भेडेटार : बर्खे पानी सुरु भएसँगै धनकुटाको प्रमुख भौगोलिक यातायात मार्ग भेडेटार–रवि–राँके सडक फेरि पहिरोमा गाडिएको छ ।
शनिबार बिहान अवरुद्ध भएको सडक सोमबार दिउँसो मात्रै खुलेको थियो । तर केही घण्टामै लुम्फाजुङमा पुनः ठूलो पहिरो खस्दा बाटो पुनः बन्द भएको छ।
तर यो सडक बारम्बार किन भत्किन्छ ? यसले सडक निर्माणको गुणस्तर र पूर्व-प्राकृतिक जोखिम मूल्यांकनको प्रश्न उठाएको छ।
सडक निर्माण अझै निर्माणाधीन अवस्थामा छ। चौडा पार्ने नाममा माटोको अत्यधिक कटिङ भइरहेको छ, जसले भूसंरचनालाई कमजोर बनाएको स्थानीयको गुनासो छ।
माटो काट्ने काम बर्खामै तीव्र पारिन्छ, अनि वर्षा सुरु भएलगत्तै पहिरो आउँछ। निर्माणले हैन, जोखिम थपिएको जस्तो लाग्छ, साँगुरीगढी–५ का एक स्थानीय कृषक भन्छन्।
प्राकृतिक प्रकोप व्यवस्थापन विज्ञहरूका अनुसार पानीको निकास व्यवस्थापन, ढल निकासी, पहिरो नियन्त्रण जालीजस्ता संरचनाहरू विना गरिने सडक निर्माण आफैंमा विनाश निम्त्याउने खतरा हुन्छ।
भेडेटार–डाँडाबजारको १२ किलोमिटर दूरी नै अहिले सडक अवरुद्ध भएपछि पूर्ण रूपमा समस्यामा छ। जसकारण यात्रुहरू साना व्यवसायी, र विद्यालय जाने विद्यार्थीहरू प्रभावित छन्।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईका अनुसार लुम्फाजुङ्गमा ठूलो पहिरो झरेर डाँडाबजार–बूढी मोरङ मुलघाटको सडक प्रयोग गर्न जानकारी गराइएको छ ।
गाउँपालिकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरे पनि त्यो पनि जोखिमयुक्त र लामो भएको जनगुनासो छ।