नेपालको राजनीति आज सामान्य परिवर्तनको चरणमा छैन् । यो केवल सरकार गठन–विघटन, गठबन्धन फेरबदल वा दलहरूको आन्तरिक शक्ति संघर्षको विषय मात्र होइन । आज नेपाल राजनीतिक संस्कार, सार्वजनिक विवेक र भावी पुस्ताको चेतना सम्बन्धी अत्यन्तै संवेदनशील र निर्णायक मोडमा उभिएको छ । विगत तीन दशकदेखि नेपाली समाजले एउटै चक्र दोहोर्याउँदै आएको छ- आशा, भरोसा, निराशा र अन्ततः आक्रोश । यहीँ दीर्घ निराशाको पृष्ठभूमिबाट “नयाँ राजनीति” को नारा जन्मियो । पुराना दल, पुराना अनुहार र पुराना व्यवहारबाट आजित जनताले नयाँ विकल्प खोज्न थाले । यही विकल्प खोज्ने मनोविज्ञानबाट नयाँ उदयमान नेताहरू अगाडि आए । तर, आज एउटा गम्भीर प्रश्न अनिवार्य रूपमा उठ्न थालेको छ- के हामीले साँच्चै नयाँ राजनीति पाउँदैछौँ, कि केवल आक्रोशको नयाँ संस्करण ?
रवि र बालेन: असन्तुष्टिको प्रतिनिधित्व कि उत्तेजनाको विस्तार ?
रवि लामिछाने र बालेन शाह दुवै जनताको गहिरो असन्तुष्टि, निराशा र राज्यप्रतिको वितृष्णाबाट जन्मिएका राजनीतिक पात्र हुन् । उनीहरूको उदय आकस्मिक होइन । दशकौँदेखि जनताले भोग्दै आएको कुशासन, भ्रष्टाचार र अवसरको अभावको प्रतिफल हो । उनीहरूले बोलेका धेरै कुरा जनताको मनभित्र गुम्सिएको पीडाको प्रतिध्वनि हुन्, र यही कारणले उनीहरू लोकप्रिय बने । यस यथार्थलाई नकार्न सकिँदैन । तर, लोकतान्त्रिक राजनीतिमा मूल्याङ्कन केवल के बोले भन्ने आधारमा हुँदैन् । साँचो प्रश्न यो हो— कसरी बोले, किन बोले र त्यसले समाजलाई कुन दिशातर्फ लैजाँदैछ ? राजनीतिमा प्रयोग हुने भाषा सामान्य अभिव्यक्ति होइन । त्यो भाषा नीति बन्नुअघि नै समाजको चेतनामा बस्छ, संस्कार बन्छ र भोलिको पुस्ताका लागि उदाहरणका रूपमा स्थापित हुन्छ ।
जब नेतृत्व तहबाट प्रयोग हुने शब्दहरू संयमित, जिम्मेवार र दृष्टिसम्पन्न हुँदैनन्, तब त्यसको असर केवल व्यक्तिमा सीमित रहँदैन— पूरै राजनीतिक संस्कृतिमा फैलिन्छ । यसले युवा पुस्तालाई के सन्देश दिन्छ ? के गाली गर्नु साहस हो ? के संस्था जलाउने भाषा परिवर्तन हो ? के आवेग नै नेतृत्व हो ? राजनीति क्रोध व्यक्त गर्ने मञ्च होइन, राज्य चलाउने जिम्मेवारी हो । संस्था जलाउने भाषाले संस्था सुध्रिँदैन, गालीले शासन बलियो हुँदैन, र उत्तेजनाले राष्ट्रको भविष्य सुरक्षित हुँदैन । असन्तुष्टिलाई नेतृत्वमा रूपान्तरण गर्ने साहस नै साँचो परिवर्तन हो । नत्र आज लोकप्रिय देखिएको उत्तेजनात्मक राजनीति भोलि यही लोकतान्त्रिक व्यवस्थाका लागि सबैभन्दा ठूलो जोखिम बन्न सक्छ ।
सामाजिक सञ्जाल र राजनीतिक प्रदर्शनको संस्कार
सामाजिक सञ्जालले लोकतन्त्रलाई आवाज दिएको छ, तर त्यससँगै राजनीतिलाई खतरनाक रूपमा सतही पनि बनाएको छ । आज ३० सेकेन्डको आक्रोशपूर्ण भिडियो लाखौँ पटक हेरिन्छ र सेयर हुन्छ, तर ३० पृष्ठको नीति दस्तावेज पढ्न चाहने औँलामा गन्न सकिने छन् । यही असन्तुलनले राजनीतिलाई विचारको प्रतिस्पर्धाबाट प्रदर्शनको प्रतिस्पर्धातर्फ धकेलेको छ । गहिरो बहसभन्दा चर्को अभिव्यक्ति प्रभावकारी ठानिने, संयमभन्दा उत्तेजना रुचाइने, र दीर्घकालीन दृष्टिकोणभन्दा क्षणिक प्रतिक्रियालाई सफलता मानिने प्रवृत्ति बलियो बन्दै गएको छ ।
