वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुन पछिल्लो समय कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो ‘आत्मकथा’ (पुस्तक) बेच्न देशका विभिन्न भागमा पुग्ने गरेका थिए । सोही क्रममा गत शनिबार उनी काठमाडौँ आएका थिए ।
किताब बेचेर उनले राष्ट्रिय आविष्कार केन्द्रमा आर्थिक जोहो गर्दै आएका थिए । आविष्कार केन्द्र अन्तर्गत नै वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि पुन सक्रिय भएका थिए ।
किताब बेच्नका लागि काठमाडौँमा आए लगत्तै उनले ‘महावीर पुनको हस्ताक्षरसहितको किताब किन्न चाहनेहरू राष्ट्रिय आविष्कार केन्द्र (त्रिभुवन विश्वविद्यालय भित्र, कीर्तिपुर) आउन आग्रह गरे ।
५२६ दिनमा ४५ वटा जिल्लामा २ लाख ४० हजार थानभन्दा बढी किताब बेचिएको जानकारीसमेत उनले गराए । उनलाई ताप्लेजुङमै किताब बेच्दै गर्दा मन्त्रीको अफर आएको थियो । तिहारपछि पूर्वी नेपालको बाँकी पहाडी जिल्लाहरूमा किताब बेचिने उनले बताएका थिए ।
संयोग नै मान्नुपर्छ, किताब बेच्दै हिँडेका पुन आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भए । भदौ २३ र २४ गते जेनजी पुस्ताको विद्रोहले केपी ओली नेतृत्वको कांग्रेस र एमाले गठबन्धन सरकार ढल्यो । सर्वोच्च अदालतकी पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । प्रधानमन्त्री कार्कीले पुनलाई मन्त्री नियुक्त गरेकी हुन् । सोमबार उनले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरिसकेका छन् ।
२०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नाङीमा जन्मेका पुनले ७ कक्षासम्म गाउँकै स्कुलमा अध्ययन गरे । ७ कक्षाको अध्ययनपछि साथीहरूले पढाइ छाडे पनि पुनले अध्ययनलाई निरन्तरता दिए । कमजोर आर्थिक अवस्थाका कारण उनले १२ कक्षासम्म अध्ययन गर्न पाए । त्यसपछि करिब १२ वर्षसम्म उनले विभिन्न विद्यालयमा पढाउन थाले ।
पढाउने सिलसिलामा अमेरिका, युरोपका विभिन्न विश्वविद्यालयमा पुनले छात्रवृत्तिका लागि आवेदन दिए । पछि अमेरिकाको ‘युनिभर्सिटी अफ नेब्रास्का एट कर्नी’ मा आंशिक छात्रवृत्तिमा उनले अध्ययन गर्न पाए । सोही विश्वविद्यालयबाट उनले स्नातक तह पूरा गरे ।
२०४९ सालमा पुन नेपाल फर्किएर आफ्नो गाउँमा शिक्षा तथा प्रविधिको पहुँच विस्तार गर्ने काम सुरू गरे । विकट जिल्ला म्याग्दीमा उनले वायरलेस प्रविधिबाट ग्रामीण जनतालाई इन्टरनेट सेवा र सुविधा दिए । उनले ग्रामीण जनताका स्वास्थ्यलाई ध्यानमा राख्दै प्रविधिमार्फत् टेलिमेडिसिन, स्वास्थ्य चौकी निर्माणमा योगदान दिए । ग्रामीण अर्थतन्त्रलाई सुधार गर्नका लागि एग्रोटुरिजम तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा धेरै योगदान दिए ।
पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन् । जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेका छन् । यस केन्द्रबाट उनले नयाँ सोच र विचार भएका युवाहरूलाई उद्यमी बन्न र मुलुकको अर्थतन्त्रमा योगदान दिन प्रेरित गर्दै निःशुल्क अध्ययन, अनुसन्धानको वातावरण उनले मिलाउँदै आएका छन् ।
आविष्कार केन्द्रमा खर्च जुटाउने पुनले आफूले पाएका अवार्ड समेत लिलामीमा राखेका थिए । उनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने रामोन म्याग्सेसे पुरस्कारसमेत पाएका थिए । नेपाल सरकारले उनलाई २०७९ सालमा एक करोड रुपैयाँ राशिको भवन कीर्ति रत्न पुरस्कारबाट सम्मान गरेको थियो । पुन ‘इन्टरनेट हल आफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’ जस्ता पदबाट पनि सम्मानित भएका थिए ।
पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट मानार्थ ‘विद्यावारिधि’ पाएका छन् । बौद्धिक व्यक्तित्व भएर पनि सरल जीवनशैली र मौलिक बोलीचालीका कारण पुन सबैमाझ लोकप्रिय छन् । मन्त्रीमा नियुक्त भए लगत्तै पुनले आफूलाई बधाई दिन फोन नगर्न, खादा लिएर नआउन आग्रह गरेका छन् । बरु पाँच महिनाभित्र शिक्षा, विज्ञान र प्रविधिमा गर्न सकिने काम र आइडिया दिन उनले आह्वान गरेका छन् । आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गर्दै उनले कसैलाई भन्नै रहर लागे ‘कबाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका छन् ।