धरानः
निजी विद्यालयले विद्यालय खोल्न माध्यमिक तहमा १० लाख र आधारभूत तहमा ५ लाख धरौटी राख्नुपर्ने भएको छ ।
यसअघि माध्यमिक विद्यालयको धरौटी दुई लाख रुपैयाँ थियो । बिहीबार सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१० औं संशोधन) मा धरौटी रकम बढाएको हो । अब सामुदायिक विद्यालयमा भने धरौटी रकम राख्नुपर्ने छैन । यसअघि सामुदायिक विद्यालयको माध्यमिक तह खोल्न १ लाख रुपैयाँ धरौटी राख्नुपर्ने थियो ।
प्रधानाध्यापक नियुक्तिको लागि आधारभूत तहको हकमा स्नातक र माध्यमिक तहको हकमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने भएको छ ।
बिहीबार सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१० औं संशोधन) मा प्रधानाध्यापक नियुक्तिको लागि स्थानीय तहले सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरुमध्येबाट दरखास्त आह्वान गर्नेछ ।
साथै, शिक्षाशास्त्र विषयमा स्नातक तह वा सो सरहको परीक्षा उतीर्ण गरी पाँच वर्ष स्थायी सेवा गरेको शिक्षक माध्यमिक तहको प्रधानाध्यापक पदमा र शिक्षाशास्त्र विषयमा प्रमाणपत्र तह वा सो सरह उतीर्ण गरी पाँच वर्ष स्थायी सेवा गरेको शिक्षक आधारभुत तहको प्रधानाध्यापकको पदमा उम्मेदवार हुन पाउने प्रावधान राखिएको छ ।
सम्बन्धित विद्यालयको सम्बन्धित तहमा स्थायी शिक्षक कार्यरत नरहेमा स्थानीय तह भित्रको जुनसुकै विद्यालय र स्थानीय तहभित्रको सम्बन्धित तहमा समेत स्थायी शिक्षक कार्यरत नरहेमा जिल्लाभित्रको जुनसुकै विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुबाट दरखास्त आह्वान गर्न सकिने छ ।
विद्यालय विकास प्रस्तावमा लेखिएका सूचकहरू समयबद्ध रूपमा पूरा गर्ने कार्यसम्पादन करार गरी स्थानीय तहले सात दिनभित्र सम्बन्धित उम्मेदवारलाई प्रधानाध्यापक पदमा नियुक्ति गर्ने प्रावधान राखिएको छ ।
प्रधानाध्यापकले आफूले गरेको कार्यदक्षता करार बमोजिम काम नगरेमा, कार्य सन्तोषजनक नभएमा, आचरण खराब रहेको कुरा स्थानीय तहको शिक्षा सम्बन्धी विषय हेर्ने शाखा प्रमुख वा तोकेको अधिकृतले दिएको प्रतिवेदन र व्यवस्थापन समितिको सिफारिसबाट देखिएमा स्थानीय तह प्रमुखले प्रधानाध्यापकको पदबाट जहिलेसुकै हटाउन सक्नेछ ।
माध्यमिक विद्यालयको प्रधानाध्यापकको भत्ता बढाइएर ३ हजार बनाइएको छ । यसअघि पाँच सय थियो ।
आधारभूत तह (कक्षा छदेखि कक्षा आठसम्म) को प्रधानाध्यापकको भत्ता २ हजार बनाइएको छ । यसअघि तीन सय थियो ।
आधारभूत तह (कक्षा एकदेखि कक्षा पाँचसम्म) को प्रधानाध्यापकको भत्ता १ हजार बनाइएको छ । यसअघि दुई सय थियो ।