सम्पदा सिलवाल
नौ दिनदेखि माटो, ढुंगा र लेदोले बाहिरी संसारसँग सम्बन्ध टुटेको त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार टोलीले शुक्रबार बिहान ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौं’ भन्दै आवाज दियो । अँध्यारो सुरुङको भित्रबाट मानिसको आवाज सुनियो, ‘हुन्छ ।’
निकै कष्ट र मेहनतबाट उद्धार टोलीले प्राप्त गरेको पहिलो सफलता थियो सुरुङबाट आएको आवाज । बाहिर उद्धारमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरीका लागि त्यो एउटा सामान्य जवाफ थिएन । नौ दिनदेखिको अथाह प्रयासको परिणाम थियो ।
मेसिनले खनेको, ड्रिलले प्वाल पारेको, चट्टान विस्फोट गरेको र हातैले लेदो पन्छाएपछि पहिलोपटक सुरुङभित्रबाट मानिसहरु जीवित रहेको प्रमाण आवाजमा रुपान्तरित हुँदै आएको थियो । योसँगै एक नयाँ आशा र जोसको सञ्चार गराएको थियो । देश विदेशका सञ्चारमाध्यमले समेत सुरुङबाट आवाज आएको र उद्धार कार्य हुँदै भन्ने समाचार प्रकाशन गरेका थिए ।
केही समयपछि त्यही सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय साह जीवित बाहिर निकालिए । त्यसपछि अर्का मेकानिकल सुपरभाइजर कविर महर्जन पनि भेटिए । भदौ १० गतेको बाढीपछि बाहिरी संसारसँग सम्पर्क विहीन भएका दुवै १० दिन पछि अँध्यारो सुरुङ भित्रबाट फेरि उज्यालो आकाश मुनि नयाँ जीवनको स्वास फेर्दै थिए ।
गत भदौ १० गते बिहान त्रिशूली–३ ए जलविद्युत् आयोजनामा सधैंझैं काम भइरहेको थियो । कोही कन्ट्रोल रुममा काम गर्दै थिए त कोही मेसिन र उपकरण जाँचिरहेका थिए । पूर्ण मर्मतसम्भारका लागि बन्द रहेको ६० मेगावाटको आयोजनाको भूमिगत विद्युत्गृहमा प्राविधिक र इन्जिनियरहरू आ–आफ्नो काममा व्यस्त थिए ।
त्यहीँ मेकानिकल फोरम्यान साह र मेकानिकल सुपरभाइजर महर्जन मर्मतसम्भारको कामका लागि त्रिशूली–३ ए पुगेका थिए । सबैको लागि त्यो पनि कामको एउटा सामान्य दिन थियो । तर केही घण्टामै परिस्थिति बदलियो ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले आयोजना क्षेत्रलाई घेर्न थाल्यो । पानीसँगै बगेको लेदो, ढुंगा, कंक्रिटका संरचना र रुखका ठुटा आयोजना माथि थुप्रिन थाल्यो । सञ्जयले हतार हतार सुरुङभित्र रहेका सबै सहकर्मीलाई सुरक्षित रुपमा बाहिर निकाल्न जुटे । सञ्जय सुरूमै त्यहाँबाट बाहिर निस्किएर सुरक्षित रहन सक्थे । तर आफ्नो जिम्मेवारी नै सबै सहकर्मीको सुरक्षा गर्नु रहेकाले उनी विपद्मा पनि जिम्मेवार भएर सहकर्मीहरूलाई बाहिर पठाउनै लागिरहे । उद्धारपछि उनले सुनाए अनुसार मेकानिकल फोरम्यानको जिम्मेवारीमा रहेका उनी आफू निस्कनुभन्दा पहिले सहकर्मीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नमा जुटे ।
