धरान : धरानस्थित पुनर्स्थापना केन्द्रमा उपचाररत युवकको कुटपिटबाट मृत्यु भएपछि प्रहरीले केन्द्रका सञ्चालकसहित नौ जनालाई पक्राउ गरेको छ।
धरान–११ मंगलबारेमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार केन्द्रभित्रको सीसी क्यामेरा फुटेजमा राईलाई पाता कसेर, कम्मरमा कम्ब्याट र डोरीले बाँधेर हातखुट्टा चल्न नसक्ने गरी लडाएको देखिएको छ।
कुटपिटबाट गम्भीर घाइते भएका राईको गत मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।
घटनापछि प्रहरीले केन्द्रका सञ्चालक धरान–८ का मणिराज राईसहित नौ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने अन्य व्यक्तिहरूमा राकेश प्रधान, श्रवण राजधानी, निकेश सुनुवार, सुरेन लिम्बु, हस्तबहादुर विश्वकर्मा, बिरु लिम्बु, सचिन राई र विजय चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ परेकामाथि सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।