-सुजाता लिम्बू
घर, परिवार एवं आफन्तजस्ता शब्दहरुले आम मानिसलाई सुरक्षा, माया र भरोसाको अनुभूति हुन्छ ।
तर, पछिल्लो समय यस्ता शब्दले आफ्नो मर्म नै गुमाइरहेको अनुभूति हुन थालेको छ । घरहरु हिंसा र खतराको अखडा बन्न थालेका छन् । कतिपय अवस्थामा आफन्त नै काल बनिदिन्छन् । पारिवारिक विवाद, सम्पत्तिको झगडा, यौन हिंसा, मानसिक असन्तुलन र रिसईबीजस्ता कारणले आफन्तको हातबाट घरभित्रै ज्यान गुमाउनुपर्ने शृङ्खलाबद्ध अपराध कोशी प्रदेशमा बढ्न थालेको छ ।
आफन्तकै हातबाट हत्या हुने घटनाहरू पछिल्लो समय डरलाग्दो रूपमा बढ्दै गएका छन् । आत्मीयता, भरोसा र सुरक्षाको पर्याय मानिने कतिपय ‘घर’हरु हिंसा र ज्यानमारा घटना हुने अपराधिकस्थल जस्तै बन्न थालेको बुझाइ अनुसन्धान अधिकारीहरुको छ । उनीहरुका अनुसार पछिल्ला घटनाहरुबाट मानवीय सम्बन्धमा बढ्दो असन्तुलनले समाजलाई कता पुर्याउँदैछ भन्ने प्रश्न उठ्न थालेको छ ।
अधिकारीहरुका अनुसार पारिवारिक सम्बन्ध सधैं माया, सुरक्षा र विश्वासको पर्याय मानिन्छ । घरभित्रका आत्मीय सम्बन्धले जीवनलाई आत्मिक बनाउँछ भन्ने सामाजिक मान्यता छ । तर, पछिल्लो समय घरभित्रै र आफन्तकै हातबाट हत्या हुने क्रमले यी मान्यतालाई ओझेलमा पारेको भान हुन थालेको छ ।
जीवनभर सघाउने अपेक्षा गरिने आफन्तले नै प्राण हरण गर्न थालेपछि पारिवारिक संरचना संकटमा पर्न थालेको भनेर समाजशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । कोशी प्रदेशमा मात्रै पछिल्लो ३ आर्थिक वर्ष (चालु वर्षको जेठसम्म)मा कर्तव्य ज्यान सम्बन्धी २ सय ४६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये १ सय ३६ घटनामा आफन्तकै संलग्नता देखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार ५५ प्रतिशत बढी हत्या घरभित्रै र आफन्तबाटै भएको छ । प्रहरीको तथ्यांकले पनि हिंसा र अपराधको स्रोत घरभित्रै उत्पन्न भइरहेको प्रष्ट हुन्छ । घरभित्रै हुने अपराध बारम्बार दोहोरिनुले समाज र पारिवारिक सम्बन्ध खस्कँदै गइरहेको संकेत गर्छ ।
घटना–१
२०७८ चैत २८ गते उदयपुरको कटारी नगरपालिका–५ सिसाघारीमा ४२ वर्षीय पोष्टराज दाहालले आफ्नी पत्नी ३८ वर्षीया नानुमाया दाहालको हत्या गरे । चिर्पट प्रहार गरेर उनले पत्नीको हत्या गरेका थिए ।
सामान्य भनाभनबाट सुरु भएको झगडाले यति हिंसात्मक रूप लिन्छ भन्ने कसैले कल्पनासमेत गरेको थिएन । घटना भएको राति नै पोष्टराजलाई प्रहरीले नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा चलायो ।
घटना–२
२०८२ वैशाख २ गते संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको हत्या भयो । आफ्नै बुहारी र नातिनी तथा २ जना किशोर मिलेर उनको हत्या गरेको संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले बताए । उनका अनुसार योजना बनाएरै वृद्धको हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको छ ।
घरभित्रकै पुरानो रिसईबी, मनमुटाव र पारिवारिक तनावले घटनालाई हिंसात्मक मोडमा पुर्याएको प्रहरीको निष्कर्ष छ । यद्यपि, मृतक वृद्ध आफैं अपराधिक पृष्ठभूमिका व्यक्ति थिए ।
घटना–३
भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ मा आइतबार बिहानका राति एकै परिवारका ४ जनाको हत्या भयो । ३० वर्षीय राजेन्द्र राईले छुरा प्रहार गरेर ससुरा, सासू, पत्नी र सालोको हत्या गरेको भोजपुर प्रहरीका निमित्त प्रमुख, इन्स्पेक्टर दीपक श्रेष्ठले बताए ।
