इलाम देउमाई नगरपालिका-५, धुसेनीकी मैया राई (लिम्बू) र उनका श्रीमान् गत शनिबारको पहिरोबाट बल्लतल्ल जोगिए । बाँसको टाटीले बनाएको घरमा मध्यराति पहिरो खसेपछि उनीहरूले भागेर ज्यान जोगाए ।
तर, एउटै आँगनमा घर भएका देवरदेउरानीको परिवारलाई पहिरोले आँखैअगाडि लगेको घटना उनको आँखामा ताजै छ । पहिरोमा परी मैयाका देवर दीपक, देउरानी ऋषिका र उनीहरूका छोरी दीपशिखा अनि ऋषिकाका भदा सौगात र सौजनले ज्यान गुमाए । एक बालिकाको स्थानीयले सकुशल उद्धार गरे ।
मैया अहिले आफन्तको घरमा बसिरहेकी छिन् । तर, उनी त्यस दिनको घटना भुल्न सक्ने अवस्थामा छैनन् । ‘घर भत्किएपछि आत्तिँदै छिमेकी र आफन्त बोलाउन गएँ,’ उनी भन्छिन्, ‘त्यहाँ आएकी भान्जीलाई जीवित नै निकालियो । पाँचजना एकैठाउँमा बिते । यस्तो आपत्ति त कहिल्यै सोचेका थिएनौँ । के–कसो गर्ने आजसम्म केही सोच्न सकेको छैन ।’
मिर्गौलापीडित रहेका उनका देवर दीपक दिनभर अर्काकोमा हाते ट्याक्टरले खेत जोत्थे । साथै, काठ काट्ने काम पनि गर्थे । छिमेकी र आफन्तले पैसा उठाएर उनको उपचार गरेका थिए । ज्यालामजदुरी गरेर नै ६ महिनाअघि नयाँ घर बनाएका थिए । घरसँगै उनको परिवार पनि पहिरोमा पुरियो । १२ असोजमा दीपककी छोरी दीपशिखा लिम्बूको जन्मदिन थियो । त्यही जन्मदिनमा आएका थिए देउरानी ऋषिकाका भदा सौगात र सौजन ।
माङसेबुङ–१, पाटीगाउँकी सादना लिम्बूको घर पनि पहिरोले लगेको छ । सादना आफू जसोतसो बाँच्न सफल भइन् । तर, जब रातको १ बज्छ, तब अझै उनलाई झस्काउँछ । पहिरोले नै पुरिएको समयमा पाँच दिनदेखि उनी निन्द्रामै बर्बराउँछिन्, झस्किएर उठ्छिन् ।
मिक्लाजुङबाट आएकी मामाकी छोरी बहिनी नेहा राईसँगै उनी सुतेकी थिइन् । राति एक्कासि घरमाथिबाट पहिरो गयो । दुई महिनाकी गर्भवती सादना घरसँगै पहिरोमा पुरिइन् । घरमा सातजना थिए । तीमध्ये बहिनी नेहासँगै उनकी सासुआमा र दिदीले पहिरोमा परी ज्यान गुमाए । दुई घण्टापछि श्रीमान् मदनसँगै छोराको जीवितै उद्धार भयो ।
केहीबेरपछि उद्धार गर्न गाउँले आएपछि भने सादनालाई बाँच्ने आशा जाग्यो । उनीसँगै छोरा संयोग र श्रीमान् मदनको जीवितै उद्धार भयो । त्यसपछि सादना बेहोस भइन् । उद्धार गरिएका तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो ।
सादनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै होस खुल्यो । ‘सँगै सुतेका बहिनी र म पहिरो गएपछि एकअर्काको अँगालोमा बाँधियौँ । दुवैजना चिच्यायौँ । तर, एक घण्टासम्म कोही आउन सकेन । जेठाजु घरबाट निस्किन सफल भएकाले गाउँमा गएर छिमेकी बोलाउनुभयो,’ उनी गहभरि आँसु पार्दै भन्छिन्, ‘बहिनी ब्लड क्यान्सरकी बिरामी थिई । औषधि खाँदै थिई । त्यसबिचमा म बेहोस भएँ । बहिनीले रगत छादेपछि मेरो अनुहारमा परेछ । त्यसले म ब्युँझिएँ । त्यसवेला बहिनीले दिदी म बाँच्दिनँ भनिन् ।’
