धरानः विद्यार्थीको रोजाइमा अहिले बिएचएम विषय पनि पर्न थालेको छ ।
धरानः धरानमा बिएचएमको पठनपाठन भएको धेरै वर्ष भइसकेको छ । यसअघि विद्यार्थी काठमाडौं केन्द्रित हुने गरेका थिए तर धरानमा बिएचएम विषयको पठनपाठन हुन थालेपछि यहाँ पनि विद्यार्थीको आकर्षण बढेको हो । बिएचएमको क्षेत्र व्यापक छ । समयअनकूल शैक्षिक सीप पाइने भएकाले पनि पछिल्लो समय यस विषयप्रति विद्यार्थीको आकर्षण बढेको हो ।
धरान–१६ स्थित युएन कलेजमा बिएचएम पढ्न विद्यार्थीको चाप रहेको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो बताउँछन् । ‘खासमा त्रिविले ३३ जनाको कोटा मात्रै निर्धारण गरेको छ तर युएन कलेजमा विद्यार्थीको अहिले पनि चाप छ’, उनले भने, ‘स्थापनाकालदेखि नै भर्ना खुलेकै दिन सिट प्याक हुने गरेको छ, कोठा छ, कोटा छैन भन्नुपरिरहेको अवस्था छ, यसले के जनाउँछ भने बिएचएममा विद्यार्थीको आकर्षण छ ।’ उनले कोटा थपका लागि आफूहरुले निवेदन पनि दिएको बताए ।
उनका अनुसार यस वर्षपनि कलेजमा आएका करिब ८० जना विद्यार्थीले कोटा कम हुँदा भर्ना पाएनन् । उनले कोशी प्रदेशभरी होटल म्यानेजमेण्ट विषयको पठनपाठन हुन थालेपछि होटल म्यानेजमेण्ट सकेर बिएचएममा विद्यार्थी आउन थालेको बताए । उनका अनुसार युएन कलेजको चर्चा काठमाडौंसम्मै चर्चा समेत हुने गरेको छ । ‘काठमाडौंमा बिएचएम पढाइ हुने कलेजपछाडि युएन कलेज नै आउँछ भनेर काठमाडौंमा समेत चर्चा हुने गरेको छ, त्यसैले धरानले नै बिएचएममा विद्यार्थी रोकेको छ, अब पढ्न काठमाण्डौं धाउन बाध्य हुनुपर्ने छैन ।’

उनले यो विषय पढ्दै, कमाउँदै गर्ने विषय भएको समेत बताए । ‘बिजनेस तथा हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा राम्रो अवसरमात्रै छैन यसले आफूलाई नै केही गर्न सक्नेगरी सक्षम बनाउँछ, साथसाथै विदेशमा गएर सातौं र आठौं सेमेस्टर पूरा गर्नुपर्ने भएकाले बाहिरी ज्ञान पनि लिन सकिन्छ र पढ्दै कमाउन पनि सकिन्छ, इन्टर्नमा गएका कलेजका विद्यार्थीले राम्रो कमाइसमेत गरिरहेका छन् ।’ उनी भन्छन् ।
बिएचएमको जनशक्ति आतिथ्य सत्कार (हस्पिटालिटी) चाहिने क्षेत्रदेखि कर्पोरेट हाउसमा समेत अवसर प्राप्त गर्छन् । आफै व्यवसाय गर्न सकिने, होटेल तथा रेस्टुरेन्ट, एयरलाइन्स, उद्योग, कर्पोरेट हाउस, शिक्षण, अटोमोबाइलजस्ता क्षेत्रमा यो जनशक्तिका लागि अवसर रहेको होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठ बताउँछन् । सीप सिकेपछि जागिरको सहजताले पनि यसतर्फ विद्यार्थीको आकर्षण बढेको उनी बताउँछन् । ‘अध्ययनसँगै सीप सिकिने र सीपले रोजगारीका अवसर प्राप्त गर्न सकिने भएकाले यो विषयमा विद्यार्थीको आकर्षण बढेको हो,’ उनले थपे, ‘जागिर मात्र होइन, उद्यमशील बन्न पनि यो विषयले सघाउँछ ।