उनको सहयोगमा एकपछि अर्को गर्दै सहकर्मीहरू बाहिर निस्किँदै गए । जब उनी आफैं बाहिर निस्कने बेला आयो, परिस्थिति बदलिइसकेको थियो ।
बाढीसँगै आएको लेदो र भग्नावशेषले बाहिरिने बाटो थुनिसकेको थियो। सञ्जय भित्रै रोकिए । त्यहीबीच सुरुङ भित्रै रहेका कविर पनि त्यहीँ नै फसे ।
केही समयअघिसम्म मानिसहरू ओहोरदोहोर गरिरहेको सुरुङको मुख बाढीले ल्याएको लेदो, माटो र ढुंगाले यसरी पुरिएको थियो कि सुरुङको प्रवेशद्वार कहाँ थियो भन्ने छुट्याउनसमेत कठिन भयो ।
सञ्जय र कविरसंगै सुरुङमा काम गर्नेहरुको केही खबर नपाए पछि बाहिर रहेका उनीहरूका आफन्त र सहकर्मीमा चिन्ता बढ्न थाल्यो । उनीहरू कुन अवस्थामा छन्, सुरक्षित छन् कि छैनन् भन्ने कुनै खबर थिएन ।
बाहिर पुरिएको सुरुङको मुख पहिल्याउँदै उनीहरूको खोजी र उद्धारको प्रयास सुरू भयो । उद्धार टोली घटनास्थलमा पुग्दासम्म बाढीले आयोजनास्थलको स्वरूप नै बदलिसकेको थियो । सडक सम्पर्क टुटेको थियो भने लेदो, बालुवा, ठूला चट्टान र भत्किएका संरचनाका भग्नावशेषले सुरुङतर्फ जाने क्षेत्र पुरिएको थियो । अवस्था यस्तो थियो कि सुरुङभित्र मानिस फसेको थाहा हुँदाहुँदै पनि उनीहरूसम्म पुग्ने बाटो कहाँबाट खोल्ने भन्ने नै कुनै टुंगो थिएन ।
यही चुनौति बीच नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणका प्राविधिक खोज तथा उद्धारमा जुटे । तर उनीहरूसँग सुरुङभित्रका मान्छेहरू कुन ठाउँमा छन् र कस्तो अवस्थामा छन् भन्ने यकिन जानकारी थिएन । न त बाहिरबाट उनीहरूसँग सम्पर्क गर्ने कुनै माध्यम बाँकी ।
त्यसैले तत्काल सुरुङभित्र पसेर उद्धार सुरू गर्ने अवस्था थिएन । पहिले भग्नावशेष र लेदोले पुरिएको प्रवेश क्षेत्र पहिचान गर्नुपर्थ्यो, त्यसपछि त्यहाँसम्म पुग्ने बाटो खोल्नुपर्थ्यो । भित्र फसेका मानिससम्म पुग्नुअघि उद्धार टोलीले बाढीले मेटाइदिएको बाटो फेरि बनाउनु थियो ।
सडक नहुँदा आवश्यक मेसिन र उपकरण ल्याउन कष्टपूर्ण थियो । उद्धारका लागि प्रत्येक घण्टा महत्त्वपूर्ण हुन्छ तर बाढीले छाडेको भूगोलले हरेक पाइला कठिन बनाइरहेको थियो ।
दुई दिनसम्म सुरुङभित्र पुग्ने ठोस बाटो नभए त पनि खोजी भने रोकिएको थिएन । उद्दारका लागि खटिएका रास्वपाका सांसद एवम् इन्जिनियर श्रीराम न्यौपानेका अनसार, सुरुङको मुखबाट तत्काल भित्र पस्ने सम्भावना नदेखिएपछि उद्धार टोलीले अर्को बाटो पहिचान गर्यो, जमिनको सतहबाटै ड्रिल गरेर सुरुङसम्म पुग्ने ।
त्यसका लागि डीटीएच ड्रिलिङबाट सुरुङको माथिल्लो भाग जमिनको सतहबाट करिब नौ मिटर तल रहेको अनुमानका आधारमा ड्रिल चल्यो । तीन मिटर, चार मिटर हुँदै ड्रिल जमिनभित्र गहिरिँदै गयो र अन्ततः सुरुङको माथिल्लो भाग ‘क्राउन’सम्म पुग्यो । एउटा प्वाल बनेपछि त्यही प्रक्रिया दोहोर्याइयो । यसरी सुरुङको माथिल्लो भागमा पाँचवटा ठाडा प्वाल बनाइए ।