तर बुझ्नैपर्ने कुरा के हो भने- राष्ट्र निर्माण ट्रेन्डबाट हुँदैन । राष्ट्र निर्माण धैर्य, निरन्तरता र स्पष्ट दृष्टिकोणबाट हुन्छ । ट्रेन्ड आज हुन्छ, भोलि हराउँछ । तर नीतिको प्रभाव पुस्तौँसम्म रहन्छ । यदि राजनीतिले ‘भाइरल’ हुनुलाई नै सफलता ठानिरह्यो भने, देश ‘स्टेबल’ बन्न सक्दैन । सामाजिक सञ्जाल लोकतन्त्रको उपकरण हुन सक्छ, तर जब त्यो नै लक्ष्य बन्छ, तब राजनीति दिशाहीन प्रदर्शनमा झर्छ । सबैभन्दा चिन्ताजनक पक्ष के हो भने- नयाँ भनेर आएका धेरै नेतृत्वकर्ताले व्यवहारमा पुरानै शैली दोहोर्याइरहेका छन् । भाषण बदलिएको छ, शब्द अलि फरक छन्, तर राजनीतिक संस्कार उही छ- आरोप, उत्तेजना, भीड उचाल्ने कला र क्षणिक लोकप्रियतामा आधारित राजनीति ।
पुराना दलले सडकमा टायर बाल्न सिकाए, नयाँ भनिएकाहरूले सामाजिक सञ्जालमा आगो बाल्न थालेका छन् । माध्यम फेरिएको छ, तर उद्देश्य फेरिएको देखिँदैन ।
यहाँ प्रश्न उठ्नैपर्छ- के हामीले चाहेको नेता यही हो ? के नीति भन्दा पोस्टमा व्यस्त रहने नेतृत्व नै विकल्प हो ? के समाधानभन्दा प्रतिक्रिया दिन छिटो हुनु नै क्षमता हो ? यदि लोकप्रियतालाई नै सफलता, ट्रेन्डलाई नै उपलब्धि, र उत्तेजनालाई नै राजनीतिक शक्ति ठानियो भने- त्यो नयाँ राजनीति होइन, पुरानै राजनीतिलाई नयाँ आवरण मात्र हो ।
इतिहासको चेतावनी : के हामी फेरि उही गल्ती दोहोर्याउँदैछौँ ?
नेपालको इतिहासले हामीलाई पटक- पटक चेतावनी दिएको छ- जहाँ संवाद बन्द हुन्छ, त्यहाँ द्वन्द्व जन्मिन्छ । जहाँ द्वन्द्व जन्मिन्छ, त्यहाँ देश दशकौँ पछाडि धकेलिन्छ । हरेक राजनीतिक संकटको मूलमा संवादको अभाव, संयमको कमी, र उत्तेजनालाई शक्ति ठान्ने सोच रहेको छ । आज नेपाल फेरि उही जोखिमतर्फ उन्मुख देखिन्छ । अनुहार फेरिँदा मात्र राजनीति बदलिँदैन । संस्कार, भाषा र सोच नफेरिँदासम्म नयाँ नेतृत्व पनि पुरानै समस्याको निरन्तरता मात्र हुन्छ । “नयाँ” र “पुराना” भन्ने भ्रम आजको नेपाली राजनीतिमा एउटा खतरनाक सरलीकरण फैलिँदैछ- “नयाँ जे पनि राम्रो, पुराना सबै खराब ।” तर राजनीति उमेर वा अनुहारको प्रतिस्पर्धा होइन; राजनीति चेतना, अनुभव, संस्कार र जिम्मेवारीको अभ्यास हो ।
पुराना दलभित्रै रहेर पार्टी सुधार, नीतिगत बहस र लोकतान्त्रिक अभ्यास गरिरहेका नेताहरू- जस्तै गगन थापा, विश्वप्रकाश शर्मा, गोकर्ण विष्ट— लाई केवल “पुराना” भन्ने ट्याग लगाएर अस्वीकार गर्न मिल्छ ? इतिहासले के सिकाएको छ भने- अनुभव बिना उत्साह खतरनाक हुन सक्छ, र चेतना बिना शक्ति विनाशकारी बन्न सक्छ । नयाँ र पुराना बीचको बहस उमेरको होइन, संस्कारको हुनुपर्छ । अनुहारको होइन, भिजन र रोडम्यापको हुनुपर्छ । नेपाललाई अब कस्तो राजनीति चाहिन्छ ? नेपाललाई आज चर्को स्वर होइन, स्पष्ट र जिम्मेवार सोच चाहिएको छ । गाली होइन, ठोस नीति र कार्ययोजना चाहिएको छ । उत्तेजना होइन, उत्तरदायित्व र संयम चाहिएको छ । नयाँ अनुहार स्वागतयोग्य छन् । तर नयाँ संस्कार बिना नयाँ अनुहार अर्थहीन मात्र होइन, कहिलेकाहीँ खतरनाक पनि हुन्छ । नेपाललाई चाहिएको नेतृत्व जनताको रिसमा सवारी गर्ने होइन, जनताको रिसलाई समाधानमा रूपान्तरण गर्ने हो । अब समय आएको छ- आवाज ठूलो हुनेलाई होइन, दृष्टि स्पष्ट हुनेलाई नेतृत्व सुम्पने । यदि आज हामीले सोचेनौँ भने, भोलि इतिहासले हामी सबैलाई प्रश्न गर्नेछ ।