उनका अनुसार हत्यापछि राजेन्द्र आफैंले प्रहरीलाई फोन गरी घटनाको जानकारी दिएका थिए । उनले पत्नी १६ वर्षीया मनिषा गिरी, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उल्लेखित घटनाहरुलाई संयोगवश भएको वा अपवादका रूपमा बुझ्न नमिल्ने तर्क अधिकारीहरुको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार २०७९–०८० मा ८३ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएकोमा ४५ वटा घटनाका प्रतिवादी आफन्त र परिवारभित्रै थिए ।
२०८०–०८१ मा हत्यासँग सम्बन्धित ७२ वटा मुद्दा दर्ता हुँदा ५१ वटामा आफन्त नै संलग्न रहेको अनुसन्धानबाट पत्ता लाग्यो । चालु आर्थिक वर्षको जेठसम्ममा कर्तव्य ज्यानसँग सम्बन्धित ९१ वटा मुद्दा दर्ता भइसकेका छन् । तीमध्ये ४० वटामा आफन्त एवं परिवार भित्रकैलाई प्रतिवादी बनाइएको छ ।
प्रहरीका अनुसार यस्ता घटनाहरूको मूल कारण घरभित्रको विवाद, सम्पत्ति सम्बन्धी झगडा, यौन दुव्र्यवहार, घरेलु हिंसा, नसाजन्य वस्तुको सेवन, आवेग, पुरानो रिसईबी, सम्बन्धविच्छेदपछि उत्पन्न तनाव र मनोवैज्ञानिक असन्तुलन हुन् । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की पछिल्ला वर्षहरुमा आफन्तबाट हुने हत्या प्रायः सम्पत्ति, लेनदेन, यौन दुव्र्यवहार, बलात्कार, आपसी असमझदारी र दण्डहीनताको वातावरणसँग जोडिएको बताउँछन् ।
‘सम्बन्धहरू जतिसुकै घनिष्ठ भए पनि विश्वास टुटेपछि क्रुर हत्यामा परिणत हुने गरेको पाइन्छ,’ उनले भने, ‘अधिकांश हत्या चिनजानका, अत्यन्तै नजिकका र परिवार भित्रबाटै भएका छन् ।’ कार्कीले परिवारका सदस्य र आफन्तबाटै हत्या हुने क्रम बढ्दै जाँदा हाम्रो समाजको मूल्य, मान्यता, संस्कार र संस्कृति कता जाँदैछ भन्ने गम्भीर प्रश्न खडा भएको बताए ।
उनका अनुसार समाजमा नैतिकताको कमी, आत्मअनुशासन र आत्मनिर्णयको अभावले यस्ता हिंसात्मक घटना बढ्दै गइरहेको छ । ‘पहिले धर्म र संस्कारले माया एवं सद्भावको शिक्षा दिन्थ्यो । अहिले त्यो नैतिक शिक्षा कमजोर बन्दै गएको छ । समाजमा अनुशासनको अभाव देखिएको छ,’ कार्कीले भने ।
समाजमा नैतिक शिक्षा र परिपक्वता कमजोर हुँदै जाँदा सामाजिक संरचना, पारिवारिक सहमति तथा परामर्शको संस्कार हराउँदै गएर हिंसात्मक अपराधमा परिणत हुने गरेको उनको भनाइ छ । कार्कीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम, महिला तथा बालबालिका इकाई लगायतमार्फत अपराधविरुद्ध जनचेतना फैलाउने काम भइरहेको बताए ।
प्रहरीको अनुसन्धानबाट पति–पत्नीबीचको विवाद, विवाहको असहमति, वित्तीय समस्या र पारिवारिक अधिकार (सम्पत्ति भागबण्डा)को द्वन्द्व, आफन्तबीचको मनमुटाव, टकरावलगायत अनेक विवाद हत्याको प्रमुख कारण देखिएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रम तीव्र पारिए पनि समाजमा नैतिक बल र साझा जिम्मेवारीको भावना बलियो नभएसम्म यस्ता घटना न्यूनीकरण चुनौतीपूर्ण बन्ने अनुसन्धान अधिकारीहरु बताउँछन् ।
उनीहरुका अनुसार समाजमा विश्वास र समझदारीको वातावरण कायम नभएसम्म यस्ता अपराध बारम्बार दोहोरिन्छन् । कतिपय घटना आकस्मिक रूपमा भएको देखिन्छ । कतिपय लामो समयदेखिको रिसईबी, कटुता र योजनाबद्ध हिसाबले हुने गरेको प्रहरीले जनाएको छ ।
यस्ता घटनाको पृष्ठभूमि हेर्दा पहिले कुनै मानसिक उपचार नलिएको, घरभित्रको समस्या साझा नगरेको र तनाव व्यवस्थापन गर्न नसकेको स्थिति देखिन्छ । मानसिक स्वास्थ्यका दृष्टिले हेर्दा पनि स्थिति गम्भीर छ । मनोचिकित्सक डा. प्रभात चालिसेका अनुसार हिंसा गर्नेहरूमध्ये केवल ५ प्रतिशतमा मात्र गम्भीर मानसिक रोग भेटिन्छ । बाँकीमा सामाजिक असमझदारी, आत्मनियन्त्रणको अभाव र वातावरणीय कारण रहेको उनको भनाइ छ ।
