना तथा एउटै प्रकारको लागू औषध प्रयोग गर्ने ४ सय ६६ जना व्यक्ति दुर्व्यसनमुक्त भएको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
धरान, झापा, मोरङ, हिलेसहित कोशी प्रदेशका विभिन्न स्थान तथा मधेस प्रदेशका जिल्लाबाट समेत सेवाग्राही यहाँ आउने गरेको आसरा सुधार केन्द्रका कार्यवाहक अध्यक्ष तथा प्रथम उपाध्यक्ष शिला बज्राचार्यले बताइन् । यसले आसरा सुधार केन्द्रलाई क्षेत्रीय सीमाभन्दा बाहिरको भरोसायोग्य पुनःस्थापना केन्द्रका रूपमा स्थापित गराउन सफल भएको उनको दाबी छ । केन्द्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै सेवा विस्तार गर्दै लैजाने उनले बताइन् ।
केन्द्रमा पानीको समस्या रहेको कारण प्रदेश सरकारले डीप बोरिङका लागि बजेट छुट्याई दिएको उनले जानकारी दिएकी छिन् । आगामी दिनमा लागू औषधमुक्त व्यक्ति र समाज निर्माणका लागि उपचार तथा पुनःस्थापना केन्द्रहरूको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा केन्द्रका कर्मचारी तथा विभिन्न खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गरेका उपचाररत सदस्यलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा उपचाररत सदस्यहरूले गायन तथा नृत्य प्रस्तुति दिएर आफूभित्रको परिवर्तन र आत्मविश्वासलाई सार्वजनिक रूपमा अभिव्यक्त गरे। कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्ग, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारी, सञ्चालक समिति सदस्य, आजीवन सदस्य, धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम बेघा, व्यवसायी सरोज श्रेष्ठ, वडाअध्यक्षहरू, सुरक्षा निकायका पदाधिकारी तथा प्रशिक्षार्थीको उल्लेख्य सहभागिता थियो ।