च्याब्रुङ हातको पञ्जा र गजाले बजाउने एउटा ताल बाजा मात्रै होइन, प्राचीन लोकनृत्य पनि हो। लिम्बू मिथकमा यस बाजाको विशेष चर्चा पाइने हुनाले मौखिक इतिहासको डोरी समातेर अघि बढेको यस समुदायमा च्याब्रुङको स्थान महत्त्वपूर्ण छ।
उपेन्द्र सुब्बाले साहित्यमा होस् या सिनेमामा, लिम्बू संस्कृतिलाई नै आफ्नो मूल विषय बनाउँदै आएको कुरा पाठक तथा दर्शकलाई अवगत नै छ। उनले आफ्ना रचना मार्फत लिम्बू संस्कृतिलाई कलात्मक शैलीमा चिनाउने काम मात्रै गरेका छैनन्, राज्यसत्ताले आफ्नो संस्कृतिलाई गहिरो गरी नबुझिदिनाले समुदायगत रूपमै अन्याय समेत हुँदै आएको कटु यथार्थलाई कुनै न कुनै रूपमा अभिव्यक्त गर्दै आएका छन्। सुब्बा आफैंमा अब्बल लेखक भएकै कारण उनी निर्देशित सिनेमाको दृश्य-भाषामा भरपुर काव्यिक मिठास हुनु दर्शकका लागि सुखद पक्ष बनेको छ। प्रेमको कोणबाट लिम्बू संस्कृति अन्तर्गत विवाह संस्कारलाई मुख्य रूपमा उठान गरिएको ‘जारी’ बाट आफ्नो निर्देशकीय क्षमतालाई पुष्टि गरेका सुब्बाले ‘मनसरा’ मा पनि प्रेमलाई नै प्राथमिकता दिएका थिए, जसमा लिम्बू संस्कृतिकै महत्त्वपूर्ण संगीत–संस्कृति पालामको लय थियो। लिम्बू विवाहलाई अरू समुदायमा समेत चिनाउन सफल नवीन सुब्बाकृत ‘नुमाफुङ’ ले स्थापित गरेको मानकलाई उपेन्द्र सुब्बाको ‘जारी’ ले पछिल्लो कालखण्डसँग जोडेर झनै फैलाइदियो। र, ‘जारी’ ले व्यावसायिक सफलता मात्रै हात पारेन, समीक्षकीय प्रशंसा पनि आफ्नो पोल्टामा सुरक्षित राख्यो। आज उठेको दर्शकीय चासो हो– उपेन्द्र सुब्बाले ‘जारी’ को प्रसिद्धि-ब्याज उठाउन मात्रै ‘जारी-२’ निर्माण गरेका हुन् कि उनलाई कुनै नयाँ कुरा नै भन्नु छ?
माइती पक्षले जारी बुझाउन नसक्दा पूर्वपति नाम्साङकै घरमा कामदारको रूपमा फर्किएकी हाङ्मालाई केन्द्रमा राखेर ‘जारी’ को कथा अगाडि बढेको थियो। सन्तान नहुनु र ‘नामर्द’-‘बाँझी’ को आरोप–प्रत्यारोपले प्रेम हुँदाहुँदै पनि हाङ्मा र नाम्साङबीच नोकझोक चल्यो। र, उनीहरूको त्यही मिलन-बिछोडले सिनेमालाई सांस्कृतिक स्वाद दियो। सुखद अन्त्य भइसकेको कथामा फेरि के आइलाग्यो होला भन्ने लाग्नु स्वाभाविकै हो। सिनेमा-शृंखला भन्नु नै अघिल्लो सिनेमाका कथा, विषय र पात्रलाई जोड्नु त हुँदै हो, पुरानाका अपुग भर्दै नयाँ कुरा थप्नु पनि हो। सबैभन्दा महत्त्वपूर्ण पक्ष– नयाँ फिल्म बनाउनका लागि नयाँ कुरा हुनैपर्छ। यस कुरालाई राम्ररी बोध गरेका सुब्बाले यसपालि कथामा नयाँ स्वाद दिएका छन्। ‘जारी-२’ लाई ‘सङ अफ च्याब्रुङ’ भनिएको कारण धेरै दर्शकलाई लाग्न सक्छ कि यो सिनेमा पनि शुद्ध सांस्कृतिक स्वादको छ। संस्कृति र प्रेमलाई आफ्ना विषय बनाएका निर्देशक सुब्बाले एउटा आँट गरेका छन्– उनी यसपालि प्रस्टै राजनीतिक इलाकामा छिरेका