-डा. विष्णु कार्की
यसपालि कक्षा १२ को नतिजा राम्रो आएको छ । समग्रमा राम्रो आएकाले सबैले खुला हृदयले स्वागत गर्नुपर्छ । सबैको मेहनतका कारण ६१ प्रतिशतभन्दा धेरैले कक्षा १२ को परीक्षा उत्तीर्ण गर्न सकेका हुन् ।
२०३३ सालमा जम्मा २४ प्रतिशतले माध्यमिक शिक्षा उत्तीर्ण गरेका थिए भने अहिले ६१ प्रतिशतले उत्तीर्ण गर्नुलाई उपलब्धि नै मान्नुपर्छ । तर यो नतिजा सन्तोषजनक भने होइन, ३९ प्रतिशत विद्यार्थी कहाँ हराए ? यसमा पनि शङ्का नगरौँ । २ वर्ष अगाडि ५० प्रतिशत पनि उत्तीर्ण भएका थिएनन् ।
गएको वर्षको तुलनामा यसपालि ९.०२ प्रतिशत धेरै विद्यार्थी उच्च शिक्षामा भर्नाका लागि योग्य भएका हुन् । गएको वर्ष ५२.१५ प्रतिशत विद्यार्थी मात्र ‘ग्रेडिङ’ मा परेका थिए ।
कक्षा १२ को नतिजामा सुधार आउनु भनेको अभिभावकको चाहना र सचेतना फैलिएर पनि हो । अर्को कारण भनेको विद्यार्थीमा पढ्ने बानी र लत लागेपछि समूहमा रहेका सबै साथीभाइहरू पढ्ने गर्दा रहेछन् । पढ्ने प्रतिस्पर्धा नै चल्दो रहेछ ।
शिक्षण प्रणाली बीचमा सुधारिएको भन्दा पनि परीक्षा प्रणालीमा केही सहज गराएको जस्तो लाग्छ । अर्को कुरा, प्रविधिको प्रवेश पनि हो । पछिल्लो एक दशकमा कक्षाकोठादेखि बाहिर जताततै प्रविधिले प्रवेश पाएको छ । यसले पनि परीक्षामा प्रभाव पारेको छ ।
सिकाइका धेरै कुरा अहिले मोबाइलबाट प्राप्त गर्न सकिन्छ । च्याट जीपीटी लगायतले गर्दा विद्यार्थीहरू सिकाइमा धेरै अघि बढिसकेका छन् । शिक्षकलाई प्रश्न गर्न सक्ने भइसकेका छन् । अबको चुनौती भनेको विद्यार्थीको सिकाइ होइन, अबको चुनौती परम्परागत सिकाइका माध्यम र पुराना ढर्राका सामग्री र वातावरण नै हुन् ।
अब चुनौती भनेको कुनै विद्यार्थीले च्याट जीपीटीबाट प्रश्नको उत्तर लिएर आउँछन् भने त्यसलाई पास गर्ने कि नगर्ने भन्ने हो । अब प्रविधिसँगै आएका चुनौतीसँग जुध्न र यसबारे बहस गर्ने बेला आएको छ । किताब पढेर दिने उत्तर र च्याट जीपीटीमध्ये कुन ठीक हो भनेर गम्भीर बहस गर्ने बेला आएको छ ।
‘ननग्रेडेड’ विद्यार्थीलाई सुझाव
दुई विषयसम्म ‘ननग्रेडेड’ विद्यार्थीका लागि आउँदो भदौ २८ र २९ गते मौका परीक्षा हुँदैछ । झन्डै ४ लाख विद्यार्थीमध्ये डेढ लाखभन्दा धेरै विद्यार्थी कक्षा १२ को परीक्षामा ननग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन् । ‘ननग्रेडेड’ १ लाख ५३ हजार ८ सय ८२ जना विद्यार्थीले भदौमा हुने ग्रेडवृद्धि परीषा उत्तीर्ण गरेपछि माथिल्लो तहमा भर्ना हुन पाउने छन् ।
आंशिकतर्फ १ लाख १४ हजार ६ सय ४० जनाले परीक्षा दिएकामा ४१ हजार ८ सय ४० अर्थात ३६.४९ प्रतिशतले मात्र ‘ग्रेड’ प्राप्त गरेका छन् । यसमा ‘ननग्रेडेड’ ७२ हजार ८ सय विद्यार्थी भने ग्रेडवृद्धि परीक्षामा पनि सहभागी हुन पाउँदैनन् । तर परीक्षामा अनुत्तीर्ण हुनु भनेको जीवनको समाप्ती भने पक्कै हैन ।
यो त जीवनको शुरुआत हो । यस्ता चुनौती त जीवनमा धेरै भोग्नु छ । ‘ननग्रेडेड’ विद्यार्थीलाई सुझाव के दिन चाहन्छु भने जीवनमा अझ धेरै मेहनत गर्न बाँकी छ । भोलि अन्य परीक्षामा पनि सफल हुन सकेन भने अन्य धेरै उपाय छन् । टेक्निकल भोकेशनल कार्यक्रमहरू छन् ।
शिक्षाको निरन्तरताका लागि थुप्रै कार्यक्रम छन् । यसका लागि पहिलो शर्त हो, आफ्ना चाहना अनुसारको सीप सिक्ने हो । त्यसमा लगाव भएमा कुनै पनि सीपबाट आफूलाई अगाडि बढाउन सकिन्छ ।
काठमाण्डौ उपत्यकाका पुराना शहरहरूमा हस्तकलाका सीपलाई नै हेरौँ । धेरैजसो उनीहरूले उच्च शिक्षा त हासिल गरेका छैनन् तर हस्तकलामा बेजोड सीप सिकेका छन् ।
उनीहरूको सीप अन्तर्राष्ट्रियस्तरमा पुगेका छन् । सम्मान र मान्यता पाएका छन् । त्यसैले यो परीक्षा नै जीवनको सम्पूर्ण सिकाइ होइन, अबको बेला भनेको पढाइसँगै सीप सिकेर रोजगारीमा लाग्ने हो । किनकी किताब मात्र पढेर संसार देखिन्न, न त संसार नै चिन्न सकिन्छ । त्यसैले जीवनमा अघि बढ्नु छ भने ‘ननग्रेड’ भए पनि अझ प्रयास गरौं । र सँगै सीप पनि सिकौँ । त्यसमा लागौँ ।
‘ग्रेडेड’ विद्यार्थीलाई सुझाव
कक्षा १२ को परीक्षा सकिनेबित्तिकै विदेश गएर पढ्ने र रोजगारका नाम वा अन्य नाममा पलायन हुने क्रम बढ्दो छ । अहिले विदेश नगएको घर सायदै होला । प्रायः बाहिर जाने भनेको सामाजिक प्रतिष्ठासँग जोडिने गरेको छ । पढेर गर्ने भनेको भोलि फेरि रोजगारी नै हो । उच्च शिक्षा पढ्न यहीँ पनि राम्रा कलेजहरु छन् । अहिले त उत्कृष्ट कलेजहरु छानेर यहीँ नै पढ्न सकिन्छ ।
अन्तर्राष्ट्रियस्तरका कलेजहरु यहीँ नै छन् । जति समस्या र चुनौती भए पनि यहीँ लडाइँ लडौँ, यहीँ केही गरौँ । विदेशमा जति बसे पनि भोलि फेरि स्वदेश फर्कनै पर्छ । आफ्ना राम्रा विचार यही दिऔँ । सीप सिकेर यही केही गरौँ ।