उत्तम पोखरेल
कुनै समय थियो- पहाडका डाँडापाखाबाट केवल एउटै आवाज सुनिन्थ्यो, ‘पहाडमा केही छैन, यहाँ बसेर पेट पाल्न सकिन्न !’ यही निराशाको भारी बोकेर हजारौँ युवा मधेश झरे, कोही मुग्लान पसे त कोही खाडीको रापमा पसिना बेच्न बाध्य भए । गाउँहरू रित्तिँदै गए, खेतबारी बाँझिए र पहाड क्रमश: वृद्धाश्रममा परिणत हुन थाल्यो ।
तर, समयको चक्र सधैँ एउटै गतिमा घुम्दैन । पछिल्ला वर्षहरूमा नेपालको पूर्वी पहाड– धनकुटा, तेह्रथुम, संखुवासभा र इलामका डाँडापाखामा एउटा यस्तो मौन तर शक्तिशाली आर्थिक क्रान्ति सल्किरहेको छ, जसले पहाडप्रतिको पुरानो भाष्यलाई पूरै उल्ट्याइदिएको छ ।
आज ती डाँडापाखाहरूले देश र विदेशिएका युवाहरूलाई ठूलो स्वरमा भनिरहेका छन्रू ‘फर्क, पैसा खोज्न मरुभूमि धाउनु पर्दैन, पैसा त हाम्रै पहाडको माटोमा छ !’
दूध, छुर्पी, अकबरे खुर्सानी, किवी, काउली र अलैँचीको सुगन्धले भरिएका यी पहाडहरूमा अहिले करोडौँको कारोबार भइरहेको छ । बन्दुक बिसाएका लडाकुदेखि अवकाशप्राप्त सुरक्षाकर्मीसम्म, राति २ बजे उठेर गाईको गोबर सोहोर्ने जनप्रतिनिधिदेखि सामूहिक खेतीमा रमेका सिङ्गो गाउँसम्मका कथाहरूले प्रमाणित गरेका छन्– इच्छाशक्ति र पसिना हुने हो भने पहाड केवल ढुङ्गाको थुप्रो होइन, सुन फलाउने उर्वर धर्ती हो ।
गत वर्ष सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बन्यो । सामान्य काठको टेबुलमाथि नोटका बिटाहरू चाङ लगाइएका थिए र वरिपरि बसेका गाउँलेहरू खुसीले गद्गद् हुँदै ती नोट गनिरहेका थिए । धेरैलाई त्यो कुनै चलचित्रको दृश्य वा अवैध धनको प्रदर्शन जस्तो लागेको थियो । तर, त्यो त संखुवासभाको अति विकट सिलिचोङ गाउँपालिका–८, सिसुवाखोलास्थित गोगने गाउँका किसानहरूको सात वर्ष लामो साझा पसिनाको मीठो प्रतिफल थियो ।
सदरमुकाम खाँदबारीबाट गाडी र पैदल गरी पूरा एक दिनको कठिन यात्रापछि पुगिने गोगने गाउँका ४७ घरधुरीले ‘गोगने सामूहिक अलैँची बगान समूह’ बनाएर सात वर्षअघि एउटा सपना रोपेका थिए । उनीहरूले स्थानीय बुकुरचोङ सामुदायिक वनको २५ रोपनी र व्यक्तिको २५ रोपनी भाडामा लिएर कूल ५० रोपनीमा सामूहिक अलैँची खेती थाले ।
गाउँपालिकाका कर्मचारीसमेत रहेका स्थानीय अशोक कुलुङका अनुसार यो सफलता कुनै चामत्कारिक थिएन, अनुशासन र श्रमदानको जगमा उभिएको थियो । समूहका प्रत्येक घरबाट अनिवार्य श्रमदान गर्नुपर्ने र काममा नआए जरिवाना तिर्नुपर्ने कडा नियम बनाइएको थियो ।
मेहनतले रङ्ग ल्यायो । विगतमा प्रतिमन ३० देखि ४० हजार रुपैयाँमा अलैँची बेचेका उनीहरूले गत वर्ष बजारमा ऐतिहासिक मूल्य पाए । प्रतिमन ९८ हजार रुपैयाँका दरले ११५ मन अलैँची बिक्री हुँदा गाउँमा एकैपटक १ करोड १७ लाख ५३ हजार ८७५ रुपैयाँ भित्रियो । सबै खर्च कटाएर प्रत्येक घरको भागमा २ लाख २५ हजार रुपैयाँ नगद पर्यो ।