छन्। एउटा स्थायी प्रश्न त छँदै छ– संस्कृतिकर्मीले राजनीतिक विषयवस्तुलाई छोपेर भन्ने कि मुखर ढंगले पनि बोल्ने? कला हुनुका साथै सिनेमाको दायित्व पनि त होला! प्रश्न यत्ति होला, अभिव्यक्तिले कलात्मक कौशल बोकेको छ कि ठाडो हस्तक्षेपकारी भाषा? उपेन्द्र सुब्बा जस्ता विषयमा गम्भीर निर्देशकहरूले राजनीतिक विषयलाई आफ्नो सिनेमामा स्थान दिनु नेपाली सिनेजगतका लागि सकारात्मक संकेत हो। तर, ‘जारी-२’ लाई राजनीतिक जमिनबाट हेर्दा लाग्छ, कला र विचारलाई प्रस्तुत गर्दा निर्देशक सुब्बाले उभिनका लागि भूमध्यरेखा रोजेका छन्।
सिनेमाको शुरूमै मुन्धुम-गायन राखिएकाले दर्शकले लिम्बू-लयबाटै आफूलाई अघि बढाउने अवसर पाउँछन्। लोग्ने-स्वास्नीबीचको सम्बन्धमा देखा परेका उतार-चढावलाई नयाँ शिराबाट शुरू गर्नका लागि सामाजिक रीतभात मिलाउन र सांस्कृतिक माङ्गेना गर्न हाङ्माको माइती पक्षले नाम्साङको घरमा कोसेलीपात लिएर आएको दृश्यमा रमाइलो कुरा यो छ– मुन्धुमबारे कम जानकारी राख्ने, पालाम गाउनमा पनि उति सीप नभएको र च्याब्रुङ बजाउन-नाच्नमा पनि कमजोर मानिने नाम्साङलाई च्याब्रुङ उपहार दिन्छ, सालो बरध्वजले। र, भन्छ– ‘आरे हउ! च्याब्रुङै नाच्न नआउने लिम्बू त नांगो पहाड जस्तो पो हुन्छ हउ। यस्तो रूखो मान्छेसँग मेरो दिदीले कसरी जिन्दगी कटाइखान्छ?’ छेडखानी मिश्रित संवाद सामान्य जस्तो लागे पनि यही दृश्यबाट नै कथाले भिन्न सुरताल पक्रिन्छ। झगडा गर्न र च्याब्रुङ नाच्न अघि सर्ने बरध्वजको माध्यमबाट सिनेमाले भनेको छ– ‘मान्छेको मनले त नाच्न खोज्छ, गाउन खोज्छ, खुशी खोज्छ र आनन्द खोज्छ।’ यस सिनेमाले मान्छेलाई सांस्कृतिक प्राणीकै रूपमा परिभाषित गर्न खोजेको छ। हुन पनि अध्येताहरूले भनेजस्तै मान्छे सांस्कृतिक प्राणी नै हो र हरेक समुदायले आआफ्नै सांस्कृतिक अवयवद्वारा जीवनका घाउहरूको उपचार गर्दै मनशान्ति खोजेको हुन्छ। च्याब्रुङ त्यस्तै सांस्कृतिक ध्वनि हो, जसले लिम्बूहरूका अपूर्णतालाई भर्ने काम गरेको हुन्छ।
च्याब्रुङ हातको पञ्जा र गजाले बजाउने एउटा ताल बाजा मात्रै होइन, प्राचीन लोकनृत्य पनि हो। लिम्बू मिथकमा यस बाजाको विशेष चर्चा पाइने हुनाले मौखिक इतिहासकै डोरी समातेर अघि बढेको यस समुदायमा च्याब्रुङको स्थान महत्त्वपूर्ण छ। मुन्धुम अनुसार, तिगेन्जोङका छोराहरू नाम्सामी (मानव) र केसामी (बाघ) बीचको युद्धमा केसामीको मृत्युपछि उसको छालाबाट च्याब्रुङ बनाइएको हो भने अर्को आहान अनुसार प्रथम घरमा लागेको घुन झार्नका लागि च्याब्रुङको निर्माण गरिएको हो। लिम्बूहरू नयाँ घर बनाउँदा, बिहे गर्दा या कुनै महत्त्वपूर्ण सांस्कृतिक कर्म गर्दा मात्रै होइन, घरमा अपशकुन, प्राकृतिक प्रकोप, अनिष्ट नहोस् भन्ने कामना गर्दा समेत च्याब्रुङलाई