नेपालबाट वर्षा यामको मौसम प्रणाली मनसुन बाहिरिने औसत मिति आज अक्टोबर २ तारिख हो। यद्यपि यो औसत मिति मात्र भएकाले मनसुन ठ्याक्कै यही दिन नेपालबाट बाहिरिँदैन, यसको केही दिन अघि वा पछि बाहिरिन्छ।
यसपटक भने मनसुन औसत मितिभन्दा केही दिन ढिला बाहिरिने देखिएको नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिएका छन्।
‘मनसुन बहिर्गमनसम्बन्धी बुलेटिन आजै जारी हुने सम्भावना छैन’, उनले शुक्रबार बिहान भने, ‘अब एक-दुई दिनभित्र अर्थात् थोरै दिनपछि भनौँ न, पश्चिम नेपालबाट मनसुन बाहिरिएको घोषणा गर्छौँ।’
मौसमविद्का अनुसार मनसुन एकैचोटि पूरै देशबाट बाहिरिँदैन। यो प्रणाली देशको पश्चिमी क्षेत्रबाट क्रमश: हट्दै हट्दै पूर्व कोसी प्रदेशबाट बाहिरिन्छ। मनसुन देशभरबाट पूर्ण रूपमा बाहिरिन केही दिन लाग्छ।
मौसमविद् अधिकारीका अनुसार मनसुन बाहिरिने वातावरण बन्दै गर्दा देशभर पश्चिमी वायुको प्रभाव फैलिसकेको छ।
‘अहिले देशमा मनसुनी र पश्चिमी दुवै वायुको मिश्रित प्रभाव छ’, उनले भने।
मनसुन बाहिरिएपछि भने पश्चिम वायुको प्रभाव बढ्छ र मौसम चिसो हुँदै जान्छ।
नेपालमा मनसुन भित्रिने औसत मितिचाहिँ जुन १३ तारिख हो। यस वर्ष मनसुन यो मितिभन्दा ६ दिन ढिला जुन १९ तारिख (असार ५ गते) कोसी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमश: फैलिँदै जुन ३० तारिख (असार १६ गते) सुदूरपश्चिम प्रदेशसम्म पुगेको थियो अर्थात् देशव्यापी भएको थियो।
मनसुन अवधिमा नेपालमा मनसुनी अर्थात् पूर्वी वायु चल्छ भने यसको अन्त्यपछि पश्चिमी वायुको प्रभाव बढ्छ।
मनसुन पूर्ण रूपमा अन्त्य भएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ। अनि डिसेम्बरदेखि विन्टर अर्थात् जाडो याम लाग्छ। विन्टर अर्थात् हिउँद ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ।
अनि मार्च १ देखि प्रि-मनसुन लाग्छ। प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ।
यद्यपि मनसुन नभित्रिँदासम्म प्रि-मनसुन नै रहेको मानिन्छ। मनसुन सुरु भएपछि यो सिजन अन्त्य हुन्छ।
मौसमविद्का अनुसार प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ।