धरानः धरानको युएन, नवोदय कलेजले कक्षा-११ मा अध्ययनरत् होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई झापाको धुलाबारीस्थित कोशी प्रदेशको एक मात्र फाइभ स्टार होटल मेची क्राउनमा अभिमुखीकरण सम्पन्न गरेको छ ।
मेची क्राउनको हलमा एक विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई होटल म्यानेजमेन्टको बारेमा जानकारी गराइएको हो । क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै कडा मेहनतका साथ अध्ययन गरी अभिभावक र कलेजको नाम राख्न आग्रह गरे । विद्यार्थीहरुलाई होटल म्यानेजमेन्टको क्षेत्रमा करियर बनाउनको लागि गन्तव्य पहिल्याउन सजिलो होस् भन्ने उद्देश्यले पाँचतारे होटलको अवलोकन गराइएको क्याम्पस प्रमुख तुम्बापोले बताए । उनले भने, ‘अवलोकन गरेपछि पाँचतारे होटल कस्तो हुँदोरहेछ, सिस्टम कसरी सञ्चालन हुँदोरहेछ भन्ने ज्ञान विद्यार्थीलाई भएको छ जसले गर्दा विद्यार्थीहरु उत्साहित भएका छन् ।’
कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झाले युएन, नवोदय हस्पिटालिटी इडष्ट्रीको पर्याय भएको समेत बताए । कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले कक्षामा पढाइएको सैद्धान्तिक कुरालाई स्टार होटलमा ल्याएर प्रत्यक्ष अवलोकन गराउँदा विद्यार्थीहरुले स्पष्ट बुझ्ने मौका मिलेको बताए ।
अवलोकन भ्रमणमा कलेजका अध्यापकहरू विष्णु दाहाल, राम लिम्बू, अनिमेष बाँस्तोला, सिर्जना लिम्बू, दिव्या झालगायतको सहभागिता थियो ।
बिएचएमका विद्यार्थी पढ्दै, कमाउँदै
कलेजका विद्यार्थी पढ्दै, कमाउँदै आएको होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले बताएका छन् ।
हङकङ, दुबई, फ्रान्स, अष्ट्रेलिया, युरोप कन्ट्रीलगायतका देशमा पुगेर उनीहरूले पढ्दै कमाउँदै गरेको उनले बताए । विशेषतः होटल म्यानेजमेन्टअन्तर्गत बिएचएम विषयको इन्टर्नमा गएका विद्यार्थीले पढ्दै राम्रो कमाइसमेत गरिरहेको उनले बताए ।
होटलमा इन्टर्न गर्दै ती दुई विद्यार्थीले मासिक एक लाख रुपैयाँ कमाउने उनको दावी छ । ‘इन्टर्नका लागि अरु विद्यार्थी वर्किङ भिाषमा जाँदा लाखौं खर्चिनुपर्ने तर त्यहाँ पुग्दा प्लेन टिकटमात्र खर्च गर्नुपर्ने भएको छ’, उनी भन्छन्, ‘त्यहाँ पुगेर उनीहरूले मासिक एक लाख रुपैयाँ कमाउन सक्छन् ।’






उनका अनुसार इन्टर्नमा जाँदा त्यहाँ विद्यार्थीले तारे होटलमा थप सीप सिक्ने, प्रमाणपत्र प्राप्त गर्ने, आफ्नो खुट्टामा आफैं उभिनसक्नेछन् । ‘विद्यार्थी इन्टर्नमा जाँदा तारे होटलमा सीप सिक्छन्, सर्टिफिकेट प्राप्त गर्छन् साथै सो होटलमा राम्रो गरेको खण्डमा पछि सोही होटलले रोजगारीको अफर समेत गर्ने गर्दछ र रोजगारको अवसर समेत दिन्छ ।’
होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले बिएचएम विषय पढ्दै, कमाउँदै गर्ने विषय भएको बताए । ‘बिजनेस तथा हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा राम्रो अवसरमात्रै छैन यसले आफूलाई नै केही गर्न सक्नेगरी सक्षम बनाउँछ, साथसाथै विदेशमा गएर बिएचएमको सेमेस्टर पूरा गर्नुपर्ने भएकाले बाहिरी ज्ञान पनि लिन सकिन्छ र पढ्दै कमाउन पनि सकिन्छ, इन्टर्नमा गएका कलेजका विद्यार्थीले राम्रो कमाइसमेत गरिरहेका छन् ।’ उनी भन्छन् ।
समयअनकूल शैक्षिक सीप पाइने भएकाले पनि पछिल्लो समय यस विषयप्रति विद्यार्थीको आकर्षण बढेको कलेजका अध्यक्ष ज्ञानेश्वर झा बताउँछन् । हस्पिटालिटीकै कारण नेपाली विद्यार्थीको रोजाइ विदेशमा समेत हुने गरेको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए । विदेश गएर पढ्ने मोह सँगसँगै काम गर्दै पढ्न मिल्ने र आफैं होटल सञ्चालन गरेर राम्रो कमाइ गर्न सकिने भएकाले पछिल्लो समय धेरैजसो विद्यार्थीको रोजाइमा यो कार्यक्रम परेको उनी बताउँछन् । उनले यो विषय पढ्न करिब साढे ६ लाख रुपैयाँ लाग्ने र विदेशमा इन्टर्न गर्न जाँदा उनीहरुले लगानी उठाइसक्ने जानकारी दिए ।