नै सहारा बनाउँछन्। उनीहरू मूलखाँबोमा यो बाजा राखे ‘भूतप्रेत’, प्रकोप, आँखीडाही जस्ता ‘अपशकुन’ बाट बच्न सकिने विश्वास गर्छन्। यसरी विधि-संस्कार, परम्परागत संस्कृति आदिसँग जोडिएको यो बाजा लिम्बूहरूको जिउने शैली पनि हो। अतः यस बाजालाई रसरङ्गका लागि मात्रै बजाइएको सोच्नु गम्भीर भूल हुनेछ। ‘जारी-२’ को मूल ध्येय नै हामीले बारम्बार गर्दै आएको गम्भीर भूलप्रति ध्यानाकर्षण गराउनु हो। सिनेमामा नाम्साङलाई बताइएको छ– ‘च्याब्रुङ नासियो भने लिम्बू नासिन्छ। च्याब्रुङ भनेको लिम्बूहरूको खुशीको स्वर हो।’ तर, यो कुनै एक पात्रलाई बुझाउन ल्याइएको प्रसंग होइन। आफ्नै मातृभूमिभित्रका सांस्कृतिक पहिचानलाई बेवास्ता गर्दै हिंड्ने सम्पूर्ण जनका लागि एउटा गतिलो पाठ हो, यो।
‘जारी-२’ को उल्लेखनीय पक्ष नै राजनीतिमा प्रत्यक्ष प्रवेश हो। आफ्नैखाले विश्वासपद्धतिमा बाँचिरहेको एउटा आदिवासी समुदायको महत्त्वपूर्ण संस्कृतिलाई न राज्य पक्षले बुझ्यो, न त माओवादी विद्रोहीले नै। हिजो दश वर्षे युद्धकालमा ‘जनवादी नीति’ भन्दै रैथाने सांस्कृतिक पक्षहरूमाथि माओवादीबाट आक्रमण भएका थिए भने राज्यका सेना तथा प्रहरीहरूले पनि शान्ति-सुरक्षाको नाममा संस्कृतिका विभिन्न अनुष्ठानमाथि ज्यादती गरेका थिए। यही दोहोरो चेपुवामा परेको लिम्बू बस्तीको कथा नै ‘जारी-२’ को मुख्य केन्द्रमा रहेको छ, भलै त्यसलाई सहायक कथा जसरी प्रस्तुत गरिएको छ। लोग्ने-स्वास्नी, कुल-कुटुम्ब, दिदी-भाइ, बाउ-छोरी, आमा-छोरी, माइती-ससुराली आदिका सम्बन्धहरू मुख्य रूपमा आए पनि यी सबै कथावली केन्द्रीय कथा बताउने माध्यम मात्रै हुन् भन्ने देखिन्छ। राज्यको सेना र माओवादी लडाकु सम्बन्धी दृश्यहरू देखाइए पनि सिनेमाले कुनै पक्षको समर्थन नगरी द्वन्द्वको चपेटामा परेका आम मानिसको कथा प्रस्तुत गरेको छ। सिनेमामा– ‘हुलमुल’ मा जीउ जोगाउनुपर्ने उद्देश्यले विदेश जानुपर्ने विकल्पका कुरा छन्, ‘क्रान्ति’ मा लाग्ने युवाको आशा छ, ‘फौदारी’ गर्ने, जुवातास खेल्ने र श्रीमती कुट्ने पुरुषलाई माओवादीले ‘भाटे’ कारबाही गरेको दृश्य छ। यसका साथै एकातिर, दोहोरो भिडन्तको त्रासले अभिघातग्रस्त आम गाउँलेजनको ऐंठन छ, अर्कातिर माओवादी आन्दोलनका कारण सामाजिक हैसियत उठेको दलितको आत्मसम्मान छ। आजको समयविन्दुबाट हिजोको युद्धलाई मूल्यांकन गर्न सकिन्छ र मूल्यांकनका कोणमध्ये ‘जारी-२’ पनि एउटा कोण हो। यस कोणमाथि पनि प्रतिकोण र समकोण त हुने भइहाल्यो नै।
यति मात्रै होइन, सिनेमामा सोझो जनका दैनिक समस्याभित्र खेलेर क्रिस्तानीकरण गर्न उद्यत प्रभु माइला जस्ता पात्रको स्वार्थ उजागर भएको छ। यसले गाउँ-गाउँसम्म फैलिएको धार्मिक तथा सांस्कृतिक अतिक्रमण जालोलाई अनावृत्त गरेको छ।
