धनकुटा : अकबरे खुर्सानी खेती थालेका धनकुटाका किसान निराश भएका छन्।
अघिल्ला वर्षहरूमा राम्रो मूल्य पाएर आम्दानी भएपछि खेतीमा विस्तार गरेका किसान निराश भएका हुन्। गतवर्ष मूल्य राम्रो भएपछि खेतीमा लाग्ने किसानको संख्या पनि बढेको छ। यो वर्ष राम्रो मूल्य नपाउँदा किसानलाई लगानी उठाउन समेत कठिन हुने भएको छथर जोरपाटी गाउँपालिका-४ तेलियाका प्रदीप ओझाले बताए।
गत वर्ष ३ सयदेखि ४ सय रुपैयाँसम्म अकबरे बेचेका किसान यो वर्ष १ सयदेखि १५० रुपैयाँसम्म बेच्न बाध्य भएको ओझाको भनाइ छ। उनले ५ रोपनी क्षेत्रफलमा करिब ३ हजार बोट अकबरे लगाएको तर निकै कम मूल्यमा बेच्नु परेको बताएका छन्।
उत्पादन भएको बढी भएपछि बजार मूल्य घटेको हो कि भन्ने अनुमान उनको छ। अझ अकबरे खोर्सानीकै नाममा विभिन्न प्रजाति बजारमा आएकाले वास्तविक अकबरेको बजार मूल्य नपाएकाले कृषक मारमा परेको ओझाले बताए।
बाँदर, दुम्सी, बँदेल लगायतका जंगली जनावरको आक्रमणले अरू खेती जोगाउनै मुस्किल भएपछि वैकल्पिक खेतीका रूपमा अकबरे खुर्सानी खेतीतर्फ लागेका किसान घट्दो बजार मूल्यले चिन्तित बनेका हुन्। अकबरे खोर्सानीमा खेती गर्ने किसान बढेपछि उत्पादन बढ्दै जाँदा उचित मूल्य नपाउँदा किसानलाई लागत उठाउनै मुस्किल परेको हो।
गएका वर्षहरूमा अकबरे खोर्सानीको बजार राम्रो थियो, घरैमा आएर व्यापारीले खरिद गर्ने गरेका थिए। अहिले उत्पादन भए पनि मूल्य नभएको किसानले गुनासो गर्दै आएका छन्। पछिल्लो समय अकबरे खेती विस्तार र बजारीकरणका लागि कसैले वास्ता नगरेपछि वर्षेनि कृषि उत्पादनको बजार मूल्यमा समस्या सिर्जना हुँदै गएको किसान बताउँछन्।
अकबरे खोर्सानीको बजार जेठदेखि शुरु हुन्छ। गतवर्ष उत्पादन पनि राम्रो र बजारभाउ पनि राम्रो थियो तर यो वर्ष भने उत्पादन भए पनि उचित मूल्य नपाएको कृषकको भनाइ छ।
अकबरेको खोर्सानीले बजार मूल्य नपाउँदा मारमा परेको पाख्रीबास नगरपालिका–७, का किसान भूपाल थापाले बताए। मूल्य नपाएकाले खेती नै संकटमा पर्ने हो कि चिन्ता थपिएको उनको भनाइ छ। थापाले करिब ४ रोपनी क्षेत्रफलमा अकबरे खोर्सानी लगाएको र हाल प्रतिकेजी १५० रुपौयाँले बेचेको बताए। गतवर्ष भन्दा यो वर्ष बजार मूल्य नपाउँदा धेरै मारमा परेको थापाले बताए।
अकबरे खोर्सानी एकपटक रोपेपछि पहिलो वर्ष सामान्य उत्पादन हुन्छ। दोस्रो वर्ष राम्रो उत्पादन हुन्छ र तेस्रोदेखि पाँचौँ वर्षसम्म पनि उत्पादन हुन्छ। जिल्लाका धेरै किसानले यसको व्यावसायिक खेती गर्न थालेका छन्। जंगली जनावरबाट कम क्षति हुने तथा थोरै मेहनत र थोरै लागतबाटै मनग्ये आम्दानी गर्न सकिने भएपछि किसानले खाद्यान्न बाली छाडेरै अकबरे खुर्सानीको खेती थालेका हुन्।
किसानले खेती विस्तार गरेपछि स्थानीय सरकार र प्रदेश सरकारले प्रशोधन र भण्डारणका लागि कुनै सहयोग नगरेको किसानको गुनासो छ। कृषि ज्ञानकेन्द्र धनकुटाका अनुसार धनकुटामा करिब ८० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रूपमा अकबरे खोर्सानीको खेती गर्दै आएका छन्।
धनकुटामा आर्थिक वर्ष २०८०।०८१ मा ८५ हेक्टर क्षेत्रफलमा ९७३.१५ मेट्रिक टन उत्पादन भएकोमा गत आर्थिक वर्षमा ८ सय मेट्रिक टन अकबरे खोर्सानी उत्पादन भएको ज्ञानकेन्द्रका सूचना अधिकारी रत्न ठाडा मगरले जानकारी दिए।
अकबरे खोर्सानीको बजारका लागि स्थानीय तथा प्रदेश सरकारले अचार उद्योग बनाउन सहयोग गर्नुपर्ने किसानको माग छ। यस्तै उत्पादनमा उतारचढाव हुँदा मूल्यमा पनि उतारचढाव हुने हुँदा स्थानीय सरकार तथा प्रदेश सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने किसानको माग छ।