सुनसरी : तीन दिनदेखि हावाहुरीसँगै परेको अविरल वर्षाले कोशी प्रदेशका अधिकांश जिल्लामा किसानले खेतमा लगाएको धानबाली सोत्तर पारेको छ। पाकी सकेको धान थन्क्याउन नपाउँदै खेतमै क्षति भएपछि किसानहरू निराश बनेका छन्। खेतमै धान सोत्तर भएपछि किसान मेहनत र आशामा ठेस पुगेको छ।
हावाहुरीसहित लगातार परेको वर्षाका कारण खेतमा पाकिसकेको धान ढलेर नष्ट हुन थालेपछि किसान चिन्तित भएका छन्। वर्षाको सर्वाधिक असर सुनसरी, मोरङ, झापा, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा परेको छ। यी १४ जिल्लाका अधिकांश क्षेत्रमा खेतमा पानी जम्दा काट्न तयारी गरिएको धान भिजेर नष्ट भएको छ। कतिपय ठाउँमा ढलेको धान उठाउन नसक्दा किसानहरू निराश भएका छन्।
सुनसरीको बराहक्षेत्र, इटहरी, मोरङको पथरीशनिश्चरे, उर्लाबारी, रतुवामाई, खोटाङको दिक्तेल, नेर्पा, दोर्पा, मात्तिम, याम्खा, टेम्मा, खाल्ले, झापाको दमक, गौरादह, चारपाने, केरखा, तोपगाछी लगायतका क्षेत्रमा धानबाली सबैभन्दा बढी क्षतिग्रस्त भएको स्थानीयले बताएका छन्। मोरङको सिजुवाका किसान राजेन्द्र गौतमले खेतमा पाकिसकेको धान काट्ने तयारी गर्दै गर्दा तीन दिनदेखिको वर्षाले सारा बाली पानीमै डुबाएको बताए। अहिले खेतमा पस्ने हालत छैन, सबै ठाउँमा पानी जमेको छ। मेहनत गरेर लगाएको बाली यस्तो अवस्थामा नष्ट हुँदा मन पोलिरहेको छ गौतमले भने। 
धान पाक्ने समयमै परेको बेमौसमी वर्षाले उत्पादनमा २५ देखि ३० प्रतिशतसम्म कमी आउने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्रहरूले क्षतिको विवरण संकलन गर्न लगाइएको कोशी प्रदेशको कृषि मन्त्रालयका निमित्त प्रमुख पशुपति पोखरेलले बताए। पाकेको धान खेतमा नै क्षति भएपछि किसानहरूले तत्काल राहत र क्षतिपूर्तिको माग गरेका छन्।
खोटाङ दिक्तेलका किसान गोपाल आचार्यले भने, ‘यो वर्ष राम्रो उत्पादनको आशा थियो, तर बेमौसमी वर्षाले धान ढलाएर कुहिन थालेको छ। खेतमा न पानी झर्छ, न धान उठाउने बाटो छ। हाम्रो पुरै वर्षको परिश्रम खेर गयो।’ पाकेको धन खेतमै पानीमा डुबेपछि अर्को साल धनको बिउ बचाउन नै किसानलाई समस्या हुने देखिएको छ। सरकारले क्षतिको सही मूल्याङ्कन गरेर राहतका लागि पहल गर्नुपर्ने किसानको माग छ।