आफ्नो लोग्नेले अरू युवतीसँग राम्ररी गाउन नजानेको पालामका अर्थहरू फुकाउन सघाउने हाङ्माको प्रेमभित्र लुकेको ईर्ष्याभाव पनि राम्रैसँग देखिन्छ, पर्दामा। लोग्नेसँग सँगसँगै बाझ्ने हाङ्माले लाहुरे भेटियो भन्दैमा जारी बिहे गराउन तम्तयार माइतीसँग कडा प्रतिरोध गरेको दृश्य निकै अर्थपूर्ण देखिन्छ। परिवारमा खासगरी बालबच्चाका लागि आमाको स्थान र भूमिकाबारे विशेष महत्त्व गाइएको छ। भनिएको छ– ‘आमाको काखै फरक, हातै फरक।’ यस कथनमा रहेर लामै विमर्श गर्न सकिन्छ। आमा र बच्चाका बीच हुर्किने आत्मीयताबारे सिनेमाका केही दृश्य-विम्ब निकै मार्मिक लाग्छन्। ‘मान्छेले त सानो हुन जान्नुपर्छ, निहुरिन पनि सिक्नुपर्छ, बाँस पनि तामा हुँदा आकाश नै छेड्छु भन्छ रे!’ जस्ता संवादमा दार्शनिक पुट पोतिएका छन्। अप्ठेरो परिस्थितिका बीच पनि दर्शकलाई मस्त हँसाउन सक्ने निर्देशक सुब्बाको हास्यचेत सिनेमाको बलियो पक्ष हो। हास्यचेतका लागि मंगलसिङ र उसको बा पात्रलाई भरपुर सदुपयोग गरिएको छ।
कलाकार दयाहाङ राईले पहिले जस्तै तारिफयोग्य अभिनय गरेका छन्। उनले चरम आक्रोशदेखि अवसादका क्षणहरूलाई उत्तिकै सशक्त ढंगले अभिनयमा उतारेका छन्। अभिनयमा लामो समय काम गरेका प्रायः कलाकारलाई थाहा भएकै कुरा हो, मसलादार पात्रता भन्दा साधारणजनको स्वाभाविक चरित्र निभाउनु झन् चुनौतीको कुरा हो। पछिल्लो समय खासगरी आदिवासी सिनेमामा दयाहाङले गरेका अभिनय हेर्दा उनी त्यस चुनौतीमा खरो-दरो उत्रिएका छन्। पालाम, च्याब्रुङ र लिम्बू लवजमा उनले गरेको काम तारिफयोग्य छ। आफूसँगको सम्बन्ध सुध्रिनसकेको बेपत्ता लोग्ने खोज्न सानी छोरी घरमा छाडेर माओवादीका पाइला पछ्याउँदै हिंड्ने हाङ्माको पात्रतामा मिरुना मगरको अभिनय बलियो छ। मिरुनाले अहिलेसम्म गरेका अभिनयमध्ये दर्शकले लामो समयसम्म स्मरण गर्ने अग्रणी पात्रमध्ये एक हो, हाङ्मा। खासगरी आदिवासी सांस्कृतिक सिनेमामा मिरुनाले गर्दै आएको अभिनयले उनको कलाकारितालाई एकपछि अर्को उचाइ दिंदै आएको छ। र, ‘जारी-२’ अर्को इँटा साबित भएको छ। उनको अभिनय कौशल चिनेर खार्ने श्रेय निर्देशक उपेन्द्र सुब्बालाई जान्छ। प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ जस्ता खारिएका कलाकारहरूको अभिनयले सिनेमालाई बलियो पारेको छ। ऋचा शर्मा, मानहाङ लावती, किरण चाम्लिङ, कमलमणि नेपाल, विष्णु मोक्तानले आआफ्नो भूमिका ठीकठाक गरेका छन्। बरु बुद्धि तामाङको भूमिका चाहिं छोटो लाग्न सक्छ। छोटै भए पनि स्वयं उपेन्द्र सुब्बाले अभिनयमा वास्तविकता दिएका छन्। सिनेमाटोग्राफी कसरमसर रहित त छैन। तर, कथा र भावलाई राम्रैसँग पक्रेको छ। ध्वनि र रङले कथाको मुडमा सघाएका छन्।
