-उत्तम पोखरेल
बिहान झिसमिसे नहुँदै विराटनगर–३ की सरस्वती खनालको भान्साबाट शुरू हुने दैनिकी अचेल अलि फेरिएको छ । दुई वर्ष अघिसम्म उनको परिचय केवल एउटा कुशल गृहिणीमा सीमित थियो । तर, आज उनी जब आफ्नो हातमा ‘ट्याम्को’ समाउँछिन् र घाँटीमा ‘रामनामी’ खास्टो भिरेर मैदानमा उत्रिन्छिन्, तब उनको परिचय फेरिन्छ– उनी एक सांस्कृतिक अभियन्ता र व्यावसायिक कलाकारका रूपमा चिनिन्छिन् ।
विराटनगरको सडकमा जब नरसिंगाको घन्काई र दमाहाको ताल गुञ्जिन्छ, तब पहाड तिरबाट आएका बटुवाहरू टक्क अडिन्छन् । अनौठो मान्दै सोध्छन्, ‘अहो ! महिलाहरूले पनि नौमती बाजा बजाएका ?’ यो आश्चर्य नै सरस्वती र उनको टोलीका लागि सबैभन्दा ठूलो पुरस्कार बनेको छ ।
नेपाली समाजमा एक समय ‘नौमती बाजा’ ऐतिहासिक रूपमा एउटा निश्चित समुदाय र पुरुषहरूको मात्र पेवा मानिन्थ्यो । महिलाले बाजा छुनु समेत कतिपय ठाउँमा वर्जित थियो । तर, समयको गतिसँगै सामाजिक मान्यताका पर्खालहरू भत्किँदै छन् । सरस्वती खनालको नेतृत्वमा रहेको जागरुक महिला नौमती बाजा समूहले जात र लिंगको त्यो पुरातन बारलाई भत्काइदिएको छ ।
‘शुरूमा त निकै डर लागेको थियो,’ सरस्वती विगत सम्झिन्छिन्, ‘छिमेकीले के भन्लान्, घरपरिवारले कसरी लेलान् भन्ने चिन्ता थियो । तर, जब हामीले तालिम पूरा गरेर पहिलो पटक बाजा बजाउँदै सडकमा निस्कियौँ, मानिसहरूको ताली र उत्साहले हाम्रो सबै डर भगाइदियो ।’
यो समूहमा ८ जना महिला र १ जना पुरुष छन् । प्रमिला नेपाल, मेनुका कोइराला, बालकुमारी राई, उमा भट्टराई, अम्बिका थापा, दुर्गा पोखरेल र सावित्रा अधिकारीजस्ता उत्साही महिलाहरूले अहिले बाजा बजाउनुलाई केवल रहर मात्र होइन, जीवन जिउने कला र आम्दानीको बलियो माध्यम बनाएका छन् ।
यो परिवर्तनको जग विराटनगर महानगरपालिकाले बसालिदिएको हो । दुई वर्षअघि महानगरले महिलालाई आत्मनिर्भर बनाउन र लोप हुन लागेको मौलिक संस्कृति जोगाउन एक महिने तालिमको आयोजना गरेको थियो । त्यही तालिम नै यी महिलाहरूका लागि जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो ।
तालिम सकिएपछि उनीहरूले केवल प्रमाणपत्र मात्रै थन्काएनन्, बरु सामूहिक रूपमा अगाडि बढ्ने साहस गरे । अहिले यो टोली विराटनगरमा मात्रै सीमित छैन । कोशी प्रदेशका गाउँ–बस्तीदेखि लिएर काठमाडौं र हेटौँडासम्म उनीहरूको माग बढ्दो छ । पश्चिमेली ‘ब्याण्ड बाजा’को होहल्लाभन्दा आफ्नै माटोको सुगन्ध आउने नौमती बाजा सुन्न चाहनेहरूका लागि यो समूह पहिलो रोजाइ बन्न थालेको छ ।