गाउँमा बैंक नभएकाले अगुवाहरूले सदरमुकामबाट नगद झिकेर ल्याई समाजको रोहवरमा त्यही काठको टेबुलमा पैसा बाँडेका थिए । स्थानीय भूपाल कुलुङ भन्छन्, ‘हाम्रो लागि त्यही टेबुल नै बैंक बन्यो ।’ गोगनेका किसानले सामुदायिक वनलाई प्रतिकिलो ५ रुपैयाँ रोयल्टी तिरेर बाँकी रकम बाँडेका हुन् ।
संखुवासभामा अलैँचीको चर्चा चुलिँदा इलामको सन्दकपुर–२ मा भने अर्कै किसिमको क्रान्ति चलिरहेको छ । २२ वर्षअघि तत्कालीन नेकपा (माओवादी)को इलाम जिल्ला सेक्रेटरीका रूपमा सशस्त्र मोर्चाको कमाण्ड सम्हालेका सीपी कडरियाको हातमा अहिले बन्दुक छैन, कृषि औजार र माटो छ । आँखामा भने आर्थिक समृद्धिको नयाँ सपना छ ।
शान्ति प्रक्रियापछि पार्टीको हेटौँडा महाधिवेशनले ‘उत्पादन र आत्मनिर्भरता’को नीति लिएपछि कडरियाले राजनीतिलाई भाषणमा मात्र सीमित राखेनन्, जमिनसँग जोडे । उनकै अगुवाइमा २०७६ सालमा ‘सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी’ दर्ता भयो, जसमा पूर्वराजनीतिकर्मी, व्यवसायी र कर्मचारीहरूको साझा लगानी छ ।
सन्दकपुरमा करिब ५ करोड रुपैयाँको लगानीमा खरिद गरिएको ३५० रोपनी जग्गामध्ये १५० रोपनीमा व्यावसायिक किवी, ३० रोपनीमा ओखर र बाँकीमा लोटसल्ला रोपिएको छ । चीनको सिन्चेन प्रान्तमा किवी खेतीले किसानको जीवनस्तर ७०० गुणा बढाएको अध्ययनबाट प्रभावित भएका कडरिया भन्छन्, ‘राजनीतिक क्रान्तिले व्यवस्था फेर्यो, तर जनताको अवस्था फेर्न आर्थिक क्रान्ति नै चाहिन्छ । वर्ग सङ्घर्षलाई अब उत्पादन सङ्घर्षसँग जोड्नुपर्छ ।’
अहिले उनको फार्मले उत्पादन दिन थालिसकेको छ । हाल बिर्तामोडका व्यापारीमार्फत प्रतिकिलो १०० देखि १५० रुपैयाँमा बिक्री भइरहेको यो किवी भविष्यमा जुस र वाइन बनाउने योजना छ । नेपाल किवी उत्पादक तथा व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष समेत रहेका कडरियाको आँखा अब भारतीय बजारमा छ ।
‘भारतमा वार्षिक ६० करोड केजी किवीको माग छ, तर त्यहाँ उत्पादन १३ करोड मात्र हुन्छ । बाँकी ४७ करोड केजीको बजार हामीले लिन सक्छौँ,’ उनी ढुक्क सुनिन्छन् । यो फार्मले स्थानीय बासिन्दालाई वार्षिक ३,५०० देखि ४,००० मानव–दिन बराबरको रोजगारी दिएर गाउँमै पैसाको प्रवाह बढाएको छ ।
पहाडमा समृद्धिको कुरा गर्दा नेताहरूले भाषण गर्ने तर काम नगर्ने आम गुनासो सुनिन्छ । तर, धनकुटा नगरपालिका–२ का वडाध्यक्ष चन्द्रलाल तामाङ यो प्रवृत्तिका लागि एउटा गतिलो अपवाद हुन् ।
बिहानको पारिलो घाम लाग्नुभन्दा धेरै अघि, रातको ठीक २ बजे चन्द्रलालको हातमा टर्च र बाल्टिन हुन्छ । उनी पदले जनप्रतिनिधि हुन् तर कर्मले एक समर्पित किसान । २४–२५ वटा उन्नत जातका गाईको स्याहार गर्नु, गोबर सोहोर्नु, घाँसपानी गर्नु र दूध दुहुनु उनको नियमित बिहानी कार्यतालिका हो । बिहान ठीक ९ बजेसम्म गोठको काम भ्याएर नुहाइधुवाइ गरी उनी जनताको सेवा गर्न वडा कार्यालयको कुर्सीमा पुग्छन् ।
