-प्रल्हाद दाहाल
नेपालमा असार १५ लाई महत्त्वपूर्ण दिनको रूपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दही चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को सुरुवाती दिनको रूपमा लिइन्छ । यस दिनलाई विगत १७ वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइने गरिएको छ ।
यस वर्ष ‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ असार १५ मा १८ औँ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । प्रत्येक जिल्लाहरूले पनि धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छन् । सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । यसैलाई आधार मानेर नेपालमा पनि मनाउन थालिएको हो ।
नेपाली संस्कृति अनुसार असार १५ मा दह चिउरा खाने प्रचलन छ । यो दिन अधिकांश नेपालीले सकेसम्म जसरी पनि दही चिउरा खाने गर्दछन् । दहीको महत्त्व असाध्यै धेरै छ । दहीले खाएको पच्नेदेखि लिएर अरू धेरै नै फाइदा गर्छ भन्ने कुराको प्रमाणित भैसकेको छ । यो दिन अरू दिनको तुलनामा दहीको खपत धेरै हुन्छ र यसका लागि डेरी व्यवसायीहरूले एक हप्तादेखि जोहो गरेर राख्ने गर्दछन् ।
अघिपछि कहिल्यै दही नखानेले पनि यस दिन अनिवार्य आफ्नो परम्परा धान्न भए पनि दही खाने गर्दछन् । यो दिन दही नपाइएला भनेर मानिसहरू अघिल्लै दिनदेखि नै दही खरिद गरी राख्ने गर्दछन् । यस दिन बढी खपत भएपछि बजारमा बेलुका पख दही अभाव हुन्छ ।
यस दिन मानिसहरू दही चिउरामा केरा र आँप पनि मिसाएर खाने गर्दछन् । गाउँघरमा जताततै सबैले घर घरमा दही चिउरा अनिवार्य खाने गर्दछन् । जसको घरमा दही जमाएर राखेको हुँदैन उनीहरूले पनि सहरमा झैँ किनेर भए पनि त्यस दिन खाने गर्दछन् । यस दिन सहरी क्षेत्रमा पनि अघिल्लो दिन नै दूध किनेर दही आफैँ जमाएर भोलि पल्ट दही चिउरा खाने चलन छ ।
आजभोलि यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरू गरेर यसको महत्त्व बढाउने गरिन्छ । पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइँ महोत्सव भनेर विगत १५ वर्षदेखि मनाउँदै आइएको थियो । यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरूको सङ्ख्या पनि बढ्ने गर्दथ्यो । तर गत वर्ष र यस वर्ष कोभिड–१९ (कोरोना भाइरस) का कारण यस्ता खालका कुनै पनि औपचारिक कार्यक्रमहरू हुन हुँदैनन् ।
आजभोलि विद्यालयका विद्याथीहरुलाई पनि दही चिउरा खुवाउन रोपाइँमा सहभागी गराउने गरिन्छ । यो राम्रो पक्ष हो । यसले गर्दा हाम्रा बालबालिकाले हाम्रो रीतिरिवाजको बारेमा जान्ने र यसको संरक्षणमा टेवा पुग्ने हुन्छ ।
पहिले पहिले बाजा बजाएर नाचगान गर्दै, असारे भाका हाल्दै, हिलो खेल्दै रोपाइँ गर्ने चलन थियो । बाजा बजाएर हिलोमा खेल्दै रोपाइँ गरिने चलनलाई बेठी लगाउने भन्दछन् । त्यस्तो चलन धेरै खेती हुने जमिन्दारहरुकोमा हुने गर्दथ्यो । तर, आज भोलि यो चलन अलि हट्दै गएको छ । यसले निरन्तरता नपाउने हो भने भोलिका दिनमा यो दन्त्य कथा जस्तो हुन जान्छ ।
