धरानः
वरिष्ठ नेता सुदन किराँतीले श्रम संस्कृति पार्टीलाई व्यक्ति केन्द्रित नभई विधि र विधानमा आधारित 'मोडल' पार्टी बनाउन २४ वटा प्रस्तावहरू अघि सारेका छन्।
किराँतीले पार्टी सञ्चालनका लागि लोकतान्त्रिक विधान, सामूहिक नेतृत्व, आर्थिक पारदर्शिता, डिजिटल प्रविधिमा जोड दिएका छन्।
उनको प्रस्तावमा संस्थागत निर्णय प्रक्रिया, नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा, निर्वाचन आयोगमा विवरण अद्यावधिक र उम्मेदवार छनोटको स्पष्ट मापदण्ड बनाउनुपर्ने माग गरिएको छ।
विराटनगर । हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीलाई व्यवस्थित र संस्थागत बनाउन भन्दै वरिष्ठ नेता सुदन किराँतीले नीतिगत तथा साङ्गठनिक सुधारका २४ वटा प्रस्तावहरू अघि सारेका छन् । सुनसरीको धरानमा जारी पार्टीको केन्द्रीय समितिको बैठकमा किराँतीले पार्टीलाई केवल व्यक्ति केन्द्रित नभई विधि र विधानमा आधारित ‘मोडल’ पार्टी बनाउने उद्देश्यका साथ आफ्ना फरक प्रस्तावहरू पेस गरेका हुन्।
पूर्व माओवादी नेता तथा मन्त्रीसमेत रहेका किराँती साम्पाङ नेतृत्वको पार्टीमा समाहित भएका थिए । किराँतीले पार्टी सञ्चालनका लागि लोकतान्त्रिक विधान, सामूहिक नेतृत्व र आर्थिक पारदर्शितालाई मुख्य एजेन्डा बनाएका छन्। उनले प्रस्तावमा पार्टीलाई डिजिटल प्रविधिमा लैजानुपर्ने, नेताहरूको कार्यक्षमताका आधारमा जिम्मेवारी बाँडफाँड गर्नुपर्ने र श्रमदान अभियानलाई व्यवस्थित गर्न छुट्टै विभाग गठन गर्नुपर्ने उल्लेख गरेका छन्।
किराँतीको प्रस्तावमा सबैभन्दा बढी जोड संस्थागत निर्णय प्रक्रियामा दिइएको छ। उनले महत्त्वपूर्ण निर्णयहरू पदाधिकारी तथा सम्बन्धित कमिटीको छलफलबाट मात्र गरिनुपर्ने र नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा हुनुपर्ने माग गरेका छन्। त्यस्तै, निर्वाचन आयोगमा पार्टीको विवरण तत्काल अद्यावधिक गर्ने र निर्वाचनका लागि उम्मेदवार छनोटको स्पष्ट मापदण्ड बनाउनुपर्ने उनको प्रस्तावमा उल्लेख छ।
यसअघि हिजोको बैठकमा किराँतीलाई भने सहभागी गराइएको थिएन । उक्त बैठकले चार महिनाअघि भएको सुदन किराँती समूहसँगको एकतालाई औपचारिक रूपमा अनुमोदन गरेको थियो। सहमति अनुसार किराँती समूहबाट ३ जना पदाधिकारी र १५ जना केन्द्रीय सदस्य रहने गरी १८ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। योसँगै श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यसमिति अब ४१ सदस्यीय बनेको छ। यस्तै, बैठकले शान्ति पाख्रिन र प्रसाद राईलाई केन्द्रीय सचिवमा नियुक्त गरेको थियो। किराँती समूहसहितको आज बसेको बैठकमा औपचारिक परिचय मात्रै भएको उक्त पार्टीका प्रवक्ता सत्य घलेले बताए ।
वरिष्ठ नेता सुदन किरातीको प्रस्ताव :-
श्रम संस्कृति पार्टीलाई सुव्यवस्थित र संस्थागत गर्न तत्काल गर्नुपर्ने काम
क. नीति तथा संस्थागत व्यवस्था
१. विधान निर्माण — लोकतान्त्रिक, समावेशी र समयानुकूल विधान तयार गर्न विधान मस्यौदा समिति गठन गर्ने।
२. नियमावली तथा कार्यविधि — विधानको अधीनमा रही पार्टी सञ्चालन, आयोग, विभाग, कार्यालय, अन्य आवश्यक कार्यविधि निर्माण गर्ने।
३. आर्थिक पारदर्शिता — आर्थिक नियमावली, बजेट, लेखा तथा नियमित लेखापरीक्षणको स्पष्ट प्रणाली लागू गर्ने।