चन्द्रलालको यो कृषि यात्रा आजको होइन । कुनै समय उनी धनकुटाका ‘अलैँची राजा’ थिए । ५० रोपनीमा लगाएको अलैँचीबाट प्रतिमन १ लाख २० हजारसम्म बुझेका उनी रोगको प्रकोपले सिङ्गो बगान सखाप भएपछि पनि भासिएनन् । उनले २०७४ देखि गाईपालनमा नयाँ जीवन रोजे ।
उनको आफ्नै गोठबाट दैनिक सरदर १८० लिटर दूध उत्पादन हुन्छ । त्यति मात्र होइन, उनले आफ्नै र गाउँलेको गरी दैनिक करिब ५०० लिटर दूध संकलन गरेर छुर्पी उद्योग सञ्चालन गरेका छन् । उनको उद्योगको छुर्पी सिधै काठमाडौंका ठूला पसलमा पुग्छ । दूधबाट मात्रै वार्षिक ४० लाखको कारोबार गरी महिनामा १ लाख रुपैयाँ खुद बचत गर्ने चन्द्रलालले १० रोपनीमा गाँजर र काउली लगाएर वार्षिक थप १०–१२ लाख रुपैयाँ आम्दानी गर्छन् ।
‘नागरिकलाई सित्तैमा पैसा बाँड्ने अनुदानले परजीवी बनाउँछ, तर प्रविधिले स्वाभिमानी बनाउँछ,’ भन्ने मान्यता राख्ने उनी वडाबाट किसानलाई च्याफ कटर र हाते ट्रयाक्टरजस्ता मेसिन दिन्छन् । उनका एक छोरा जापानमा छन्, अर्का पनि जाने तयारीमा छन्, तर चन्द्रलाललाई भने आफ्नै माटोको सुगन्धभन्दा प्यारो केही लागेन ।
धनकुटाकै साँगुरीगढी गाउँपालिका–५, डाँडाबजार पुग्दा पाखाबारीहरू काउली, मुला र धनियाँको हरियालीले ढपक्क ढाकिएका भेटिन्छन् । कुनै समय कोदो र मकैमा सीमित यहाँका झन्डै ४ सयभन्दा बढी घरधुरी आज व्यावसायिक तरकारी खेतीमा होमिएका छन् ।
यही भीडमा भेटिन्छन्, सशस्त्र प्रहरी बलका पूर्वहवल्दार तारावीर तामाङ । २०६३ को शान्ति सम्झौतापछि जागिर छाडेर गाउँ फर्केका उनले अहिले २० रोपनी जग्गामा तरकारीको साम्राज्य खडा गरेका छन् । १५ रोपनीमा काउली लगाएर वर्षमा ८० क्विन्टलसम्म फलाउने उनी साढे तीनदेखि साढे चार लाख रुपैयाँसम्मको कारोबार गर्छन् । ‘बन्दुक बोकेर सिमाना रक्षा गर्नुको गौरव छुट्टै थियो, तर आफ्नै माटो खनेर सुन फलाउनुको सन्तुष्टि झनै बेग्लै रहेछ,’ तारावीर मुसुक्क हाँस्दै भन्छन् ।
डाँडाबजारलाई आर्थिक रूपमा ब्युँझाउने सबैभन्दा ठूलो हतियार बन्यो- ‘सडक’ । कृषक सीता घिमिरेका अनुसार १५–२० वर्षअघि डोकोमा बोकेर भेडेटार वा धरान पुर्याउँदा तरकारी बाटोमै कुहिन्थ्यो । अहिले भेडेटार-रवि–राँके सडक विस्तार भएपछि व्यापारीका गाडी बारीमै आइपुग्छन् । यही तरकारीको आम्दानीले सीताका छोरा बेंगलुरुमा इन्जिनियरिङ सकेर काम गर्दैछन् भने छोरी धरानमा बीबीएस पढ्दैछिन् ।
यहाँको काउली धरान, विराटनगर हुँदै भारतीय बजारसम्म पुग्छ । मौसमको प्रतिकूलता र बिचौलियाको समस्या भए पनि डाँडाबजारका किसानले पाखाबारीबाटै समृद्धि बटुलिरहेका छन् ।
तेह्रथुमको लालीगुराँस नगरपालिका-९, पुरुन्दिनका नारायणप्रसाद न्यौपानेको दैनिकी पनि लोभलाग्दो छ । घरमै दुईवटा दुधालु गाई पालेका उनले दैनिक ४५ देखि ४६ लिटरसम्म दूध बेचेर मासिक ५६ हजार रुपैयाँ कमाउँछन् । आफ्नै बारीमा प्रशस्त घाँस भएकाले भुस र दानामा महिनाको १० हजार मात्र खर्च हुन्छ, बाँकी ४६ हजार रुपैयाँ बचत !