वास्तवमा हाम्रो देश यस्तै खालका फरक रितिरिवाज र संस्कृतिले गर्दा आफ्नो फरक पहिचान बनाउन सफल छ । यस्ता कुरालाई देखावटी मात्र नभई उपलब्धिमूलक बनाउन सक्नुपर्छ । त्यसैले हाम्रो जस्तो देशमा यस्ता कुराको जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ । जसले गर्दा अरू ठुला–ठुला विकासका काम र उपलब्धि गर्न नसके पनि यस्ता खालका फरक संस्कृति बचाउन सक्दा पर्यटकको लागि आकर्षण बन्न सक्छ । अझ झन् हाम्रो जस्तो कृषि प्रधान देशमा यसको महत्त्व धेरै छ ।
हाम्रो देशमा धानको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७६/०७७ मा धान उत्पादन ५५ लाख ५० हजार मेट्रिक टन, आव २०७५/०७६ मा धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टन, आव २०७४/०७५ मा धान उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टन, आव २०७३/०७४ मा धान उत्पादन ५२ लाख ३० हजार मेट्रिक टन भएको थियो ।
नेपालको कुल जनसङ्ख्यालाई पुग्न वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले ५ वर्ष भित्र कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्य लिएको छ । धान उत्पादन वृहत् कार्यक्रम १५ जिल्लामा छ भने यसलाई अझ महत्त्व दिई झापा जिल्लालाई धानको सुपर जोनको घोषणा गरिएको छ ।
धानको उत्पादन प्रतिहेक्टर ३.१ मेट्रिक टनबाट वृद्धि गरी ४ मेट्रिक टन पुर्याउने लक्ष्य छ । कुलग्राहस्थ उत्पादनमा २० प्रतिशत योगदान धानको छ । हाम्रो देशमा चैते धानको उत्पादन ७ प्रतिशत मात्र छ । नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३०५० मिटर सम्मको उचाइमा धान खेती हुन्छ । कुल ११८ जातका धान नेपालमा पाइन्छ ।
हामीले कतिपल्ट धान दिवस मनाइयो भन्ने कुरा ठुलो वा महत्त्वपूर्ण नहुन सक्छ । तर उपलब्धि के पाइयो भन्ने कुराले ठुलो महत्त्व राख्दछ । अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्रमा पनि आयात गर्दैछौं । हाम्रा प्रायजसो सबै खेतबारी बाँझो छ, सिँचाइको राम्रो प्रबन्ध छैन, आधुनिकीकरण छैन, गाउँघरमा काम गर्ने मान्छे पाइँदैन । भनेको बेला बीउ मलको अभाव हुन्छ भने काम गर्ने किसानले कसरी काम गर्ने ?
यसकारण यी सबै समस्याको हल गर्ने हो भने मात्र हाम्रो देशमा धानको आयात घट्न सक्छ । अब यस्ता दिवस मनाउनका लागि मात्र नभएर परिणाममुखी हुनुपर्यो । नयाँ योजनासहित दिवस मनाउँदा उपलब्धिमूलक पनि हुन जान्छ । अहिले गाउँघरमा काम गर्न कोही छैनन् । किनकि यहाँ दैनिक सयौँ युवा बिदेसिने गरेका छन् । अनि हामी भने देखावटी यस्ता कार्यक्रम गरिरहँदा यसको कुनै अर्थ रहन्न ।
अब बिदेसिएका युवालाई स्वदेशमा कसरी आकर्षण गर्ने र विदेश जान कसरी रोक्ने ? भन्ने कुरा तिर हामी लाग्न आवश्यक छ । अर्को कुरा करिब ८० प्रतिशत दूधको माग स्वदेशी उत्पादनले धानि सकेको अवस्था छ । अब हामी कसरी आधुनिकतामा जाने र अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने तिर लाग्न आवश्यक छ । त्यसैले हामी सबै जना नेपाल कृषिप्रधान देश हो भनी मक्ख परेर मात्र हुँदैन । जुन हाम्रो देशलाई ‘कृषिप्रधान’ भन्ने नाम छ, अब त्यो नाम बचाउन हामी सबै जना लागौँ । सबैलाई यस वर्षको असार १५ ले यही प्रेरणा प्रदान गरोस् । शुभकामना ।