आदिवासीकेन्द्री सिनेमाको अर्को चुनौती हो– मेलापात, हाट र नाचगान जस्ता प्रसंगमा बस्ती र समुदायलाई नै पात्रतामा उतार्नु। यस चुनौतीलाई निर्देशक सुब्बाले सहजै पार लाएका छन्। दृश्यमा समेटिएका घर, ढोका, झ्याल र भित्ताका रङरोगन तथा बुट्टाहरू हेरेरै पनि सशरीर लिम्बूवानको भूगोल नटेकेका दर्शकले एकसरो अध्ययन गर्ने अवसर पाउँछन्। दर्शकको आफ्नो स्वाद अनुसार कसैलाई ‘फर्स्ट हाफ’ मन पर्न सक्छ, त कसैलाई ‘सेकेन्ड हाफ’। किनकि, शुरूमा खित्का छाड्दै हाँस्ने दर्शक पछि हाङ्मासँगै गाउँ-गाउँ चहार्दा सुस्केरा हाल्न सक्छन्। परम्परागत द्वन्द्वविधान खोज्ने दर्शकले फरक अनुभव गर्न सक्छन् किनकि कतिपय द्वन्द्व अप्रत्याशित पनि लाग्छन्। कतिपय दृश्य हेर्दा लाग्छ, पटकथामा रन्दा लगाइदिनु जाती हुन्थ्यो।
भनिन्छ– राम्रो सिनेमामा त्यस्तो कलात्मकता र सुन्दर प्राविधिक संयोजन हुन्छ, जसले दृश्य-भाषालाई प्रभावशाली बनाओस् र दर्शकलाई भावनात्मक तथा बौद्धिक रूपमा बाँधेर राखोस्। आकर्षक पटकथा, दमदार अभिनय, कुशल निर्देशन, गुणस्तरीय दृश्य-ध्वनि र चुस्त सम्पादनले नै सिनेमालाई आद्योपान्त कसिलो बनाउँछ। कसिलो सिनेमाले मात्रै दर्शकको ध्यान बाहिर बरालिन दिंदैन। त्यति मात्रै होइन, शक्तिशाली सिनेमाले उपस्थित दृश्यकै माध्यमबाट पनि अव्यक्त अर्थहरू दिन सक्छ। तर, जब मनोरञ्जनको परिधिलाई नाघेर एउटा सिनेमाले दर्शकलाई सोच्न बाध्य पार्छ, भावना अझ गहिरो बनाउँछ र दृष्टिकोणमा नै परिवर्तन ल्याइदिन्छ, तब त्यस सिनेमाले ‘महानता’तर्फ आफ्नो यात्रा बढाउँछ। ‘जारी-२’ लाई महानताको पगरी गुथाउन लागियो भने आफैंभित्रको दर्शकलाई सीधासीधा ढाँटेको ठहरिनेछ। तर, बहुसंस्कृतिलाई गहिरो गरी बुझ्ने सन्दर्भमा हामीले गरेको बेवास्ताप्रति भने यस सिनेमाले घोरिन बाध्य पार्छ नै। कुनै समुदायका मानिसहरू दुःखको थालमा पनि ठट्यौली मुछिरहेका छन् भने बुझ्नुपर्छ कि त्यो ठट्टा होइन, दर्शन हो। हाम्रो मुलुकमा परस्पर बुझ्नुपर्ने र सिक्नुपर्ने समुदाय र संस्कृति छन्, बुझौं। लाग्छ, निर्देशक सुबाले ‘जारी-२’ को माध्यमबाट भन्न खोजेको जम्माजम्मी यत्ति हो। सिनेमालाई अझै कसिलो बनाउन सकिएको भए भन्न खोजिएको कुरा झन् टड्कारो सुनिन्थ्यो।
समग्रमा‚ लिम्बूवानको सांस्कृतिक लयमा देशको बदलिंदो राजनीतिक घटनाक्रमले पारेको गहिरो असरलाई उपेन्द्र सुब्बाले ‘जारी-२’ मा स्वादिलोसँग अभिव्यक्त गरेका छन्। आफ्नै माटोको सुगन्ध नचिन्ने राजनीतिक दर्शन र सांस्कृतिक संवेदना छाम्न नसक्ने राज्यसत्ताले कस्तो सामाजिक दुर्घटना निम्त्याउँछन् भन्ने बोध गर्न पनि ‘जारी-२’ हेर्नुपर्ने हुन्छ। राजनीतिमा नवयुवाको चासो र सक्रियता बढिरहेको पछिल्लो परिवेशमा यस्ता सिनेमालाई बहुसांस्कृतिक नेपाली समाजको मिहिन पक्ष बुझ्ने बलियो सन्दर्भ-सामग्रीका रूपमा हेर्न सकिन्छ। -गुरुङ सुशान्त