अहिले उनीहरू उपचारपछि गाउँ फर्किएका छन् । घर भत्किएकाले गजुरमुखीस्थित आफन्तकहाँ शरण लिएर बसेका छन् । ‘अन्तिम अवस्थाबाट जीवन जोगियो । तर, अब केही बाँकी छैन । आफन्तकहाँ बसेका छौँ । अब त्यो पुरानो घरमा बस्न सकिँदैन । त्यो दिनको झल्को आउँछ,’ श्रीमान् मदन भन्छन्, ‘अब सरकारले हामीलाई कतै राख्छ भन्ने अपेक्षा छ । नसोचेको घटनाबाट बाँचेका छौँ । बाँच्ने दिन रहेछ । यस्तो विपत्ति कहिल्यै सोचेका थिएनौँ ।’
पहिरोपीडित विकट बस्तीमा पुगेन सरकार
पहिरोले पुरेको विकट बस्तीमा राहत र पुनर्स्थापनामा ढिलाइ भएको छ । इलाम देउमाई नगरपालिका–५, धुसेनीकी मैँया राई घरबारविहीन भएको पाँच दिन भएको छ । पहिरोले आफन्त गुमाएर आफू विस्थापित भएकी मैँयाको घरमा सरकार पुग्न सकेको छैन । घर भत्किएर आफन्त गुमाएको बिहान वडाध्यक्ष आए । तर, त्यसपछि कोही पनि आएको छैन । उनको बस्तीदेखि केही तल गजुरमुखीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की हेलिकोप्टर लिएर पुगे । तर, त्यहीँमाथि रहेको धुसेनीमा कोही पनि पुगेको छैन । ‘अर्काको घरमा बसेको छु । म भएको ठाउँमा त कोही आएन । अरूतिर त्रिपाल र खानेकुरा लिएर आएको सुनेको छु,’ उनी भन्छिन्, ‘तर, हाम्रोमा कोही पनि आएन ।’
इलामको बाढी र पहिरो भएको विभिन्न स्थानमा प्रभावितलाई भेट्न पुगेका रास्वपा नेता मिलन लिम्बूले सरकारले राहत र पुनर्स्थापनामा ढिलाइ गरेको बताए । देउमाई नगरपालिका–५, धुसेनीको पहिरो प्रभावित परिवारसँग बुधबार भेटिएका लिम्बूले राहतको नाममा सरकारले प्रभावितलाई दु:ख दिएको बताए ।
‘यो गाउँमा राहत लिएर कोही आएको पाइएन । पुनर्स्थापना त परको कुरा भयो । यो वेला नागरिकले सरकारसँग अपेक्षा गर्छन् । तर, सरकारको उपस्थिति हुन सकेन,’ उनी भन्छन्,‘ यसवेला पहिरोले सदरमुकाम जाने धेरै ग्रामीण सडक अवरुद्ध छ । पीडितलाई राहतस्वरूप दिने रकमका लागि सदरमुकाम बोलाएको पाइयो । यो वेला प्रशासन आफैँ घरमा आएर पीडितलाई सहानुभूतिसँगै राहत दिन आवश्यक छ ।’
पहिरो प्रभावित क्षेत्रमा खानेपानीको अभाव देखिएको छ । देउमाई नगरपालिका–५, धुसेनी क्षेत्रमा खानेपानीकोे मुहानमा पहिरोले क्षति पुर्याउँदा खानेपानी अभाव देखिएको हो । लुतिमाई खानेपानी आयोजनाको मुहानका धेरै ठाउँमा पहिरोले क्षति पुर्याएपछि खानेपानी समस्या भएको स्थानीय विपना लुइँटेलले बताइन् । ‘यो खानेपानी १२० घर परिवारले प्रयोग गथ्र्यौँ । मुहान बन्द भएपछि खानेपानीको संकट आएको छ,’ उनले भनिन्, ‘अहिले आधा घण्टासम्म पानी बोकेर खाइरहेका छौँ ।’
देउमाई खोलाले माङ्सेबुङ–१ र देउमाई–५ जोड्ने पक्की पुलको पश्चिमी भाग बगाएपछि आवतजावतका लागि बाँसका पुल बनाइएको छ । पैदल हिँडेर भए पनि आवतजावतका लागि सहज होस् भनेर स्थानीय र जनप्रतिनिधि मिलेर बाँसको फड्के बनाएका हुन् । ‘दसैँको समयमा आफन्तकहाँ देउमाईबाट यहाँ आएका र माङ्सेबुङबाट उता गएका धेरै नागरिक रोकिएका छन्,’ माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङले भने, ‘बाँसको फड्के बनाएका छौँ । यहाँबाट सवारीसाधन आवतजावत हुँदैन । तर, पैदल भए पनि हिँड्न सहज होस् भनेर बनाएका हौँ ।