व्यवसायिक हिसाबले हेर्ने हो भने पनि यो समूह निकै सफल देखिएको छ । एउटा स्थानीय विवाहमा बाजा बजाएबापत उनीहरूले न्यूनतम ३० हजार रुपैयाँ लिन्छन् । यदि विराटनगर बाहिर जानुपरेमा दुरी र समय अनुसार ३५ हजारदेखि ७० हजारसम्म र काठमाडौंजस्तो टाढाको यात्रामा त १ लाख २० हजार रुपैयाँसम्मको सम्झौता हुने गरेको छ ।
‘हामीले कमाएको रकम सबैले बराबर बाँड्छौँ र केही अंश समूहको कोषमा जम्मा गर्छौँ,’ सदस्य मेनुका कोइराला भन्छिन् । आर्थिक रूपमा सक्षम भएपछि महिलाहरूको आत्मविश्वास पनि बढेको छ । हिजो एउटा सानो खर्चका लागि श्रीमानको मुख ताक्नुपर्ने अवस्थाबाट उनीहरू आज आफ्नै कमाइले घरखर्च चलाउन र छोराछोरी पढाउन सक्षम भएका छन् ।
महिलाहरूले बाजा बजाउँदा आफ्नो मर्यादा र संस्कृतिलाई पनि विशेष ध्यान दिएका छन् । पुरुषहरूले लगाउने दौरा–सुरुवाल र फेटाको साटो उनीहरूले आफ्नै मौलिक पोसाक रोजेका छन् । चोली र रातो साडीमा सजिएर जब उनीहरू नरसिंगा र दमाहा समाउँछन्, तब उनीहरूको व्यक्तित्वमा छुट्टै चमक देखिन्छ ।
टोलीमा पुरुष सदस्यका रूपमा राजु परियार छन् । सनई बजाउन बढी श्वासको बल चाहिने भएकाले प्राविधिक सहयोगका लागि उनलाई सहभागी गराइएको हो । यसले के देखाउँछ भने यो समूह केवल महिलाको मात्रै जिद्दी होइन, बरु लैङ्गिक सहकार्यको एउटा उत्कृष्ट उदाहरण पनि हो ।
समाजको फेरिँदो दृष्टिकोण
वडाअध्यक्ष राम पोखरेलका अनुसार महानगरको यो लगानी अहिले ‘बहुआयामिक प्रतिफल’मा परिणत भएको छ । महिलाहरू उद्यमी बनेका छन्, संस्कृति जोगिएको छ र समाजमा सकारात्मक सन्देश गएको छ । अहिले त यो समूहको सफलता देखेर विराटनगरमै अन्य दुईवटा महिला बाजा समूह पनि तयार भइसकेका छन् ।
अचेल शुभसाइत परेका दिन सरस्वतीको मोबाइलको घण्टी बजिरहन्छ । कतै विवाह, कतै व्रतबन्ध त कतै उद्घाटन समारोह । यी महिलाहरूले सावित गरिदिएका छन् कि यदि इच्छाशक्ति र सीप छ भने महिलाका लागि कुनै पनि क्षेत्र अकाट्य छैन ।
घरको चौघेराभित्र सीमित महिलाहरू आज नरसिंगाको चर्को स्वर र दमाहाको घन्काइसँगै आफ्नो अस्तित्वको गर्जन गर्जिरहेका छन् । जागरुक महिला नौमती बाजा समूहको यो धुन केवल संगीत मात्र होइन, यो त महिला सशक्तीकरण, सांस्कृतिक पुनर्जागरण र आर्थिक स्वतन्त्रताको महाकाव्य हो । नौमतीको यो मधुर स्वरले भनिरहेको छ– अबको पालो सीप र साहसको हो, जहाँ लिंग र जातको कुनै सीमा हुने छैन । पछिल्ला समय भने महिलाले बढी यो पेशामा आबद्ध रहेका छन् ।