-उत्तम पोखरेल
कुनै समय थियो, जब पूर्वी नेपालको पहाडी पाखोबारीमा धान र मकैबाहेक अरू केही रोप्ने कुरा गर्दा मानिसहरू हाँस्थे । त्यस्तै हाँसोको पात्र बनेका थिए खोटाङको खोटेहाङ गाउपालिकाका बल्जित राई । जब उनले २०४९ सालतिर आफ्नो खेतमा अलैँचीका बिरुवा रोपेका थिए । पहाडको पाखो बारीमा उनले अलैँची रोपेपछि गाउँलेहरू भन्थे, ‘यो बौलायो, अब झारपात रोपेर खालास् ।’
तर आज ६८ वर्षको उमेरमा बल्जित तिनै ‘झारपात’बाट सुन फलाएर (राम्रो आम्दानी बसेका छन् । यसै वर्ष उनले आफ्नो बारीबाट ६२ मन अलैँची बेचेर करिब ५७ लाख रुपैयाँ आम्दानी गरे । उनी कोशी प्रदेशकै एक सफल र प्रेरणादायी कृषकको रूपमा स्थापित भएका छन् ।
तीन दशकअघि, परम्परागत खेती प्रणाली नै सबैको रोजाइ थियो । बल्जितले अलैँचीमा भविष्य देखे । त्यो बेला अलैँची रोप्नु भनेको जोखिमपूर्ण कदम थियो । न बजारको ठेगान, न त रोगबाट बचाउने ज्ञान । तर उनले हिम्मत हारेनन् ‘शुरूमा त सबैले पागल भने नि हउ,’ उनले हाँस्दै आफ्नो विगत सम्झे, ‘तर मलाई विश्वास थियो, माटोले धोका दिँदैन ।’
उनले गाउँबाटै बिरुवा मागेर खेती शुरू गरेका थिए । शुरूका केही वर्ष संघर्षमै बिते, तर जब अलैँचीका दानाले बजारमा राम्रो मूल्य पाउन थाले, तब बल्जितको मेहनतले रङ्ग देखाउन थाल्यो । हिजो हाँस्नेहरू नै उनको सिको गर्दै अलैँची खेतीमा लागे । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका अधिकांश स्थानीय अहिले अलैँची खेतीमा नै रमाएका छन् ।
उनको सफलताले गाउँको मुहार मात्र फेरेन, कृषिप्रतिको सोचमा समेत क्रान्ति ल्याइदिएको छ । बल्जितको सफलता कुनै जादुले प्राप्त भएको भने होइन । जुन अथक मेहनत, सही व्यवस्थापन र निरन्तरताको परिणाम हो । उनी करिब ३०० रोपनी जग्गाका मालिक हुन् । जसमध्ये २०० रोपनीमा उनले अलैँची खेती विस्तार गरेका छन् । यस वर्ष ६२ मन अलैँची उत्पादन गर्न उनको करिब ३ देखि ४ लाख रुपैयाँ खर्च भएको थियो ।
‘सानो दानाको अलैँची ९२ हजार रुपैयाँ मनले बेचेँ,’ उनी भन्छन्, ‘ठूलो दानाको त भाउ अझै राम्रो थियो । सबै गरेर ५६–५७ लाख जति भयो ।’ यो चानचुने आम्दानी होइन । लाखौं खर्च गरेर विदेशिने युवाहरूका लागि बल्जितको यो सफलता एउटा सशक्त उदाहरण हो कि आफ्नै माटोमा पसिना बगाउन सके पैसा कमाउन कहीँ जानु पर्दैन ।
पछिल्ला केही वर्ष अलैँचीमा देखिएको रोगले धेरै किसानलाई निराश बनाएको थियो । बल्जितले यसको पनि समाधान आफ्नै तरिकाले निकाले । ‘यसको कुनै दवाइ–पानी छैन,’ उनी आफ्नो अनुभव सुनाउँछन्, ‘रोग लागेको बोट देख्नेवित्तिकै जरैसमेत उखेलेर जलाइदिनुपर्छ वा टाढा लगेर फ्याँकिदिनुपर्छ । यसले गर्दा रोग फैलिन पाउँदैन ।’
उनको यही साधारण तर, प्रभावकारी विधिले उनको बगानलाई रोगबाट जोगाएको छ र उत्पादनमा निरन्तरता दिएको छ । उनको अलैँचीको गुणस्तर यति राम्रो छ कि व्यापारीहरू गाडी लिएर उनको घरसम्मै किन्न आइपुग्छन् ।
बल्जितको सफलता अब उनीमा मात्र सीमित छैन । उनको प्रेरणाले आज गाउँका अधिकांश घरहरूमा अलैँची खेती हुन्छ । कोहीले १० मन फलाउँछन्, कोहीले २० मन । उनको भतिजो वडाध्यक्ष जेफर राईले पनि यस वर्ष करिब ४० मन अलैँची फलाएका छन् । ‘अब त हाम्रो गाउँ नै अलैँची गाउँ भएको छ,’ बल्जित भन्छन् ।
उनको सफलताले पहाडबाट तराई झर्ने वा विदेशिने लहरलाई समेत केही हदसम्म चुनौती दिएको छ । उनका तीन छोरामध्ये एक कोरियामा छन् भने दुईजना यतै छन् । उनी भन्छन्, ‘पहाडमा अवसर छैन भन्छन्, तर मलाई त यहीँको जीवन ठीक लाग्छ । तराईमा गएर वा विदेशमा दु:ख गर्नुभन्दा आफ्नै बारीमा मेहनत गर्दा सुख र पैसा दुवै छ ।’
उनले ६२ मन अलैँची बेचेको यो पहिलो रेकड भने होइन । लगातार तीन ४ वर्षदेखि ६२ मनकै हाराहारीमा उत्पादन गर्दै आएको उनले बताए । काममा पनि उनी आफैं खट्ने गरेका छन् ।
६८ वर्षको उमेरमा पनि उत्तिकै जोस र जाँगरका साथ बारीमा खटिरहने बल्जित राई आज एक व्यक्ति मात्र होइनन्, एक संस्था बनिसकेका छन् । उनको कथाले कृषिमा भविष्य खोज्ने हजारौं युवाहरूलाई प्रेरणा दिन्छ । उनले अलैँची मात्र होइन, आफ्नो बारीमा किवी र अन्य नगदे बाली पनि लगाएका छन् ।
विकास भएको छैन भनेर पहाडबाट तराई बसाई सर्नेहरूका लागि उनी उहाहरण बनेका छन् । ‘अहिले गाउसम्म नै बाटो बनेको छ । धेरैतिर बाटो कालोपत्रे पनि बनिसकेका छन् । पहाडतिर विकास उक्लेको उक्लै छ । तर मान्छे तराइतिर झर्दै छ । यहाँको रुखदेखि स्कुससम्म बिक्छन् । अनी मानिस किन अन्यत्र अवसर खोज्दै जान्छ मैले बुझ्न सकिनँ,’ उनी भन्छन् ।
‘झारपात’बाट शुरू भएको उनको यात्रा आज ‘सुनको खेती’सम्म आइपुगेको छ । बल्जित राइकोजस्तै सही सोच, कडा परिश्रम र आफ्नो माटोप्रति विश्वास भयो भने सफलता टाढा छैन । चाहे त्यो पहाडको पाखो नै किन नहोस् । उनलाई पालिकाले पनि उत्कृष्ट कृषक भनेर यस अगाडि नै सम्मान गरेको थियो ।