गाउँमै वैदेशिक रोजगारीबाट फर्केका चिरञ्जीवी पोखरेलले ‘पोखरेल डेरी’ सञ्चालन गरेर दैनिक ३०० लिटरभन्दा बढी दूध संकलन गरी घिउ र छुर्पी उत्पादन गर्न थालेपछि किसानलाई बजारको चिन्ता हटेको छ । सरकारी डीडीसीले महिनौँसम्म पैसा नदिने समस्या झेलिरहेका किसानलाई निजी डेरीले समयमै हातहातै भुक्तानी दिएपछि गाउँमा उत्साह थपिएको छ ।
यस्तै कथा छ तेह्रथुमकै छथर गाउँपालिका-५ का दण्ड शमशेर शाहीको । वि.सं. २०६६ मा आफ्नै घरको १३ लिटर दूधबाट छुर्पी बनाउन सुरु गरेका शाहीले व्यवसायलाई दैनिक २५ सय लिटर प्रशोधन गर्ने स्तरसम्म पुर्याएका थिए । उनले उत्पादन गरेको विशेष चिल्लोरहित छुर्पी लगातार १४ वर्षसम्म अमेरिकाका घरपालुवा कुकुरका लागि ‘डग च्यू’ का रूपमा निर्यात भयो ।
पछि लम्पी स्किन रोगको महामारी र कोरोनाका कारण बजार खस्किएपछि निर्यात रोकिन पुग्यो । तर शाही भागेनन् । अहिले उनले धरानलाई केन्द्र बनाएर दैनिक ५००-६०० लिटर दूध प्रशोधन गर्दै स्थानीय बजारका लागि खाने छुर्पी बनाइरहेका छन् । उनी अहिले पनि डेढ सयभन्दा बढी किसानलाई समयमै दूधको भुक्तानी दिएर ग्रामीण अर्थतन्त्रलाई टेवा दिइरहेका छन् ।
उता छथर–१, आङ्दिमका पाखाहरू भने अकबरे खुर्सानीको पिरो सुगन्धले बासिएका छन् । ‘आङ्दिम कृषक समूह’ मा आबद्ध ४५ जना किसानले परम्परागत मकै-कोदो छाडेर व्यावसायिक अकबरे खेती शुरू गरेका हुन् । युवा किसान तथा समूहका सचिव सुर्जन बस्नेतका अनुसार समूहले यो वर्ष ४० देखि ४५ हजार बिरुवा रोपेको छ, जसबाट २५ देखि ३० हजार किलो अकबरे उत्पादन हुने अपेक्षा छ ।
नयाँ हाइब्रिड जातभन्दा स्थानीय स्वादिलो र बाक्लो बोक्रा भएको मौलिक अकबरे जोगाएर खेती गरिरहेका यी किसानहरूले गाउँमै आर्थिक तरलता बढाएका छन् । बजारमा मूल्य उतारचढाव भए पनि अकबरेले युवाहरूलाई विदेश जानबाट रोक्ने बलियो आधार दिएको छ ।