४. निर्णय, कार्यान्वयन र अनुगमन — नीति तथा निर्णय कार्यान्वयनको जिम्मेवारी, समयसीमा र नियमित अनुगमन तथा मूल्याङ्कनको व्यवस्था गर्ने।
५. निर्वाचन नीति — स्थानीय तथा प्रदेश निर्वाचनका लागि निर्वाचन रणनीति र उम्मेदवार छनोटका स्पष्ट, वस्तुनिष्ठ तथा पारदर्शी मापदण्ड तयार गर्न कार्यदल गठन गर्ने।
ख. नेतृत्व तथा कार्यशैली
१. सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी — संस्थागत निर्णय र व्यक्तिगत जवाफदेहिताको स्पष्ट प्रणाली लागू गर्ने।
२. संस्थागत निर्णय प्रक्रिया — महत्त्वपूर्ण निर्णयहरू पदाधिकारी तथा सम्बन्धित कमिटीको छलफल र निर्णयबाट गर्ने र निर्णयको अभिलेख राख्ने।
३. अनुशासन र विवाद समाधान — प्रभावकारी अनुशासन आयोग गठन गरी आचारसंहिता लागू गर्ने र कारबाही तथा आन्तरिक विवादलाई विधिसम्मत प्रक्रियाबाट समाधान गर्ने।
४. जिम्मेवारीको वैज्ञानिक बाँडफाँड — नेता तथा कार्यकर्ताको क्षमता, अनुभव, रुचि, योगदान र आवश्यकताका आधारमा जिम्मेवारी निर्धारण गर्ने।
५. नेतृत्व सहयोग र समीक्षा — आवश्यक विज्ञसहित अध्यक्षको सचिवालय गठन गर्ने तथा नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा गर्ने।
६. आन्तरिक लोकतन्त्र र संवाद — नेतृत्व र कार्यकर्ताबिच नियमित संवाद, सुझाव तथा मतभेद समाधानको प्रभावकारी संयन्त्र विकास गर्ने।
ग. सङ्गठन तथा व्यवस्थापन
१. वैधानिक अद्यावधिक — निर्वाचन आयोगमा पार्टीको विवरण तत्काल अद्यावधिक गर्ने।
२. केन्द्रीय कार्यालय सुदृढीकरण — केन्द्रीय कार्यालयलाई व्यवस्थित, प्रविधिमैत्री र नमुनायोग्य बनाउने।
३. सङ्गठनात्मक एकीकरण - विभिन्न राजनीतिक धार, समूह तथा पार्टीबाट आएका साथीहरूको क्षमता र योगदानका आधारमा उचित व्यवस्थापन गर्ने।
४. डिजिटल पार्टी निर्माण - सदस्यता, सङ्गठन, अभिलेख, बैठक, निर्णय, आर्थिक विवरण तथा सञ्चारलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने।
५. प्रदेश तथा स्थानीय सङ्गठन- प्रदेश इन्चार्ज/सहइन्चार्ज तोक्ने तथा स्थानीय तहसम्म सङ्गठन निर्माण, पुनर्गठन र नियमित समीक्षा गर्ने।
६. जनवर्गीय तथा पेशागत सङ्गठन — आवश्यकता अनुसार जनवर्गीय तथा पेशागत सङ्गठन गठन र परिचालन गर्ने।
७. श्रमदान अभियान — श्रम संस्कृतिलाई स्थापित गर्न श्रमदान विभाग गठन गरी सृजनात्मक र जनमुखी ढङ्गबाट श्रमदान अभियान सञ्चालन गर्ने ।
८. प्रशिक्षण र नेतृत्व विकास — नेता तथा कार्यकर्ताका लागि नियमित राजनीतिक, वैचारिक, सङ्गठनात्मक तथा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गर्ने।
९. कार्यक्रम समन्वय — पार्टीका महत्त्वपूर्ण कार्यक्रम सम्बन्धित कमिटी वा विभागसँग पूर्वसमन्वय र छलफल गरेर मात्र सञ्चालन गर्ने।
१०. एकता तथा संवाद — पार्टी एकतामा आउन चाहने अन्य पार्टी, समूह वा व्यक्तिसँग संवाद र समन्वय गर्न अधिकारसम्पन्न, प्रभावकारी एक वार्ता समिति गठन गर्ने।
११. सङ्गठनात्मक रिपोर्टिङ — केन्द्र, प्रदेश र स्थानीय तहबिच स्पष्ट समन्वय, नियमित प्रतिवेदन र कार्यसम्पादन समीक्षा प्रणाली लागू गर्ने।
१२. एकीकृत सूचना प्रणाली — पार्टीका आधिकारिक निर्णय, सूचना र धारणा सम्प्रेषणका लागि एकीकृत सञ्चार प्रणाली विकास गर्ने।
१३. उपरोक्त विषयलाई लागू गर्न वार्षिक क्यालेन्डर बनाई जारी गर्ने।