पछिल्लो आमनिर्वाचनमा समानुपातिक मतका आधारमा कोसी प्रदेशमा दोस्रो ठूलो दलको मान्यता पाएको श्रम संस्कृति पार्टीले ‘युद्धस्तर’मा संगठन विस्तार गरिरहेको छ ।
विगतमा ‘लिड’ गरेका पुराना भनिने दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का जिल्ला संगठन नै रित्तो बनाउने गरी श्रम संस्कृतिको ‘एग्रेसिभ’ संगठन विस्तार कोसीका पहाडी भूभाग हुँदै तराई–मधेसतर्फ केन्द्रित भएको छ ।
प्रतिनिधिसभा बैठक नबस्दा पार्टी अध्यक्ष हर्क साम्पाङ कोसीसहित देश दौडाहामा निस्कने गरेका छन् । यसले संगठन विस्तारमा मलजल गरेको देखिन्छ ।
संखुवासभामा केही समयअघि जसपाको सिंगो जिल्ला कार्यसमिति नै रित्तो हुने गरी श्रम संस्कृतिमा प्रवेश गराइयो । त्यसको केही दिनपछि धनकुटामा त्यसैगरी कांग्रेसलाई धक्का लाग्यो । त्यसपछि भोजपुरमा एमालेलाई झट्का लागेको छ ।
आमनिर्वाचनमा प्राप्त समानुपातिक मतमा कोसीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक नम्बरमा छ, श्रम संस्कृति दोस्रो । बाँकी दल श्रम संस्कृतिभन्दा पछाडि छन् ।
प्रदेश र स्थानीय तहको निर्वाचन अवधि नजिकिँदै गर्दा श्रम संस्कृतिले संगठन विस्तार र पार्टी प्रवेशलाई तीव्रता दिएको छ । कोसीमा मात्र नभएर देशभर आफ्नो संगठन विस्तार र सुदृढीकरण अभियानलाई तीव्र पारिएको पार्टीका केन्द्रीय सहप्रवक्ता जीवन बिष्टले बताए । पार्टीले हालै ‘हातेमालो कार्यक्रम’ सम्पन्न गरेको र अब बस्ने केन्द्रीय कमिटीको बैठकबाट थप निर्णय गरेर अघि बढ्ने योजना रहेको उनले जानकारी दिए ।
“संगठन विस्तारमा अन्य दलकालाई तान्न मात्र नभई कार्यक्रममार्फत नै आकर्षित गर्ने उद्देश्य हो,” बिष्टले बाह्रखरीसित भने, “श्रम संस्कारमार्फत कुन ठाउँमा के उत्पादनको सम्भावना छ भन्ने पनि हामी अध्ययन गरिरहेका छौँ ।”
कोसीको पहाडी क्षेत्रमा सञ्चालित एक चरणको कार्यक्रम सम्पन्न भएलगत्तै अब मधेस प्रदेशतर्फ केन्द्रित हुने तयारी रहेको उनले बताए । “मधेसमा मधेसवादी दल, कांग्रेस र माओवादीले यसअघि शासनसत्तामा बसेर काम गरेकै हुन्, तर हामी अलि फरक ढंगले मधेस छिर्दै छौँ,” उनले भने, ‘‘मधेसमा खुला समथर भूमिमा हुन सक्ने उत्पादनसँग पार्टीलाई जोडेर कुनै एक स्थानमा पाइलटिङ गर्ने कि भन्ने पनि छ । कृषि उत्पादनमा स्थानीयसँग जोडिएर यो काम गर्ने तयारी छ ।”
पुराना र स्थापित राजनीतिक दलको कार्यशैलीप्रति असन्तुष्ट बनेका नेता–कार्यकर्तालाई नै श्रम संस्कृतिले आफ्नो पक्षमा ल्याइरहेको छ । यसबाट आउँदो प्रदेश र स्थानीय तह निर्वाचनमा पार्टीले चुनावी मैदानमा बलियो उपस्थिति जनाउने संकेत देखिन्छ ।
संखुवासभामा जसपा नेपालमा सक्रिय ८० जनाले सामूहिक राजीनामा दिएर श्रम संस्कृतिमा लागेका स्थानीय नेता हेमराज याक्खाले उल्लेख गरेका छन् । त्यहाँ जसपा नेपालमा रहेका सबै नेताले राजीनामा दिएका उनको भनाइ छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अब श्रमदान गरौँ, एक भई श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष मानानीय हर्कराज साम्पाङज्यूको अभियानमा जुटौँ ।”
