एजेन्सी । विश्वव्यापी रूपमा जीवनका सानाठूला प्रत्येक क्षणलाई ‘सेलिब्रेशन’ बनाउने प्रवृत्तिसँगै मदिरा सेवन गर्ने संस्कार तीव्र रूपमा विस्तार हुँदै गएको छ । जन्मदिनदेखि सफलताको उत्सव, भेटघाटदेखि तनाव घटाउने तथा आधुनिक जीवनशैलीमा मधिराको अनिवार्य जस्तै बन्न थालेको छ । तर, यसरी सामान्यीकरण हुँदै गएको सेवनले स्वास्थ्य, व्यवहार र सामाजिक संरचनामा पार्ने दीर्घकालीन असरबारे बहस पनि उस्तै गहिरिँदै गएको छ ।
चिकित्सा जर्नल जामा इन्टरनल मेडिसिनमा प्रकाशित रिपोर्टका अनुसार मदिरा सेवन र मोटोपन जस्ता जोखिम रोकथाम गर्न सकिने भए पनि, यी दुवैले मिलेर कलेजोसम्बन्धी रोग र मृत्युदर बढाइरहेका छन् ।
अध्ययनले अत्यधिक मदिरा सेवन र मोटोपन एकै व्यक्तिमा सँगै देखिने प्रवृत्ति विश्वभर तीव्र रूपमा बढिरहेको देखाएको छ ।अध्ययनले यस अवस्थालाई केवल व्यक्तिगत स्वास्थ्य समस्या नभई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा व्याख्या गरेको छ ।
करिब ९ प्रतिशत जनसंख्यामा अत्यधिक मदिरा सेवन र मोटोपन दुवै समस्या एकैसाथ देखिन्छ । यो अनुपात प्रतिशतको हिसाबले सानो देखिए पनि जनसंख्याको ठूलो आधारलाई हेर्दा करोडौँ मानिसहरू यस दोहोरो जोखिममा पर्ने देखिन्छ ।
विशेषज्ञहरूका अनुसार यी दुई अवस्था छुट्टाछुट्टै रूपमा पनि गम्भीर स्वास्थ्य समस्या हुन्, तर जब एउटै व्यक्तिमा सँगै देखा पर्छन, तब यसको असर गुणात्मक रूपमा बढ्ने गर्दछ ।
मदिरा सेवन र मोटोपनको संयुक्त प्रभावले शरीरका विभिन्न प्रणालीमा एकैसाथ असर गर्छ । यसलाई वैज्ञानिक भाषामा 'synergistic effect' भनिन्छ । जसको अर्थ दुई फरक जोखिमले अलग–अलग असर गर्नुको सट्टा मिलेर अझ ठूलो क्षति पुर्याउनु हो । यस्तो अवस्थामा कलेजो रोगको जोखिम अत्यधिक बढ्ने, मुटु तथा रक्तनली सम्बन्धी समस्या जटिल बन्ने, शरीरको मेटाबोलिज्म बिग्रने र समयअघि मृत्यु हुने सम्भावना उल्लेखनीय रूपमा बढ्ने देखिएको छ ।
विशेषज्ञहरूका अनुसार अत्यधिक मदिरा सेवनले कलेजोमा बोसो जम्ने, हेपाटाइटिस र सिरोसिस जस्ता गम्भीर रोग निम्त्याउँछ भने मोटोपनले इन्सुलिन प्रतिरोध, मधुमेह, उच्च रक्तचाप र मुटु रोगको जोखिम बढाउँछ । यी दुवै समस्या एकैसाथ हुँदा शरीरमा बोझ अत्यधिक बढ्छ र रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । यसले दीर्घकालीन रूपमा स्वास्थ्य प्रणालीमा पनि ठूलो दबाब सिर्जना गर्ने सम्भावना देखिएको छ ।
