धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजको १६ औं वार्षिकोत्सव, विदाइ तथा सम्मान कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।
धरान–१५ स्थित चुम्लुङहीममा भएको कार्यक्रममा धरान प्रथम, धरान सेकेण्ड टपर र थर्ड टपरलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा ३.८२ जीपीएका साथ बिएचएम दोस्रो सेमेष्टरमा ‘धरान टपर’ आयुष लिम्बू, ३.७७ जीपीए ल्याई ‘धरान प्रदेश सेकेण्ड टपर’ प्राप्ति लिम्बू, ३.७७ जीपीए ल्याई ‘धरान सेकेण्ड टपर’ आलसन राई, धरान थर्ड टपर’ अन्जन लिम्बूलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
त्यस्तै, बिएचम चौथो सेमेष्टरमा धरान प्रथम, धरान द्वितीय र धरान तृतीय हुने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा ३.८९ जीपीए ल्याई धरान प्रथम हुने स्मारिका श्रेष्ठलाई १० हजार नगदसहित सम्मान गरिएको थियो भने ३.८८ जीपीएका साथ धरान द्वितीय हुने सिमरन तामाङ र ३.८४ जीपीएका साथ धरान तृतीय हुने जेसिका राईलाई क्रमशः तीन हजार नगदसहित सम्मान गरिएको थियो ।
धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा, कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख, प्रिन्सिपल डम्बरकुमार तुम्वापोलगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा वेष्ट स्टुडेन्ट अफ दि इयरअन्तर्गत विज्ञान सङ्कायका प्रशन्न श्रेष्ठ, म्यानेजमेण्टका प्रतीक्षा राई, कम्प्युटर साइन्सकी ऋषिका शर्मा, होटल म्यानेजमेण्टकी सुलिना राईलाई पनि सम्मान गरिएको थियो ।
यसैबीच कलेजको कक्षा–१२, बिएचएम, बिबिएस सङकायको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई बिदाई गरिएको थियो । कलेजका म्यानेजिङ डाइरेक्टर झा, प्रिन्सिपल तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, पब्लिक रिलेसन अफिसर रामबहादुर लिम्बूलगायतले मायाको चिनो प्रदान गर्नुका साथै अविर र खदा लगाएर बिदाई गरे ।
निःशुल्क ल्यापटप वितरण
कलेज पढ्ने छात्रछात्रा (विद्यार्थी) लाई एक विद्यार्थी एक ल्यापटप कार्यक्रमअन्तर्गत् निःशुल्क बाँडिएको छ । होटल म्यानेजमेण्टअन्तर्गत बिएचएम प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क ल्यापटप वितरण गरिएको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । पब्लिक रिलेसन अफिसर रामबहादुर लिम्बूका अनुसार हालसम्म बिएचएम पढ्ने १३ जना छात्रछात्रालाई निःशुल्क ल्यापटप बाँडिएको हो । शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उनीहरूलाई कम्प्युटर बाँडेपछि अभिभावक समेत हर्षित बनेको उनले जानकारी दिए । ‘युएन, नवोदयमा प्लस टु पास गरेर बिएचएम पढ्ने सबै विद्यार्थीहरूले अबदेखि निःशुल्क ब्रान्डेड ल्यापटप प्राप्त गर्नेछन्’, उनले भने, ‘तर युएन, नवोदय कलेज नै अध्ययन गरेको विद्यार्थी भने हुनुपर्छ ।’
क्याम्पस प्रमुख तुम्बापोले अबको समय सूचना र प्रविधि, च्याट जिपिटि, एआई र डिपसिकको समय भएकोले ल्यापटप दिएपछि विद्यार्थीहरूलाई अध्ययन साथै अनुसन्धानमा सहयोग पुग्ने विश्वास लिइएको बताए ।
कलेजले अभिभावकको मन जित्योः कार्यवाहक मेयर बेघा
धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले युएन, नवोदय कलेजले शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरिरहेको बताएका छन् । कार्यक्रममा बोल्दै उनले कलेजले गफ वा हल्लाले नभई व्यवहारतः गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । ‘गुणस्तरीय शिक्षा विशेषतः व्यवहारमै प्रयोग गरेर यो कलेजले देखाएको छ’, उनले भने, ‘यसकारण कलेजले अभिभावकको मन जितेको मैले पाएँ ।’
कार्यवाहक मेयर बेघाले विद्यार्थीको लागि पढौं, पढौं लाग्ने वातावरण कलेजले गराइदिएको हुनाले कलेजले उचाईं प्राप्त गरेको बताए । उनले सबै कलेजले यसरी नै उत्कृष्ट नतिजा हासिल गर्दै जाने हो भने धरान शैक्षिक हबको रुपमा विकास हुने समेत बताए ।
कलेजका निर्देशक झाले युएन, नवोदय कलेजले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको साथै उत्पादनमुखी कार्यमा जोड दिएकाले अभिभावक समेत सन्तुष्ट रहँदै आएको बताए ।
सामाजिक काम साथै विद्यार्थीलाई हौसला दिन नगदसहित सम्मानः क्याम्पस प्रमुख तुम्बापो
कार्यक्रममा बोल्दै कलेजका क्याम्पस प्रमुख तुम्बापोले धरानको शैक्षिक जगतमा अहिले एकखाले विकृति भित्रिएको बताए । उनले धरानमा केही कलेजले परीक्षा सेन्टर किनेर कक्षा–१२ मा १०० प्रतिशत पास गराउँछु भनेर विद्यार्थीलाई लोभ, लालच देखाइरहेको बताए । उनले कक्षा–१२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने हुनाले कक्षा–१२ मा १०० प्रतिशत विद्यार्थी पास नहुने उनको दावी थियो । ‘नतिजाकै हिसाबले हेर्ने हो भनेपनि देशभरका कलेजमा कसैले पनि १०० प्रतिशत नतिजा निकालेको पाइएको छैन ।’ उनको भनाइ छ । यस्ता गतिविधिले सोझासिधा अभिभावक र विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको बताउँदै यस्ता विज्ञापनको पछि नलाग्न उनल आग्रह समेत गरे ।
मास्टर डिग्री सकेर शैक्षिक क्षेत्रमा लागेको १६ वर्षसम्मको अवधिमा विद्यार्थीलाई हौसला दिन वर्षेनी प्रदेश टप, धरान टप हुने विद्यार्थीलाई नगदसहित सम्मान गर्दै आएको उनले बताए । यसअघि विद्यार्थीले नेपाल सेकेण्ड टप समेत भएको बताउँदै अहिले आफूहरुले नेपाल टप गर्ने विद्यार्थीको खोजीमा लागेको बताए । ‘हामी अहिले पनि नेपाल टप गर्ने विद्यार्थीको खोजीमा छौं’, उनले थपे, ‘नेपाल टप गर्ने विद्यार्थीलाई हामीले ५० हजार नगद पुरस्कारले सम्मान गर्ने घोषणा गरिसकेका छौं ।’ उनले कलेजले सामाजिक काम पनि गर्दै आएको बताए ।
उनले कलेजले अबदेखि छात्रछात्रा (विद्यार्थी) लाई एक विद्यार्थी एक ल्यापटप निःशुल्क बाँड्न थालेको समेत बताए । प्लस २ पढ्ने विद्यार्थीहरूले अबदेखि निःशुल्क ‘ब्रान्डेड’ ल्यापटप प्राप्त गर्ने उनले बताए । उनले कलेजका विद्यार्थी अहिले देशविदेशसम्म रोजगारी गरिरहेकोमा खुशी लागेको समेत बताए ।
उनले कलेजले पठनपाठन, विद्यार्थीको व्यक्तित्व विकासका लागि विविध अतिरिक्त क्रियाकलापहरुमा पनि सक्दो जोड दिइरहेको समेत बताए ।
कार्यक्रममा विद्यार्थीले आकर्षक नृत्य, गायनकला प्रस्तुत गरेर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य होटल म्यानेजमेन्ट र बिएचएम कोअर्डिनेटर गगनमान श्रेष्ठले व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कलेजकै विद्यार्थी निशान विश्वकर्मा, सिकुम लिम्बू, विनिता विश्वकर्मा र विवश मगरले गरेका थिए ।












































