धनकुटामा धेरै वर्षदेखि कांग्रेसमा सक्रिय १९ नेता–कार्यकर्ताले पार्टी सभापति गगन थापालाई पत्र लेखी एकसाथ सामूहिक राजीनामा दिए । पार्टी छाड्नेमा दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सदस्य तथा पार्टीकी महासमिति सदस्य अञ्जना ताम्ली, कोसी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राईलगायत क्रियाशील सदस्यहरू छन् । उनीहरू श्रम संस्कृतिमा सक्रिय बनेका छन् ।
‘कांग्रेसभित्र काम गर्ने अनुकूल वातावरण नरहेको तथा पछिल्लो समय देखिएको वैचारिक मतभेदका कारण पार्टीमा निरन्तर रहन नसकिएको’ व्योहरा सभापति थापालाई लेखिएको पत्रमा उल्लेख छ ।
एमाले भोजपुर कमिटीले त श्रम संस्कृतितर्फ लागेको भन्दै भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पा, भोजपुर–८ का वडाध्यक्ष नवीन प्रधानसहितलाई कारबाही नै गरिसकेको छ । एमाले छाडेका उनीहरू पनि श्रम संस्कृतिमा सक्रिय भएका छन् ।
‘पार्टीको अनुशासन उल्लंघन गर्दै अन्य दलमा प्रवेश गरेको र पार्टीविरुद्ध गतिविधि सञ्चालन’ गरेकाले कारबाही गरिएको एमाले भोजपुर अध्यक्ष मक्करबहादुर खड्काले जनाएका छन् ।
शेर्पालाई पार्टीको साधारण सदस्यबाट हटाउन र उपमेयर पदबाट समेत मुक्त गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन प्रदेश कमिटीसमक्ष सिफारिस गरिएको छ । एमाले भोजपुरले रेनुका भुजेल, कोपिला राई, विमल रणपहेली, सुमन प्रधान, बाबुराम तामाङ र दिपेन दर्नाललाई साधारण सदस्यबाट हटाएको छ ।
सुदनलाई मुख्यमन्त्री बनाउने घोषणाले आकर्षण
श्रम संस्कृतिले आफ्नो भावी राजनीतिक मार्गचित्र स्पष्ट पार्दै नेता सुदन किराँतीलाई कोसी प्रदेशको मुख्यमन्त्रीको उमेदवारका रूपमा अघि सार्ने औपचारिक घोषणा समेत गरिसकेको छ । किराँतीलाई भावी मुख्यमन्त्रीको उमेदवारका रूपमा प्रस्तुत गरिएपछि कोसीमा पार्टीको राजनीतिक गतिविधि झनै सघन बनेको हो ।
किराँती आफैँ पार्टीको अबको रणनीति र भावी कार्यदिशा लिएर कार्यक्रम गरिरहेका छन् । कांग्रेसको आन्तरिक किचलो, एमालेको अवरुद्ध पार्टी संगठनको गतिविधि र नेकपाको सुस्तताको फाइदा उठाउँदै किराँतीले श्रम संस्कृतिको संगठन विस्तारलाई घनीभूत बनाएका छन् ।
किराँतीलाई भावी मुख्यमन्त्रीको उमेदवार घोषणा गरेर अघि बढ्दा विगतमा पहिचानको मुद्दा लिएर राजनीति गरिरहेका क्षेत्रीय दल र पहिचानवादी समेत श्रम संस्कृतितिर आकर्षित देखिएका छन् ।
“पुरानाबाट नागरिकको जीवनमा खासै सुधार आएको देखिएन, फेरि अहिले रास्वपाले केन्द्रको सरकार सञ्चालन गरिरहेको छ, एउटै पार्टीको सरकार तल भए चेक एन्ड ब्यालेन्स नहुन पनि सक्छ,” नेता किराँतीले भने ।
उनले अगाडि भने, “नयाँ शक्तिको रूपमा उदाएको रास्वपाको कमजोरी पनि देखिन थालेको छ । देशलाई स्थिर सरकार त चाहिएकै छ, तर पाँच वर्षमा कहाँ पुर्याउने हो भन्ने चिन्ता पनि उत्तिकै छ । त्यसैले तल पनि एउटै पार्टीको सरकारभन्दा पनि फरक पार्टीको हुनुपर्छ भन्ने मान्यतासाथ हामी सक्रिय भएका हौँ ।”
प्रदेशमा आफूहरूको एकल सरकारको रणनीतिसहित श्रम संस्कृति अघि बढेको उनले बताए ।