तर ती प्वालबाट मानिस निकाल्न सकिन्थ्यो न त उद्धारकर्ता नै भित्र पस्न सक्थे । ती प्वालले तत्काल उद्धारको बाटो त खोलेनन्, तर बाहिरबाट सुरुङभित्र अक्सिजन पठाउन थालियो ।
माथिबाट ड्रिल गरेर सुरुङभित्र अक्सिजन पठाउने कामसँगै उद्धार टोलीले मानिस नै प्रवेश गर्न सक्ने अर्को बाटोको खोजी पनि जारी राखेको थियो । त्यही खोजीका क्रममा ठाडो प्वाल बनाइएको स्थानभन्दा करिब ४० मिटर माथिल्लो भागमा ‘केबल एक्सेस सुरुङ’ फेला पर्यो । मानिस हिँड्न मिल्ने यो सुरुङ भूमिगत विद्युत्गृहसम्म पुग्ने वैकल्पिक बाटो बन्न सक्थ्यो । प्रवेश क्षेत्रमा करिब ४० सेन्टिमिटर बाक्लो संरचनाले बाटो रोकेको थियो । त्यसलाई हटाउन नियन्त्रित विस्फोट गरियो । तर त्यो बाक्लो संरचनाको पछाडि पानी र लेदो जमेको भेटियो ।
त्यसपछि लगातार पानी निकाल्ने काम सुरू भयो । पानीको सतह घटाउँदै उद्धार टोली अगाडि बढ्दा फेरि चट्टानले बाटो रोक्यो । चट्टान हटाउन अर्को विस्फोट गर्नुपर्यो । चट्टान पन्छाएर अघि बढ्दा फेरि लेदोको थुप्रो भेटियो ।
उद्धारका क्रममा यही क्रम पटक–पटक दोहोरियो । एउटा अवरोध हटाउँदा बाटो खुल्थ्यो, तर केही अगाडि पुगेपछि अर्को अवरोध सामने आइपुग्थ्यो । पानी निकाल्दै, चट्टान फुटाउँदै र लेदो पन्छाउँदै उद्धार टोली विस्तारै सुरुङभित्र अघि बढिरहेको थियो । तर हरेक अवरोध पार गर्दै उदार टोलि जीवित मान्छे हुन सक्ने सम्भावित स्थानतर्फ नजिकिँदै गएका थिए ।
बाढी गएको केही दिन बितिसक्दा पनि सुरुङभित्र रहेका व्यक्तिको अवस्थाबारे कुनै संकेत मिलेको थिएन । यता बाहिर भने खोज तथा उद्धारको काम निरन्तर चल्यो ।
भदौ १३ गतेदेखि एक्सकाभेक्टर, ह्विल लोडर जस्ता उपकरण परिचालन गरेर सुरुङतर्फ थुप्रिएको लेदो, बालुवा र भग्नावशेष हटाउन थालियो । ब्रेकरले फुटाउन सकिने चट्टान त्यहीँ फुटाइए, ठूला चट्टान हटाउन विस्फोटक पदार्थ प्रयोग गरियो । पाँच दिनको अवधिमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा तथा भत्किएका संरचनाका कंक्रिट स्ल्याब, बीम र पिलर हटाइए । कतिपय चट्टान घरको आकारसम्मका भेटिए । केबल डक्टको प्रवेश क्षेत्रमा मात्रै दुई दर्जनभन्दा बढी ठूला चट्टान विस्फोट गरेर पन्छाइए ।
यी काम दिनमा मात्र सीमित रहेका थिएन राति पनि उद्धार टोली र मेसिन परिचालन गरिएको थियो । घटनास्थलसम्म सडक पहुँच नहुँदा मेसिन तथा उपकरण मर्मतका लागि आवश्यक सामग्रीसमेत हेलिकप्टरबाट पुर्याउनुपर्यो ।
सुरुङबाट करिब दुई लिटर प्रतिसेकेन्डको दरमा पानी आफैं बाहिर निस्किरहेको पाइयो । पानी ठूलो दबाबसहित नआएकाले भित्र ठूलो परिमाणमा पानी नजमेको हुन सक्ने प्रारम्भिक अनुमान गरियो । त्यसमा सुरुङको बनावटले अर्को सम्भावना थप्यो । केबल डक्ट विद्युत्गृहतर्फ उकालो लाग्ने संरचनामा बनेकाले माथिल्लो भागमा पानी कम जमेको हुन सक्ने र त्यहाँ तुलनात्मक रूपमा सुरक्षित ठाउँ रहन सक्ने प्राविधिक अनुमान थियो ।