डा. चालिसेका अनुसार ‘एण्टी–सोसल पर्सनालिटी डिसअर्डर’ भएका, सहानुभूति कमजोर भएका र अत्यधिक आवेगमा बाँच्ने मानिसहरूमा हिंसात्मक व्यवहार देखिन सक्छ । प्रेम अस्वीकार, सामाजिक सञ्जालको दुरुपयोग, अपमानजन्य अवस्था वा लामो समयको अवहेलनाले पनि यस्ता व्यक्ति हिंसातर्फ धकेलिन सक्ने उनको भनाइ छ ।
समाजशास्त्री डा. चन्द्र उपाध्याय हाम्रो समाजमा अझै पनि पुरुषप्रधान सोच हाबी रहेको बताउँछन् । ‘पुरुषले महिलामाथि नियन्त्रण गर्नुपर्ने, आफन्तलाई निर्देशन दिनुपर्ने र आफूलाई शक्तिशाली देखाउने मानसिकता अझै नहट्दा समाज र परिवारमा अपराध बढेको छ,’ उनले भने, ‘यस्तो सोचले परिवारभित्रको सम्बन्धमा विष मिसिन्छ र अन्ततः विश्वासको टुटफुट एवं हिंसामा परिणत हुन्छ ।’
संवादको अभाव हुने घरभित्र सानो कुरा पनि ठूलो भएर लामो समयसम्म रहँदा त्यसले पछि विस्फोट भएर अपराधको रूप लिने उपाध्यायको भनाइ छ । उनका अनुसार पारिवारिक हिंसा रोक्नका लागि पहिलो कदम घरभित्रकै सम्बन्धलाई पुनर्स्थापना गर्नु हो । ‘विश्वास, संवाद र भावनात्मक सहकार्यको वातावरण बसाल्न सकिएन भने कुनै कानुनले मात्र हिंसा रोकिन्न,’ उनले थपे ।
अधिवक्ता विनोदकुमार तिमल्सिना आमनागरिकको चेतनामा परिवर्तन ल्याउन सके मात्रै अपराधिक मनोवृत्तिको रोकथाम सम्भव हुने बताउँछन् । ‘यो राज्यको नीतिसँग सम्बन्धित हुन्छ । प्रचलित कानुनका विषय प्रत्येक नागरिकसम्म पुर्याउने दायित्व राज्यले निर्वाह गर्नुपर्छ । राज्यले नागरिकलाई कानुनका बारेमा जानकारी नै दिँदैन भने त्यसबाट उत्पन्न हुने परिणाम पनि जानकारी नहुन सक्छ,’ उनले भने ।
उच्च अदालत विराटनगर बार एसोसिएसनका सचिवसमेत रहेका तिमल्सिना आर्थिक अवस्था र पारिवारिक मनमुटाव अपराधको प्रमुख कारण रहेको बताउँछन् । नागरिकको चेतना र आर्थिकस्तर उकास्न सके मात्रै परम्परागत अपराध न्यूनीकरणमा मद्धत पुग्ने उनको भनाइ छ । यसमा समाजको पनि उत्तिकै भूमिका हुने उनले बताए ।
कुनै व्यक्तिलाई अपराधिक वातावरणमा संलग्न नहुनका लागि समाजले पनि घुलमिल, छलफल एवं निर्णय प्रक्रियामा सहभागी गराउने तथा सामाजिक उत्तरदायित्वको विषयमा चेतना जगाउने काम गर्नुपर्ने सुझाव अधिवक्ता तिमल्सिनाको छ । ‘परिवारभित्र बढ्दो हत्या न्यूनीकरण र समस्या समाधानका लागि शिक्षा, चेतना, परामर्श, उपचार र कानुनी कठोरताको संयोजन गर्नुपर्छ,’ उनले भने । विद्यालय तहमै आत्मनियन्त्रण, सहिष्णुता, सहानुभूति र संवादको शिक्षा दिनुपर्नेमा उनको जोड छ ।
साथै, मानसिक स्वास्थ्यका लागि निःशुल्क परामर्श सुविधा, घरेलु हिंसाका घटनामा पीडितको तत्काल सुरक्षाको व्यवस्था, हिंसा पीडितका लागि पुनस्र्थापना केन्द्र र परिवारमै सहजीकरण गर्न सक्ने परामर्शदाताको भूमिका राज्यले निर्वाह गर्नुपर्ने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार हत्याजस्ता अपराधलाई व्यक्तिगत दुर्भाग्य भनेर पन्छाउन मिल्दैन ।
सरकार र समुदाय मिलेर आत्मबल, संवाद र न्यायको संस्कृति बलियो बनाउनुपर्नेमा उनीहरुको जोड छ । उनीहरुले घरभित्र शान्ति र सुरक्षा फर्काउने अभियान चलाएर त्यसलाई प्रभावकारी बनाउन सके मात्रै आफन्त फेरि भरोसाको पर्याय एवं घर ममताको आश्रयस्थल बन्न सक्ने बताए ।