धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयरमा निर्वाचित भएका थिए । अहिले भने साम्पाङले श्रम संस्कृति पार्टी खोलेर संगठन बनाउन दौडधूपमा लागि रहेका छन् ।
पार्टीका प्रवक्ता सत्य घले गुरुङले साम्पाङ आगामी निर्वाचनमा सुनसरी १ बाटै उम्मेदवार बन्ने निश्चित भएको बताए । ‘उहाँ (हर्क साम्पाङ) को उम्मेदवारी पक्का हो । उहाँ यहीँ धरानबाट, सुनसरी क्षेत्र नम्बर १ बाटै उठ्नुहुन्छ,’ घलेले भने ।
उनले धरानमा साम्पाङको जीत सुनिश्चित रहेको दाबीसमेत गरे । ‘यहाँ उहाँको जीत सुनिश्चित छ, त्यसैले खासै चुनावी तयारी गर्नै पर्दैन,’ घलेले भने, ‘धरानका जनताले उहाँको कामलाई मन पराएका छन् । ९/१० दलको गठबन्धन भए पनि उहाँलाई फरक पर्दैन ।’
धरान उपमहानगरपालिकाका सबै २० वटा वडाहरू यही निर्वाचन क्षेत्रमा पर्दछन् ।
मेयर साम्पाङ हाल श्रम संस्कृति पार्टीमार्फत देश दौडाहामा छन् । प्रवक्ता घलेका अनुसार यो अभियान सत्ता प्राप्तिका लागि नभई श्रम, उत्पादन र राष्ट्र निर्माणमा केन्द्रित छ।
अभियानले हालसम्म पाँचथर, उदयपुरको गाईघाट लगायतका स्थानमा कार्यक्रम सम्पन्न गरिसकेको छ भने बुटवलमा समेत पार्टी कमिटी विस्तार गरिसकेको छ ।
इलाम, पोखरामा समेत कार्यक्रम तय गरिएको छ ।
‘हामीले कुनै निश्चित तालिका बनाएर कार्यक्रम गरेका छैनौं । जहाँबाट जनताले समिति बनाएर बोलाउनुहुन्छ, हामी त्यहीँ पुग्छौं,’ घलेले भने ।
उनका अनुसार पार्टीमा सामेल हुन सबैलाई खुला आव्हान गरिएको छ । एमाले, माओवादी र कांग्रेसलगायत अन्य दलका कार्यकर्ताहरूलाई पनि श्रम संस्कृतिमा विश्वास राख्दै जोडिन आग्रह गरिएको छ ।