यी संकेतले मान्छे सुरक्षित रहेको पुष्टि नगरे तापनि उनीहरूको अवस्थाबारे यकिन जानकारी नआएसम्म खोजी रोक्ने आधार पनि बनेन । त्यसैले अवरोध हटाउँदै सुरुङभित्र पुग्ने प्रयास निरन्तर अघि बढ्यो ।
भदौ १८ गते उद्धार टोली केबल डक्टको प्रवेश क्षेत्रसम्म पुग्यो । तर सुरुङभित्र छिर्नुअघि अझै अर्को अवरोध पार गर्न बाँकी रह्यो । सुरुङको मुखमा करिब १५ फिटसम्म माटो, ढुंगा र भग्नावशेष थुप्रिएको भेटियो । त्यसलाई पन्छाएपछि प्राविधिक टोलीले सुरुङभित्र प्रवेश गर्यो । केही अगाडि बढ्नेबित्तिकै फेरि लेदो र भग्नावशेषले बाटो साँघुरिएको भेटियो ।
त्यसभन्दा अगाडि ठूलो मेसिन लैजान सकिएन । त्यसपछि उद्धारकर्मी आफैंले हातले लेदो र भग्नावशेष पन्छाउन थाले । सुरुङको माथिल्लो भागमा मानिस छिर्न मिल्ने ठाउँ बनाउँदै उनीहरू बिस्तारै भित्रतर्फ बढे ।
बाहिर एक्स्काभेटरले ठूला ढुंगा र भग्नावशेष पन्छाउने काम गरिरह्यो । भित्र नेपाली सेना तथा अन्य उद्धारकर्मीले साँघुरो ठाउँबाट बाटो खोल्दै खोजीलाई अगाडि बढाए ।
त्यतिबेलासम्म बाढी आएको आठ दिन बितिसकेको थियो ।
सुरुका दिनमा ठूला मेसिन, ब्रेकर र विस्फोटक पदार्थको सहायताले सुरुङसम्म पुग्ने बाटो खोलिएको थियो। आठौँ दिनसम्म आइपुग्दा मेसिन जान नसक्ने ठाउँहरू आए । बाँकी बाटो उद्धारकर्मी आफैं सुरुङभित्र छिरेर खोल्दै अघि बढे ।
भदौ १९ गते शुक्रबार बिहान । अथाह प्रयास, हजारौँ घनमिटर पन्छाइएको लेदो, विस्फोट गरेर हटाइएका दर्जनौँ चट्टान थियो । तर पनि उद्धार टोली अँध्यारो सुरुङभित्र अगाडि बढिरहेको थियो ।
त्यसैबीच सुरुङभित्र मानिसको आवाज सुनियो ।
र पहिलोपटक उद्धारकर्ता रोकिए। एक जनाको मात्रै होइन, एकभन्दा बढी मानिस बोलेको पुष्टि भयो । बाहिर र भित्र छुट्टिएका दुई संसार पहिलोपटक आवाजमार्फत जोडिए । उद्धार टोलीले भित्रतर्फ आवाज दियो,-‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ ।’
भित्रबाट जवाफ आयो- ‘हुन्छ।’
त्यो छोटो जवाफसँगै नौ दिनदेखिको एउटा ठूलो प्रश्नको उत्तर आएको थियो । भित्र मानिस जीवित थिए। उद्धारको गति बढाइयो । केही समयपछि सुरुङबाट पहिलो व्यक्ति बाहिर निकालिए । उनी थिए सञ्जय साह ।
नौ दिनअघि बाढी आउँदा अरूलाई बाहिर निस्कन सहयोग गर्ने क्रममा आफैँ भित्र रोकिएका मेकानिकल फोरम्यान । उद्धारपछि सञ्जयले आफू तत्काल भाग्न सक्ने अवस्थामा भए पनि जिम्मेवारीका कारण अरूलाई सुरक्षित निकाल्न बसेको बताएका छन् ।
त्यसको केही समयपछि अर्को खबर आयो । कविर महर्जन पनि सकुशल उद्धार भए ।
