सुनसरीको धरान उपमहानगरपालिकाको अव्यवस्थित बसपार्कको समस्या समाधान हुने भएको छ। धरान–८ सुन्दर बस्ती आयोजनाअन्तर्गत निर्माण गरिएको स्मार्ट बसपार्कको निर्माण सम्पन्न भएसँगै पूर्णरूपमा सञ्चालनमा आउने भएको हो।
लामो समयदेखि बढ्दै आएको सवारीसाधनको चाप र पुरानो बसपार्कको अव्यवस्थित व्यवस्थापनले धरानमा यात्रु तथा स्थानीय दुवैलाई निरन्तर समस्या दिँदै आएको थियो। आधुनिक, सुरक्षित र व्यवस्थित बसपार्कको आवश्यकता वर्षांैंदेखि महसुस हुँदै आएकोमा अहिले बनेको स्मार्ट बसपार्कले त्यो अभाव पूरा गर्ने विश्वास गरिएको छ।
स्थानीय बासिन्दाले निःशुल्क रूपमा उपलब्ध गराएको २७ कठ्ठा जग्गामा निर्माण गरिएको यो बसपार्क आधुनिक सुविधासहित निर्माण सम्पन्न गरिएको छ। बसपार्कमा तीनतले टर्मिनल भवनमा भूमिगत पार्किङदेखि व्यावसायिक संरचना, होटल, रेस्टुरेन्ट, यात्रु प्रतीक्षालय, टिकट काउन्टर, सुरक्षा प्रणालीदेखि प्राथमिक उपचार कक्षसम्म सबै सुविधा राखिएका छन्। बेसमेन्टमा ७२ वटा दुईचक्के, ६० अटो र केही कार तथा जिप राख्न मिल्ने गरी पार्किङ छ, जबकि जमिनतलामा यात्रुसेवा र व्यवस्थापनका मूल संरचना राखिएको छ।
पहिलो तलामा सहरको आम्दानीका लागि व्यावसायिक पसल, होटल–लज कोठा, रेस्टुरेन्ट तथा कफी सप राखिएका छन्। बसपार्क क्षेत्रभित्र ३७ बस र २६ जिप एकैपटक सञ्चालनमा आउन सक्ने व्यवस्था मिलाइएको धरान उपमहानगरपालिकाका इन्जिनियर प्रकाश शर्माले बताए।
स्मार्ट बसपार्क निर्माणको ठेक्का बिकोई–गीताञ्जलि जेभीले पाएको थियो। २०७८ असार ३० मा कार्यादेश जारी भएको परियोजना ३ वर्षको अवधिमा निर्माण सम्पन्न नभएपछि ९ महिनाको म्याद थपेर निर्माण सम्पन्न भएको इन्जिनियर शर्माले बताए। ३३ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको ठेक्का सम्झौता रकम २५ करोड १५ लाख रुपैयाँ रहेको थियो। हाल निर्माणको वितीय तथा भौतिक प्रगति दुवै १०० प्रतिशत पुगेको इन्जिनियर शर्माले सुनाए। स्थानीय बासिन्दासँग गरिएको सम्झौता अनुसार बसपार्क क्षेत्रको भित्री सडक, ट्याक्सी लाइन र केही साना संरचनाको निर्माण नगरिएको स्थानीय वसन्त बजगाईले बताए। स्थानीय समुदायले जग्गा उपलब्ध गराएर गरेको महत्वपूर्ण योगदान र नगरपालिकाको पहलका कारण आयोजना सफलतापूर्वक सम्पन्न भएको हो।
स्थानीय बासिन्दले नगरपालिकाले गरेको प्रतिबद्धताअनुसारका अतिरिक्त संरचना पूरा गरी तत्काल बसपार्क सञ्चालनमा ल्याउन माग गरेका छन्। नयाँ बसपार्क निर्माणले धरानको प्रवेशद्वारलाई आधुनिक स्वरूप दिनुका साथै सहरको सौन्दर्य र क्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ। धरानको भानुचोकस्थित पुरानो बसपार्क लामो समयदेखि भिडभाड, अव्यवस्थित पार्किङ, सडक अवरोध र सरसफाइ समस्याका कारण विवादमा रहँदै आएको थियो। नयाँ बसपार्क सञ्चालनमा आएपछि पुरानो क्षेत्रमा व्यवस्थितरूपमा नयाँ योजना लागू गर्न सकिनेछ। सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले नयाँ बसपार्क तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।
नयाँ स्मार्ट बसपार्क सञ्चालनमा आएपछि खानेपानीपछि दोस्रो ठूलो समस्या मानिएको यातायात व्यवस्थापन समाधान हुने नेपाल यातायात व्यवसायी महासंघ कोशीका अध्यक्ष सरोज श्रेष्ठले बताए। धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले केही दिनमै बसपार्क औपचारिक रूपमा उद्घाटन गरी सञ्चालनमा ल्याइने बताए। बसपार्कको आवश्यक सुरक्षा परीक्षण, सरसफाइ तथा प्राविधिक चेकलिस्ट पूरा गरी सञ्चालन र व्यवस्थापन दीर्घकालीन रूपमा प्रभावकारी बनाउन निजी क्षेत्रसँग सहकार्य गरी व्यवस्थापन अधिकार हस्तान्तरण गर्ने प्रक्रियासमेत अघि बढाइएको इन्जिनियर श्रेष्ठले बताए।