अध्ययनले विशेषगरी २६ देखि ४९ वर्ष उमेर समूहमा यो समस्या बढी देखिएको उल्लेख गरेको छ । अनुसन्धानले २६ देखि ३४ वर्षको उमेर समूहका युवामा १० दशमलव ८ प्रतिशत व्यक्तिमा मोटोपना तथा मधिरापानले समस्या देखिएको छ । भने, ३५ देखि ४९ उमेर समूहका युवा १३ दशमलव ६ प्रतिशत र ५० देखि ६४ वर्षका वयस्कहरुका ११ दशमल १ प्रतिशतले यो समस्या रहेको छ । त्यस्तै, मदिराको सेवनबाट (Alcohol Use Disorder- AUD) हुनेको संख्या पनि उल्लेख्य रहेको छ । यसकमा २६ देखि ३४ उमेर समूहका ६ दशमलव २ प्रतिशत, ३५ देखि ४९ उमेर समूहका ५ दशमलव ८ प्रतिशत पुरुषहरुमा (Alcohol Use Disorder-AUD) रहेको पाइएको छ । AUD एक दीर्घकालनि चिकित्सकीय अवस्था हो । यस्ले व्यक्तिको सामाजिक मात्र नभएर मानसिक स्वास्थ्यमा समेत असर पार्छ । साथै, यस्ता व्यक्तिहरु मधिराबिना बाच्नै नसक्ने अवस्थामा पुगेको मानिन्छ ।
त्यस्तै,महिलाहरुमा पनि १८ वर्षदेखि २५ वर्ष उमेर समूहमा ९ प्रतिशत, २६ देखि ३४ वर्षका उमेर समूहमा ११ दशमलव ९ प्रतिशत, ३५ देखि ४९ प्रतिशतमा १० दशमलव ८ प्रतिशत, ५० देखि ६४ वर्षको ७ दशमलव मानिसमा यो समस्या देखिएको छ । जसमध्ये, महिलामा क्रमशः ४ दशमलव २ प्रतिशत, ५ दशमलव १, ४ दशमलव २ प्रतिशतमा (Alcohol Use Disorder- AUD) यो समस्या रहेको अनुसन्धानले देखाएको छ ।
२६ देखि ४९ वर्षको उमेर समूहलाई समाजको आर्थिक र उत्पादनशील शक्ति मानिन्छ । उनीहरू रोजगारी, व्यवसाय, परिवार र सामाजिक जिम्मेवारीमा सक्रिय हुने भएकाले उनीहरूको स्वास्थ्यमा पर्ने असरले व्यक्तिगत मात्र नभई राष्ट्रिय स्तरमा पनि प्रभाव पार्दछ । अनुसन्धानकर्ताहरूका अनुसार आधुनिक जीवनशैली, तनाव, अनियमित खानपान, फास्ट फुडको बढ्दो प्रयोग र शारीरिक गतिविधिको कमीले यो समस्या तीव्र बनाएको छ ।
युवाहरूमा सामाजिक जमघट, पार्टी संस्कृति र तनाव व्यवस्थापनका लागि मदिरा सेवन सामान्य बन्दै गएको देखिन्छ । साथै, डिजिटल जीवनशैलीका कारण लामो समयसम्म बसिरहने बानीले शारीरिक गतिविधि घटाएको छ, जसले मोटोपनलाई थप बढावा दिएको छ । यसरी दुई फरक जीवनशैलीजन्य जोखिम एकैसाथ सक्रिय हुँदा स्वास्थ्यमा दोहोरो असर पर्ने अध्ययनले देखाएको छ ।
कोभिड–१९ महामारीपछि विश्वभर मानिसहरूको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ । अध्ययनका अनुसार महामारीपछि मदिरा सेवन बढेको, शारीरिक गतिविधि घटेको र अस्वस्थ खानपानको प्रवृत्ति तीव्र बनेको देखिएको छ । यसले मोटोपन र मदिरा सेवन दुवै समस्यालाई अझ जटिल बनाएको छ ।