सुरुङमा फसेर संसारसंग सम्पर्कविहीन दुई व्यक्तिको उद्धारले सबै माझ आशाको दियो बालिदिएको थियो । जसले त्रिशूली–३ ए को सुरुङमा आशा सहित खोज तथा उद्धारको काम जारी रहिरहयो । उद्धार टोली निरन्तर प्रवती क्षेत्रमा खटिइरह्यो ।
शुक्रबार, आशासँगै निरासाको पनि खबर पनि थियो । जुन सुरुङभित्रबाट २ जनाको जीवत उद्धार भएको थियो त्यही सुरुङभित्रबाट एउटा शवसमेत भेटियो । एउटै सुरुङभित्र कतै जीवन भेटिइरहेको थियो, कतै मृत्यु । त्यसैले उद्धार टोलीका लागि खोजी रोक्ने बेला अझै भएको थिएन ।
र, त्यसको भोलिपल्ट अर्थात् शनिबार फेरि अर्को सुरुङबाट एक जनाको जीवत उद्धारको खबर आयो ।
यसपटक रसुवाको अपर त्रिशूली–१ जलविद्युत् आयोजनमा शनिबार नेपालका सुरक्षाकर्मी र दक्षिण कोरियाली विपद् उद्धार विशेषज्ञ सम्मिलित टोली आयोजनाको अडिट–४ सुरुङभित्रबाट बाढी गएको १० दिन पछि प्रवेशद्वारबाट करिब २२५ मिटर भित्र एक जना मानिस भेटे ।
उनी थिए-चिनियाँ नागरिक लु हाइताओ ।
१० दिनदेखि सुरुङभित्र रहेका लुलाई उद्धार टोलीले शनिबार बाहिर निकाल्यो । प्रारम्भिक स्वास्थ्य परीक्षणपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई उपचारका लागि काठमाडौं ल्याइयो । हेलिकप्टरभित्रै सेनाका स्वास्थ्यकर्मीले उनको अवस्था जाँच गराएको थियो । साथै अस्पताल पुर्याउँदा उनको अवस्था स्थिर रहेको बताइएको थियो ।
लुको उद्धारको खबर रसुवाको पहाडमा मात्रै रोकिएन । हजारौँ किलोमिटर टाढा चीनको हेनान प्रान्तमा उनको परिवार पनि यही खबर पर्खिरहेको थियो ।
लु ४९ वर्ष चिनिया नागरिक हुन् । उनी नेपाल आउनुअघि हेनानमा खेती गर्थे । फुर्सदको समयमा सिकर्मीको काम गरेर थप आम्दानी गर्थे । श्रीमती र छोरा चीनमै थिए । तर उनी कामको खोजीमा गाउँकै अर्का एक व्यक्तिसँग गत फेब्रुअरीमा नेपाल आएका थिए ।
भदौ १० गते बाढी आएपछि परिवारसँग उनको सम्पर्क टुट्यो । सामाजिक सञ्जाल तथा समाचारमा सुरुङबाट उद्धार गरिएको एक व्यक्तिको तस्वीर उनकी दिदी लु हाइरोङले देखिन् । तस्वीरबाट उनले देखिएका व्यक्ति आफ्नो भाइ भनेर पहिचान गरिन् ।
त्यही दिन नुवाकोटको बेत्रावतीमा अर्को उद्धारको समाचार आयो । माटोले लगभग साढे तीन तला पुरिएको घरबाट ६४ वर्षीया चण्डिका श्रेष्ठको उद्धार भयो ।
भदौ १० गतेको बाढीले बेत्रावतीको स्वरूप नै बदलिदिएको छ । नदी किनारको बजार उजाडिएको छन् । घर, पसल, मन्दिर र पुलहरू सबै बाढीको चपेटामा परेका थिए । कतै घर बगेका थिए, कतै लेदोले पुरिएका थिए ।
परिवारले उनको खोजीको प्रयास गरिराको थियो तर दिन बित्दै गए, तर चन्डिकाको कुनै खबर आएन । आठ दिनसम्म पनि उनको अत्तोपत्तो केही थिएन, बरु बाढी प्रभावित क्षेत्रमा खोजी गर्दै जाँदा नदीबाट क्षतविक्षत शवहरू भेटिन थालेका थिए ।
