-गिरिराज बाँस्कोटा
केही वर्षअघिसम्म पाँचथरको तमोर नदी आसपासका क्षेत्र उजाड थिए । पाँचथरको तुम्बेवा र कुम्मायकका केही ठाउँबाहेक खेतीपाती हुँदैनथ्यो । मानिसहरू बसाइँ सरेर मधेश झरिरहेका थिए । तमोरमाथिका गाउँहरू सुनसान थिए, सुविधा थिएन । थोरै बस्तीमा पनि मानिसहरू कमै बस्थे । उखरमाउलो गर्मी हुने यी ठाउँमा मानवीय गतिविधि घट्दै गएको थियो । जग्गा बिक्रीको कुरै थिएन, घरहरू भत्किँदै थिए, र खानेपानीको समस्या उस्तै थियो । बाँकी परिवारहरू पनि बसाइँ सर्ने सोचमा थिए ।
धनकुटाको साँगुरीगढी र चौबिसेका तमोर नजिकका गाउँमा सामान्य खेतीपाती र माछा मार्ने काम हुन्थ्यो, तर मानिसहरू गाउँमा टिक्न सकिरहेका थिएनन् । बसाइँ सर्ने क्रम बढ्दो थियो ।
तर, पछिल्ला चार–पाँच वर्षमा यो दृश्य फेरिएको छ । तमोर करिडोरको सडक निर्माण सुरु भएपछि यी उजाड क्षेत्रमा आशा पलाएको छ । ग्राभेल सडकको ट्र्याक खुलेपछि चहलपहल बढ्यो । सुनसान तमोर किनारमा कालोपत्रे सडक बन्न थालेपछि यहाँको मुहारै बदलिएको छ ।
सुनसरीको चतरादेखि पाँचथरको दोरिम्बासम्म सडक बनेपछि यहाँको स्वरूप फेरिएको छ । पहिले तमोर किनार हुँदै नुन किन्न धरान र मधेश जाने बाटो थियो । यो सडक बनेपछि चहलपहल बढेको छ । गाउँका मानिसहरू सडक छेउ झरेका छन् । होटल, पेट्रोल पम्प, नयाँ घर निर्माण र जग्गाको कारोबार बढ्दै गएको स्थानीय बताउँछन् । ताप्लेजुङ, पाँचथर र तेह्रथुमका लागि गाडीहरू यो बाटोमा बाक्लै गुड्छन् । पर्यटक र सामान बोक्ने ठूला गाडीहरू पनि देखिन्छन् ।
'मेची राजमार्गको गोपेटरमा होटल चलाउँथेँ । यहाँ चहलपहल बढेपछि यता सरे । अहिले यहाँ गाडीको बाक्लो आवतजावत छ । पाथीभरा जाने धेरै यो बाटो प्रयोग गर्छन्,' पाँचथरको भुल्केका व्यवसायी वीरबहादुर कार्की भन्छन्, 'केही वर्षमै यहाँको चहलपहल निकै बढ्यो । शुक्रबार र शनिबार त खाना दिन भ्याइँदैन ।'
सडक छेउछाउ खाना र खाजा पाइने होटलहरू खुलेका छन् । नयाँ घरहरू बन्दैछन् । पहिले बादर हिँड्ने पहाड अहिले आकर्षक गन्तव्य बन्दैछ । घुम्ती कम भएको यो सडकबाट छिटो यात्रा गर्न सकिन्छ । पाँचथरको फिदिमबाट चार घण्टामा धरान पुगिन्छ । पूर्वी पहाडबाट काठमाडौं र ठूला सहर पुग्ने यो छोटो बाटो हो ।
१५८ किलोमिटर लामो तमोर करिडोरको धनकुटाको मुलघाटदेखि दोरिम्बासम्मको ११० किलोमिटर खण्ड कालोपत्रे गर्ने ठेक्का लागेको छ । हालसम्म ३५ किलोमिटर कालोपत्रे भइसकेको आयोजना प्रमुख प्रदीप निरौलाले बताए । मुलघाट–हाङठुवा खण्डमा कालोपत्रे तीव्र गतिमा भइरहेको छ । यो ६६ किलोमिटर खण्डको ३३ किलोमिटर सकिएको छ, तर हाङठुवा–दोरिम्बा खण्डको काम भने सुस्त छ ।
