धरानः
कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विवाद सतहमा आएको छ। लामो समयदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेकी गोमा तामाङ (सरिन)ले पार्टी परित्याग गरेसँगै विवाद थप बाहिर आएको हो। निर्वाचनबाट पराजय बेहोरेकी तामाङले अब पार्टीको राजनीतिमा सक्रिय नरहने बताएकी छिन्।
उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘हामी जस्ता सोझा व्यक्तिको राजनीतिमा भविष्य देखिएन, उनीहरूले हामीलाई पाखा लगाएरै छाडे।’
उनले माथिको ह्विप भन्दै हराएको समेत आरोप लगाएकी छिन्।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ माननीय तृतीयज्यू र केन्द्रीय सदस्यज्यू धन्यवाद तपाईँ चौथा ज्यूहरूलाई, सायद अनेक सेटिङ प्यानल बनाउन जानिन मैले यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर। तर यो मेरो सोझो सिधापन आज दुखाइ भो सबैलाई। राजनीतिक गर्नै जानिन कमजोरी भो मेरो।’
सरिनले आजैबाट राजनीतिक बिट मारेको घोषणा समेत गरेकी छिन्।
‘मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भनेकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको सभापतिमा प्रधानमन्त्री वालेन्द्र शाह निकट चन्द्रबहादुर राई निर्वाचित भएको भनिए पनि उनी रास्वपाका स्थापनाकालदेखि नै सक्रिय छन्। यसअघि कोशी प्रदेशको कोषाध्यक्ष रहेका चन्द्रलाई निर्वाचित हुन भन्दा पहिलादेखि नै बालेन शाहको उम्मेदवार भनेर चर्चा चलाइएको थियो।
बालेनको उम्मेदवारले जित्यो भनेर हल्ला चलाइएसँगै अहिले यसको असर कार्यकर्ता र पराजित भएकाहरूसम्म फैलिएको छ। पार्टीमा लामो समयदेखि योगदान गरेको बताउँदै आएका रास्वपाका नेता कार्यकर्ताहरूले पार्टी भित्रको योगदानको कदर नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
रास्वपा कोशी प्रदेशको सभापतिमा तामाङसहित राई, डा खगेन्द्र कटुवाल र चन्द्रकुमार गौली प्रतिस्पर्धामा थिए। राईले २८० मत प्राप्त गर्दै प्रदेश सभापतिमा निर्वाचित हुँदा गोमा तामाङ (सरिन)ले १४१ मत प्राप्त गरेकी हुन्। कटुवालले ४१ र गौलीले २७ मत मात्रै प्राप्त गरेका थिए।
रास्वपाको निर्वाचित पदाधिकारीको कार्यकाल पाँच वर्षको हुने व्यवस्था रहेको छ। कोशी प्रदेशमा रास्वपा भित्रको विवाद बुधवारदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनबाट मात्रै आएको हैन। यो विवाद रास्वपाको तत्कालीन महामन्त्री मुकुल ढकाललाई कारबाही गर्दादेखि नै सुरु भएको रास्वपाका नेताहरू बताउँछन्।
तत्कालीन महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेका विरुद्धमा फरक मत राख्दा उनी सँगै फरक मत राख्ने नेताहरू पनि अनुशासनको कारबाहीमा परेका थिए। पहिलो कोसी प्रदेश सभापति राजेश तिम्सिनालाई पनि कारबाहीको डण्डा चलाइएको थियो।
कारबाहीमा परेका एक नेताले भने, ‘सभापति रवि लामिछानेको पक्षमा लाग्नेहरू नेता बन्दै गए। उनीहरूले कोसी प्रदेशमा गुटबन्दी गर्दै गए। ढकालको पक्षमा बोल्नेहरू धमाधम कारबाहीमा परे।’
तिम्सिना कारबाहीमा परेपछि ढकालको पक्षमा लागेको भन्दै कोसी प्रदेशका धेरै नेताहरू अनुशासनको कारबाहीमा तानिए। उमेश खरेल, महेन्द्र थापा, कमलबाबु मैनाली, जीवन कुमार श्रेष्ठ लगायतलाई लक्षित गरी कारबाही गरिएपछि झापा, मोरङ र सुनसरीका धेरै नेताले पार्टी छाडेका थिए।
रास्वपा सुनसरीका एक नेताका अनुसार, प्रदेश कमिटीका कमीकमजोरीको विषयमा कुरा उठाउँदा समेत कारबाही भोग्ने धेरै साथीहरू अहिले चुनावमा फरक धारमा उभिएका थिए। कार्यवाहक सभापति सरिनले कामदारलाई काम लगाएको भन्दा पनि तल्लो स्तरमा गिरेर गाली गर्ने तथा त्यस्ता खालका व्यवहार गर्न थालेपछि केही जिल्ला सभापतिहरूले पार्टीलाई कम्पनी जस्तो नगर्न भन्दै आवाज उठाउँदा कारबाहीमा परेको समेत ती नेताले बताए।
कोशी प्रदेश भित्र गुट चलाउने कामको नेतृत्व निवर्तमान महामन्त्री लाल विक्रम थापाले गरेका थिए। उनीसँगै अरू केही नेताहरूले पनि साथ दिएका थिए। लाल विक्रम र सरिनहरू रवि समूहमा नपरेका नेताहरूलाई धमाधम कारबाही गरेपछि एक समय रास्वपा छाड्नेको लहर नै चलेको थियो। त्यसको असर महानगर तथा उपमहानगर कमिटीहरूमा समेत परेको थियो। रास्वपा स्थापनाको समयमा पार्टीमा सक्रिय रहेका धेरै नेताहरू अहिले पार्टी लाइन भन्दा बाहिर रहेका छन्।
अहिले सरिनले आफू गुटबन्दीको सिकार भएको बताएकी छिन्। उनले केही सांसदहरूले सिङ्गो प्यानल नै बोकेर हिँडेको र सङ्गठनभित्र भाँडभैलो मच्चाएको आरोप लगाएकी छन्। एउटा निश्चित व्यक्ति वा प्यानललाई मात्र काखी च्यापेर सङ्गठन भत्काउन खोज्ने त्यस्ता माननीयहरूलाई भोलिका दिनमा कोसी प्रदेशमा निषेध गर्ने उनले बुधबार राती नै चेतावनी दिएकी थिइन्।
रास्वपा कोशी प्रदेशको सभापतिको निर्वाचन सम्पन्न भए पनि पदाधिकारीहरूको मत परिणाम सार्वजनिक हुन बाँकी नै रहेको छ।