त्यसपछि परिवारले नचाहँदा नचाहँदै चन्डिका अब फर्किने छैनन् भन्ने सोचे । परम्पराअनुसार उनको अन्तिम संस्कार गर्ने निर्णय गरे । कुशको प्रतीकात्मक शव बनाइयो र परिवारका सदस्य र झन्डै ६० जना आफन्त भेला भएर कुशको शवलाई चन्डिका मानेर दाहसंस्कार गरे । परिवारका सदस्य काजक्रियामा बसे ।
तर अन्तिम संस्कार गरिसकेकी चन्डिका जीवित थिइन् ।
सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन कुमार विकको नेतृत्वमा नौ सदस्यीय टोली बेत्रावती बजारमा घरको भग्नावशेष पन्छाइरहेको थियो ।
बाढीले आनन्द श्रेष्ठको चारतले घरलाई समेत आफ्नो ठाउँमा रहन दिएको थिएन । तीव्र बहावले भवनलाई जग रहेको स्थानबाट करिब दुई सय मिटर तल पुर्याएको थियो । साढे तीन तलासम्म माटो र हिलोले पुरिएको घरको माथिल्लो भाग मात्रै बाँकी थियो ।
उद्धार टोली भग्नावशेष सफा गर्दै गर्दा भित्र कतैबाट मधुरो आवाज आयो । टोलीको ध्यान त्यतै गयो। भग्नावशेष पन्छाउँदै उनीहरू घरको चौथो तलासम्म पुगे । त्यहाँ अर्धचेत अवस्थामा एक महिला भेटिइन् । उनको शरीर माटो र हिलोले लतपतिएको थियो । उनको जीवितै उद्धार भयो ।
जसको परिवारले तीन दिनअघि नै कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेको थियो, उनै चन्डिका ११औँ दिन घरको भग्नावशेषभित्र जीवित भेटिएकी थिइन् ।
उद्धारकर्ताले उनलाई पानी दिए । शरीरमा कम्बल बेरे। त्यसपछि भग्नावशेषबाट बाहिर निकाले ।
उता परिवार किरियामा थियो । यता चन्डिका जीवित भेटिएकी थिइन् । केही दिनअघिसम्म परिवारले खोजिरहेको एउटा खबर अब उनीहरूले कल्पना गर्नसमेत छाडिसकेका बेला आएको थियो- चन्डिका फर्किएकी थिइन् ।
चन्दिकाको उद्धारले एउटा परिवारका लागि असम्भव ठानिसकेको खुसी फर्काएको थियो । तर बाढीले बेपत्ता बनाएका हजारौँ मानिसका परिवारका लागि पर्खाइ अझै सकिएको छैन ।
भदौ १० गतेको विनाशकारी बाढीपछि अझै करिब ५ हजार मानिस बेपत्ता छन् । उनीहरूका आफन्त आज पनि कुनै खबरको पर्खाइमा छन् ।
सुरुङबाट सञ्जय र कविर जीवित फर्किए । अपर त्रिशूली–१ को सुरुङबाट लु हाइताओको उद्धार भयो । परिवारले कुशको चिता जलाएर अन्तिम संस्कारसमेत गरिसकेकी चन्डिका भग्नावशेषभित्र जीवित भेटिइन् । यी घटनाले आफ्ना मानिसको खबर कुरिरहेका परिवारमा एउटा झिनो आशा अझै बाँकी राखिदिएका छन्-कतै आफ्नो मान्छे पनि यसरी नै फर्किन्छ कि ?
कतिपय परिवार अझै खोजी भइरहेका ठाउँतिर आँखा लगाएर बसेका छन् । फोन बज्दा खबर आयो कि भनेर झस्किन्छन् । उद्धारको अर्को समाचार आउँदा त्यसमा आफ्नै मानिसको नाम खोज्छन् ।
कतिपयले भने धेरै दिनसम्म कुनै खबर नआएपछि आशा मारिसकेका छन् । शवसमेत नभेटिएका आफ्ना मानिसको कुशको प्रतीक बनाएर चिता जलाएका छन् । काजक्रिया बसेका छन् ।
यसरी यतिबेला हजारौँ नेपाली परिवार आशा र निराशाको बीचमा उभिएका छन् । कसैले आफ्ना मानिसलाई भेटे र कसैको पर्खाइ अझै जारी छ।