'३५ किलोमिटर कालोपत्रे सकियो । यो क्षेत्रमा ठूलो परिवर्तन भएको छ । सडक नै विकासको मुख्य आधार हो । सुस्त खण्डमा पनि काम अघि बढाउन पत्राचार गरिरहेका छौँ,' निरौला भन्छन्, 'यो पूर्वी पहाडको महत्त्वपूर्ण सडक हो । चीन र भारत जोड्ने छोटो बाटो पनि हो ।'
तमोर करिडोरबाट गाउँ–गाउँ जाने सडकहरू बनेका छन् । गाउँबाट जीप र बस तराई झर्ने गर्छन् । ठाउँ–ठाउँमा निर्माण कार्य भइरहेको छ । 'हामी चाँडो सक्ने गरी काम गरिरहेका छौँ, तर बजेटको समस्या छ,' क्षमादेवी निर्माण कम्पनीका आयोजना व्यवस्थापक गोपाल थापा भन्छन्, 'काम गर्दागर्दै यहाँको चहलपहल ह्वात्तै बढ्यो । सुनसान ठाउँ अहिले रमाइलो बन्दैछ ।'
बाँकी कालोपत्रे र खोलामा पुल निर्माण चाँडै सकिए यो सडकमा गाडी र चहलपहल अझै बढ्ने देखिन्छ । धनकुटामा खेतीपाती फस्टाएको छ । आँप, लिची र तरकारी खेती बढेको छ । 'सडक आएपछि हाम्रो बुद्धि फर्कियो । आँप र लिची खेती लगाएँ,' साँगुरीगढीका गोविन्द इङनाम भन्छन्, 'फलाउन सकियो भने गाउँबाटै गाडीले उठाउँछ । बसाइँ सर्ने सोचमा थियौँ, तर सडक आएपछि यतै खेतीपातीमा लाग्यौँ ।'
बसाइँ सर्ने सोचेकी सुकमाया विक पनि सडक छेउमा घुम्ती पसल चलाउँछिन् । उनको पसलमा गाउँमा फलेका आँप, टमाटर, केरा र तरकारी छन् । सहरबाट ल्याएका सामान पनि बिक्री गर्छिन् । 'गाडी रोकाएर मानिसहरू स्थानीय सामान खोज्छन् । फ्रिजमा चिसो पेय र दही, मोही पनि राखेकी छु,' उनी भन्छिन्, 'हामी मधेश झर्ने सोचमा थियौँ, तर गाउँमा गाडी आएपछि यतै अडियौँ ।'
तमोर नजिकको पैदल बाटोलाई पहिले ‘गडतिरको बाटो’ भनिन्थ्यो । यसै बाटो हुँदै मधेश झर्ने गरिन्थ्यो । 'गाउँमा कालोपत्रे सडक आउँछ भन्ने सोचेकै थिएनौँ । हेर्दाहेर्दै सुविधा आयो,' ताराकुमार लिम्बु भन्छन्, 'अहिले त गाडीको ताँती नै छ ।'
तमोर करिडोर सुनसरीको चतरादेखि पाँचथरको सुभाङ खोला हुँदै नेपाल–चीन सीमाको ताप्लेजुङको टिप्तालासम्म पुग्छ । यो सडक सामरिक, आर्थिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव कुवेर नेपाली बताउँछन् । 'पाथीभरा, कञ्चनजङ्घा जस्ता पर्यटकीय क्षेत्र, अलैंचीजस्ता स्थानीय उत्पादन र ठूला सहर पुग्ने छोटो बाटो भएकाले यो सडकको महत्त्व छ । यसको भविष्य उज्ज्वल छ,' उनी भन्छन् ।