धरानः भारतमा आगामी मे २५ देखि हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा भएको छ ।
शनिबार नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले कप्तान एञ्जिला तुम्पाबो सुब्बाको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् ।
टिममा एञ्जिलाले कप्तानीमा पुनरागमन गरेकी छन् । यसअघि फरवार्ड सावित्रा भण्डारी कप्तान थिइन् । मिडफिल्डर अनिता लम्जेल नयाँ अनुहार छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।
समूहमा नेपालसँगै श्रीलंका र भुटान छन् । त्यसैगरी, समूह ‘बी’ मा भारत, बंगलादेश र माल्दिभ्स छन् । प्रतियोगिता भारतमा आगामी मे २५ देखि जुन ६ सम्म हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल भारतको गोवामा हुनेछ ।
हालसम्म प्रतियोगिताका सात संस्करण सम्पन्न हुँदा नेपालले ६ पटक फाइनल खेलेको छ । नेपाल सन् २०१६ को संस्करणमा मात्रै फाइनल यात्रा तय गर्न सकेको थिएन । त्यो संस्करणको सेमिफाइनलमा नेपाल भारतसँग स्तब्ध बनेको थियो ।
नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को फाइनलमा भारतसँग पराजित भएको थियो । सन् २०२२ र २०२४ को पछिल्ला दुई संस्करणको फाइनलमा नेपाललाई बंगलादेशले स्तब्ध बनाएको थियो ।
नेपाली टोली : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उसा नाथ, पुजा राना, गिता राना, विमला बिक, हिराकुमारी भुजेल, प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर, सबिना चौधरी, रेनुका नगरकोटी, दीपा साही, प्रिती राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मिना देउवा