हस्पिटालिटीकै कारण नेपाली विद्यार्थीको रोजाइ विदेशमा समेत हुने गरेको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए । विदेश गएर पढ्ने मोह सँगसँगै काम गर्दै पढ्न मिल्ने र आफैं होटल सञ्चालन गरेर राम्रो कमाइ गर्न सकिने भएकाले पछिल्लो समय धेरैजसो विद्यार्थीको रोजाइमा यो कार्यक्रम परेको उनी बताउँछन् । उनले कलेजका विद्यार्थी इन्टर्नका लागि विदेशमा रहेको समेत बताए । ‘इन्टर्न गर्न यहाँका विद्यार्थी विदेशसम्म पुगेका छन्, अहिले पढ्दै, कमाउँदै गरिरहेका छन् ।’ उनले यो विषय पढ्न करिब साढे ६ लाख रुपैयाँ लाग्ने र विदेशमा इन्टर्न गर्न जाँदा उनीहरुले लगानी उठाइसक्ने जानकारी दिए ।
नेपाली विद्यार्थीको हस्पिटालिटी, काम गर्ने शैली अत्यन्तै मन पराएपछि विदेशमा समेत यहाँका विद्यार्थीले प्रगति गर्दै आएको विद्यार्थीबाटै प्रतिक्रिया आएको उनले जानकारी दिए । ‘हाम्रा विद्यार्थी इन्टर्नका लागि विदेशमा छन्, उनीहरुले समेत पढ्ने विषय त यो रहेछ भनिरहेको प्रतिक्रिया पाएका छौं ।’ उनी भन्छन् ।
‘हामी ‘लर्न एन्ड अर्न’ अर्थात् पढ्दै कमाउनुहोस् भन्ने मोडालिटीमा विश्वास राख्छौं । यसैलाई आधार मानेर पाठ्यक्रम डिजाइन गरिएको छ । र, सोही अनुरूप विषयहरू पढाइन्छ ।’ उनी थप्छन् ।
बिएचएम आठौं सेमेष्टरसम्म पठनपाठन हुने विषय हो । पछिल्लो समय बिएचएम (हस्पिटालिटी व्यवस्थापनमा स्नातक) पाठ्यक्रमप्रति विद्यार्थीको रूचि बढ्दो छ । यो पढाइ सकेपछि हस्पिटालिटी क्षेत्रमा करिअर बनाउन सजिलो हुने भएकाले आकर्षण बढिरहेको छ ।
यसको पढाइ आतिथ्य क्षेत्रका व्यवसाय तथा संगठन व्यवस्थापन र प्रशासनमा केन्द्रित छ । आतिथ्य उद्योगले होटल, रेस्टुरेन्ट, क्याफेदेखि रिसोर्ट, कार्यक्रम योजना र पर्यटन क्षेत्रलाई पनि समेट्छ । यी क्षेत्रहरूमा करिअर बनाउन आवश्यक हरेक ज्ञान र सीप प्रदान गर्ने ढंगमा बिएचएमको पाठ्यक्रम डिजाइन गरिएको छ । सोही ढंगमा सम्बन्धित विषयहरू पढाइन्छ ।
बिएचएम यस्तो पाठ्यक्रम हो जसले विश्वको जुनसुकै कुनामा गए पनि काम गर्ने बाटो खोलिदिन्छ । अहिले संसारभर होटल, रेस्टुरेन्ट तथा क्याफे र पर्यटन क्षेत्र फस्टाइरहेको समय छ । यस्तोमा बिएचएम गर्ने विद्यार्थीहरूलाई बजारमा आफूले सक्ने काम पाउन मुस्किल छैन। अन्य विषय पढेर यस क्षेत्रमा लाग्नु र बिएचएम नै पढेर लाग्नेहरूबीच निकै भिन्नता देखिन्छ। बिएचएम गरेकाको काम गर्ने शैली अन्यको तुलनामा व्यावसायिक हुन्छ ।
नेपालमा अझै पनि यस क्षेत्रमा प्रभावकारी जनशक्ति र प्रणालीको कमी महसुस हुन्छ । विद्यार्थीहरूले यसैकारण पनि आवश्यकता अनुसारको अवसर प्राप्त गर्न सकिरहेका छैनन् । विदेशमा भने बिएचएम गरेका विद्यार्थीले राम्रो गरिरहेका छन् ।