धरानः नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रले धरानस्थित हरियाली सबस्टेशनमा ट्रान्सफर्मर राखेको छ ।
सबस्टेशनको एकथान ८ एमभीए पावर ट्रान्सफर्मर अपग्रेडिङ गर्नका लागि २४ एमभिए पावरको ट्रान्सफरमर धरानमा आइपुगेको छ । केही दिनपछि ट्रान्सफरमर ‘अपग्रेडिङ’ कार्य हुने केन्द्रका कार्यालय प्रमुख रामहरि पोखरेलले जानकारी दिए । उनले ट्रान्सफर्मर राखिसकेपछि ओभरलोडको समस्या समाधान हुने जानकारी दिए ।
अब धरानमा केही भएपनि ओभरलोडको समस्या हट्ने भएको छ । ‘ओभरलोडले भोल्टेज सुधार, ओभर ट्रिपिङ घट्ने छ’, उनले भने । कोशी प्रादेशिक कार्यालय विराटनगरका निर्देशक कमल आचार्यको नेतृत्वमा सो काम भइरहेको उनले बताए । ‘म मंसिर १ गते धरान वितरण केन्द्रमा आएँ, ओभरलोड बढिरहेका थियो, त्यो बेलादेखि नै पहल गरयौं, कोशी प्रादेशिक कार्यालय विराटनगर टेन्डर गरेर उसको टेन्डरअनुसार अहिले काम भइरहेको छ,’ उनले भने ।
उनले धरानमा बिजुली झ्याप्प झ्याप्प जाने समस्या समाधानका लागि पनि पहल भइरहेको बताए । धरान–१७ सर्दुखोला पारी बनेको सब स्टेशन साउनदेखि टेण्डर आह्वान भएर काम हुनसक्ने उनले बताए । ‘अहिले बजेट व्यवस्थापन, वातावरणीय अध्ययन आदिको काम अघि बढेपनि साउनदेखि टेन्डर आहवान हुने र छिटो भएमा साउन १५ गतेसम्ममा काम हुनेछ ।’ उनले भने । त्यहाँबाट कोशी कोरिडोरको २२० केभी लाइन आउने र २ सय ३० बाइ २३ बाइ ११ केभी बनाएर वितरण हुने उनले बताए ।
उनले धरानमा बिजुली जाने समस्या अहिले पनि रहिरहेको बताए । पुराना लाइन र ट्रान्सफर्मरको क्षमता कमजोर हुँदा समस्या बढ्दै गएको उनले बताए । दुहवीबाट हरियालीमा आउने ३२ केभीको बिजुली जंगलमा रहेका रुख ढलेमा, चटयाङ लागेमा मात्रै समस्या हुने गरेको उनले जानकारी दिए । ‘दुहवीबाट आउने बिजुली रोक्न जंगलमा रुख ढल्छन्, हाँगा भाँचिन्छन्, टावर हेर्दा समय लाग्छ’, उनले भने, ‘त्यही भएर धरानमा बिजुली गइरहन्छ ।’
यस्तै, उनले धरानमा पुरानो वितरण प्रणालीका कारण पनि बिजुली गइरहने बताए । उनका अनुसार विद्युतको माग बढ्दै जाँदा पुराना संरचनाले भार थेग्न नसक्दा बारम्बार फल्ट आउने गरेको छ । समस्या समाधानका लागि नयाँ लाइन निर्माण, ट्रान्सफर्मर स्तरोन्नति, नियमित मर्मत सम्भार तथा रुखका हाँगा काट्ने काम आवश्यक रहेको उनले बताए ।
धरानमा बिजुली बत्तीको समस्या समाधानका लागि तदारुकताका साथ अपग्रेडमा लागिरहने, वितरण प्रणाली सुधार, रिङ म्यान फिडर बनाउने प्लान रहेको पनि उनले सुनाए ।
उनले धरानमा रहेको पुरानो संरचनालाई हटाउनका लागि पनि पहल भइरहेको बताए । ‘२०६२ देखि २०६८ सालसम्म मैले धरानमै बसेर इन्जिनियरिङ कलेजमा पढाएँ, म त १० वर्ष धरानमै बसेको हुनाले यहाँको बिजुलीको समस्याबारे मलाई धेरै कुरा थाहा छ, त्यतिखेरको संरचना जुन देखें, अहिले पनि त्यही छ’, उनले भने, ‘बजेट धेरै लाग्छ, यसका लागि पहल भइरहेको छ, त्यही पनि बिजुलीको काम नियमित भइरहने प्रक्रिया पनि हो ।’
यस्तै, चतरा क्षेत्रको ओभरलोडका लागि १६.८ एमभिएको ट्रान्सफरमर राखिने पनि उनले जानकारी दिए । धरानमा विद्युत अनियमित बनेको निकै लामो समय भएको छ । झ्याप्प झ्याप्प बिजुली जाने समस्याले यहाँका उपभोक्ता हैरान बनेका छन् ।