धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा स्वागत र सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । कार्यक्रममा
कक्षा–१२ विज्ञान सङ्काय टपर प्रशन्न श्रेष्ठ, कम्प्युटर साइन्स सङ्काय टपर रेसिका शर्मा, होटल म्यानेजमेण्ट सङ्काय टपर सलिना राई, म्यानेजमेण्ट टपर देवीका राईलाई हातैमा खामबन्दी नगद पुरस्कार, सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
बिहीबार धरान–१५ स्थित चुम्लुङ हीममा आयोजित कार्यक्रममा कक्षा–११ का विज्ञान, व्यवस्थापन, कम्प्युटर व्यवस्थापन तथा होटल म्यानेजमेन्ट सङ्कायमा भर्ना भएका विद्यार्थीलाई स्वागतार्थ आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो । अन्तर्राष्ट्रिय करातेमा स्वर्ण पदक विजेता प्रमोद राई, एसईई स्पीच आइडल–२०२६ की बिजेता सिम्रन गुरुङ, एसईई सिङगीङ आइडल–२०२६ की बिजेता बाबी श्रेष्ठ, एसईई डान्सिङ आइडल–२०२६ की प्रथम उपविजेता महिमा लिम्बू, तेक्वान्दोकी स्वर्ण पदक विजेता युमी राईलगायत विद्यार्थीलाई सम्मान गरिएको थियो ।
त्यस्तै, एसईई डान्सिङ आइडल–२०२६ की तेस्रो उपविजेता स्मारिका लिम्बू, स्कोन धरानद्वारा आयोजित वक्तृत्व प्रतियोगिताकी विजेता रेदिमा भुजेल तथा एसईई डान्सिङ आइडल–२०२६ को पब्लिक च्वाइस अवार्ड बिजेता रुची लिम्बूलाई समेत सम्मान गरिएको थियो ।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीएचएमको ८ औं, ३ औं र १ औं सेमेस्टरमा उत्कृष्ट हुने विद्यार्थीलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो । ८ औं सेमेस्टरमा सन्ध्या थेगिमले ३.७२ जीपीएसहित धरान टपरको स्थान हासिल गरेकी छन् । ३ औं सेमेस्टरमा अलिश राईले ३.८४ जीपीएसहित धरान प्रथम तथा १ औं सेमेस्टरमा मनोज राईले ३.७७ जीपीएसहित सुनसरी जिल्ला टपरको उपलब्धि हासिल गरेका छन् । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिमार्फत नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले धरान टपरलाई ३५ हजार, प्रदेश टपरलाई ३५ र नेपाल टपरलाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको र सोहीअनुसार कार्यान्वयन पनि गर्दै आएको बताए । उनले यसअघि नेपाल सेकेण्ड टप, कोशी प्रदेश टप र धरान टप गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरिसकिएको पनि जानकारी गराए ।
उनले कलेज पढ्ने छात्रछात्रा (विद्यार्थी) लाई एक विद्यार्थी एक ल्यापटप कार्यक्रमअन्तर्गत् निःशुल्क ल्यापटप बाँड्ने गरिएको पनि बताए । होटल म्यानेजमेण्टअन्तर्गत बिएचएम प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क ल्यापटप वितरण गर्ने गरिएको क्याम्पस प्रमुख तुम्बापोले बताए । शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उनीहरूलाई कम्प्युटर बाँडेपछि अभिभावक समेत हर्षित हुन थालेको उनले बताए । क्याम्पस प्रमुख तुम्बापोले अबको समय सूचना र प्रविधि, च्याट जिपिटि, एआई र डिपसिकको समय भएकोले ल्यापटप दिएपछि विद्यार्थीहरूलाई अध्ययन साथै अनुसन्धानमा सहयोग पुग्ने विश्वास लिइएको बताए ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले धरानको युएन, नवोदय कलेजले गुणस्तरीय शिक्षामा सक्दो जोड दिँदै आएको बताउँदै काठमाडौंकै कलेजलेभन्दा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । ‘पहिलो कुरा त हाम्रो कलेजले काठमाडौं जानै विद्यार्थी रोक्यो, यहाँका विद्यार्थी पढ्न काठमाडौं धाउनुपरेको थियो’, उनले भने, ‘युएन कलेजमै बिएचएम, होटल म्यानेजमेण्टजस्ता विषयहरूमा काठमाडौंकै कलेजभन्दा गुणस्तरीय शिक्षा प्रदान गरेको छ ।’
उनले कलेजले समग्र कोशी प्रदेशकै शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको पनि बताए । धरानलाई शैक्षिक हबका रुपमा विकास गर्न पनि भूमिका खेल्दै आएको नकार्न नसकिने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि धरान उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ध्रुवराज खड्काले युएन, नवोदयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए । ‘धरान उपमहानगरपालिकाको शिक्षा क्षेत्रमा एउटा इँटा थप्ने अर्थात् महत्वपूर्ण योगदान गर्ने काम कलेजले गरिरहेकोमा कुनै दुईमत छैन ।’ उनले भने ।
उनले त्रिभुवन विश्वविद्यालयमा लामो समय काम गरेर अनुभवले पोख्त सरहरूकै कारण कलेजले फड्को मार्न सफल भएको समेत बताए । उनले विद्यार्थी जीवनमा पढाइसँगै अनुशासन, सिर्जनशीलता र अतिरिक्त क्रियाकलापमा पनि खरो उत्रिन विद्यार्थीलाई सुझाए । ‘विद्यार्थीको सफलता केवल परीक्षाको अंकमा मात्र सीमित हुँदैन, उसले प्राप्त गर्ने ज्ञान, सीप र व्यवहारले भविष्य निर्माण गर्छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष ज्ञानेश्वर झाले अनुशासन, लगनशील विद्यार्थी, जोडबलले लाग्नुहुने अध्यापक साथै अभिभावकको पूर्ण सपोर्टले कलेजले प्रगति गरेको र विद्यार्थीले पनि प्रगति गर्दै आएको बताए । उनले कलेजले विद्यार्थीलाई पठनपाठनसँगै अनुशासन, प्रतिभा प्रष्फुटनमा पनि जोड दिएको बताए ।
कार्यक्रममा कक्षा–११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो । साथै, बीएचएमका नवआगन्तुक विद्यार्थीलाई समेत विशेष स्वागत गरिएको थियो । कार्यक्रममा होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, प्लस टु म्यानेजमेण्ट कोअर्डिनेटर नुर खान, साइन्स कोअर्डिनेटर कपिल श्रेष्ठ, एक्ज्याम कन्ट्रोलर विष्णु दाहाल, पब्लिक रिलेसन अफिसर राम लिम्बू, अध्यापक जानुका तुम्बापोलगायतले उनीहरूलाई खदा र अविरले स्वागत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायनसँगै विविध सांस्कृतिक प्रस्तुतिले भरपुर मनोरञ्जन दिलाए । एसईई सिङ्गिङ आइडलकी विजेता खिना राना मगर, बाबी श्रेष्ठलगायतका विद्यार्थीले गीत प्रस्तुत गरेका थिए भने विभिन्न कक्षाका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।







































































































































