हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्नो घोषणापत्र र एजेन्डा सार्वजनिक गरेको छ ।
अध्यक्ष साम्पाङले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । उनको घोषणापत्रमा देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको उल्लेख छ ।
धरान उपमहानगरका प्रमुख समेत रहेका उनले भने, 'जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।'
श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उनको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उनले स्पष्ट पारे ।
उनले हर्कवादलाई थप प्रस्ट्याउँदै यही देशको ढुंगा र माटोमा श्रम रोपेर देशको स्वाधीनता, सम्प्रभुता, समृद्धि, सुख र खुसीसहितको सुनौलो भविष्य फलाउने सूत्र पनि हर्कवाद नै भएको बताए ।
पार्टीको अवधारणापत्र अनुसार वैज्ञानिक कर लागु गर्ने जनाइएको छ । उक्त नीति अनुसार धनीबाट धेरै लिएर गरिबलाई बचाउने नीति लिने पनि उल्लेख छ ।
बालिग मताधिकारद्वारा प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपति हुने उनले बताए । साम्पाङको अवधारणाअुनसार राष्ट्रपतिले राजनीतिक क्षेत्र बाहिरको विषय विज्ञ या सांसद जसलाई पनि लिएर आफ्नो पायकको सरकार गठन गर्न पाउने छ । पाँच वर्षे पदावधिको राष्ट्रपति नै राष्ट्र र सरकार दुवैको प्रमुख रहने उनले बताए ।
साम्पाङले राष्ट्रपति र उपराष्ट्रपति एकै लिङ्ग र एकै जाति समुदायको नरहने (दलले उम्मेदवारी दिँदाको अवस्थामा तर चुनिँदा के हुन्छ, सो नतिजा अनुसार हुने पनि बताए ।
केन्द्रमा राष्ट्रपतिले सरकार गठन गर्दा समानुपातिक समावेशी किसिमको सरकार बनाउने र प्रदेशका मुख्यमन्त्रीसमेत स्थानीय सरकार चुनिए जस्तै प्रत्यक्ष निवार्चित हुने पनि पार्टीको अवाधारणा रहेको उनले बताए ।
अवधारणा अनुसार राज्यको सबै अंगहरूमा आदिवासी, जनजाति, खसआर्य, मधेशी, दलित, मुस्लिम र अल्पसंख्यक सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने गरी समानुपातिक प्रतिनिधित्व गर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगीकार गर्ने नीति रहेको पनि उनले बताए ।
साम्पाङको पार्टीले व्यवस्थापिका संघमा २ सदनात्मक र प्रदेशमा १ सदन व्यवस्थापिका रहने, संघीय व्यवस्थापिका अन्तर्गत राष्ट्र सभा सबै प्रदेशका समान प्रतिनिधित्व गर्ने गरी रहने र प्रतिनिधिसभा प्रदेशको जनसंख्याको अनुपातमा पूर्णसमानुपातिक प्रतिनिधत्व रहने कल्पना गरेको छ ।
यसैगरी राज्यको कुनै धर्म नहुने तर व्यक्तिको धार्मिक आस्थाप्रति स्वतन्त्र रहने पनि पार्टीको अवधारणा पत्रमा उल्लेख छ । कसैले करकाप गरेर धर्म परिवर्तन गराउन नहुने, बाध्य नबनाउने, अन्यथा दण्डनीय मानिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
पार्टीको अवाधारणमा श्रम संस्कृति पार्टीको एजेन्डाहरूमा शासकीय स्वरूप, सार्वभौम र राजकीय सत्ता, भौगोलिक अखण्डता, असंलग्न परराष्ट्र नीति, नागरिकता, व्यवस्थापिका, मौलिक हक एवं मानवअधिकार, लोकतान्त्रिक मूल्य र मान्यता, नागरिक सरकार र कार्यपालिका, प्रदेश सरकार संरचना, न्यायापालिका, धर्मनिरपेक्षता र स्वतन्त्रता, बहुभाषिक नीति, आत्मनिर्णय, स्वशासन र स्वायत्तता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय सुरक्षा प्रणलीलगायत बुँदाहरू रहेका छन् ।
श्रम संस्कृति पार्टीको अवधारणाअनुसार जेनजी पुस्तालाई उत्पादन, निर्माण र आविष्कारमा लगाउने, जीवनपयोगी शिक्षा पद्दति लागु गरी हप्ताको ३ दिन मात्र पढाउने व्यवस्था मिलाएर पढ्ने विषयवस्तु र कितावको संख्या, पाठ्यभार घटाउने नीति पनि रहेको छ ।