धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुविधा लक्षित गर्दै निःशुल्क व्हीलचेयर तथा ट्रली सेवा सञ्चालनमा ल्याइएको छ।
प्रतिष्ठानको जीओपीडी भवन अगाडि निर्माण गरिएको सेवा केन्द्र (डेस्क) उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले रिबन काटेर उद्घाटन गरे।
उद्घाटन समारोहमा उपकुलपति श्रेष्ठले सेवाको सफल सञ्चालनका लागि व्यक्तिगत रूपमा ५० हजार प्रतिष्ठानको खातामा जम्मा गर्दै शुभकामना व्यक्त गरे।
कार्यक्रममा शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव कुमार शर्मा, रजिस्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला, अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद, प्रवक्ता प्रा.डा. अन्जु प्रधान, मेट्रन कला थापा लगायत चिकित्सक, शिक्षक र कर्मचारीको उपस्थिति थियो।
सहृदयी दाताहरूको सहयोगमा सेवा सुरु गरिएको हो। हाल प्रतिष्ठानमा १६ थान व्हीलचेयर र १ थान ट्रली उपलब्ध छन्।
तीमध्ये १५ थान व्हीलचेयर हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेलकी आमा सरिता पोखरेलले प्रदान गरेकी हुन् भने १ थान व्हीलचेयर छवी ट्रेड कन्सर्न, काठमाडौंका अंकित गोयंकाले सहयोग गरेको प्रतिष्ठानले जनाएको छ।
१ थान ट्रली शिक्षाध्यक्ष प्रा.डा. शर्माले प्रदान गरेका छन् ।
व्हीलचेयर–ट्रली भण्डारण तथा सेवा सञ्चालनका लागि धरान–१ का समाजसेवी तथा व्यापारी ललित अग्रवालले टहरा निर्माण गरी सहयोग गरेका छन्।
प्रतिष्ठानले आवश्यक जनशक्ति व्यवस्थापन गर्नुका साथै प्रत्येक ओपीडी टिकटबाट २५ पैसा मर्मत–सम्भारका लागि छुट्याउने व्यवस्था गरेको छ।
सेवा लिन बिरामी वा कुरुवाले डेस्कमा सम्पर्क गरी राष्ट्रिय परिचय खुल्ने परिचयपत्र धरौटी राख्नुपर्नेछ। ओपीडी कार्डका आधारमा शर्तनामा सहितको फारम भरेपछि आवश्यक अनुसार व्हीलचेयर वा ट्रली निःशुल्क उपलब्ध गराइनेछ।
सेवा सञ्चालनका लागि एनेस्थेसिया विभागका प्रा.डा. आशिष घिमिरेको संयोजकत्वमा १२ सदस्यीय सञ्चालन समिति गठन गरिएको छ। समितिमा प्रतिष्ठान बाहिरबाट समेत सदस्य समेटिँदा सुनसरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष शैलेश कुमार आचार्य सदस्य रहेका छन्।
नयाँ वा प्रयोग भइसकेका (तर राम्रो अवस्थामा रहेक) व्हीलचेयररट्रली वा आर्थिक सहयोग गर्न इच्छुक दाताले सञ्चालन समितिका सचिव तथा अस्पताल प्रशासन महाशाखाका हाउस किपिङ अफिसर मनोज कुमार यादवलाई सम्पर्क गर्न सक्ने प्रतिष्ठानले जनाएको छ।