धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु बनाउन माग गर्दै पत्र लेखे।
स्वास्थ्य बिमा बोर्डले साउन १ गतेदेखि प्रतिष्ठानलाई रिफरल अस्पताल बनाउने निर्णय गरेपछि मेयर राईले स्वास्थ्य बिमा बोर्डलाई पत्र लेख्दै प्रतिष्ठानलाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु बनाउन माग गरेका हुन्। पत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सम्पूर्ण धरानका जनतालाई बिमा सेवाबाट वञ्चित नगर्न उनले अनुरोध गरेका छन्।
मेयर राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिमा सेवा बन्द भयो भने परिणाम राम्रो हुने छैन। हाम्ले चेतावनी मात्र दिँदैछौँ अहिले, धरानेलाई नहेप है फेरि थाम्न सक्दैनौ।’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रथम सेवा विन्दु हटेपछि स्थानीयले पनि आन्दोलन गरेका छन्।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि प्रथम सेवा विन्दु हटाएपछि स्थानीयहरुले विरोध जनाएका छन्।
त्यस्तै, काभ्रेको धुलिखेल अस्पताललाई प्रथम सेवा विन्दु बनाएर उपचार गराइरहेकाहरु पनि क्रुद्ध छन्। यो अस्पताललाई सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र भक्तपुरका २ लाख ५३ हजार ६८८ बिमितले धुलिखेल अस्पताललाई प्रथम सेवाविन्दु राखेर उपचार गराउने गरेका थिए।
वीर अस्पतालबाट पनि प्रथम सेवा विन्दु हटेपछि सेवा लिइरहेका २ हजार बिमितलाई समस्या भएको छ। वीरलाई प्रथम सेवा विन्दु बनाएर २ हजारभन्दा बढी व्यक्तिले सेवा लिइरहेका छन्।
स्वास्थ्य बिमा बोर्डले साउन १ गतेदेखि लागू हुने गरी स्थानीय तहमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल र जिल्ला अस्पतालाई मात्र प्रथम सेवा विन्दु तोकेको छ। यसले गर्दा धरान, धुलिखेल, वीर, टिचिङ, पाटन जस्ता ठूला सरकारी अस्पताललाई प्रथम सेवा विन्दु मानेर सेवा लिइरहेका बिरामीलाई भने समस्या हुने देखिएको छ।
स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्न भन्दै बिमा बोर्डले स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका अस्पताल र धुलिखेल अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएको हो।
स्वास्थ्य बिमा ऐन, २०७४ को दोस्रो संशोधन तथा नियमावली, २०७५ को प्रथम संशोधनले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र सीमित रहने व्यवस्था छ। बोर्डले नियमावली बनेको ७ वर्षपछि यसको कार्यान्वयन गराउन थालेको हो।
स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी विकास मल्ल स्थानीय तहलाई स्वास्थ्य बिमाप्रति जिम्मेवार बनाउन प्रथम सेवा विन्दु परिवर्तन गरेको बताउँछन्।
‘देशभरका ३५६ वटा स्थानीय तहका ३७७ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोेकेका छौँ,’ उनले भने ‘स्थानीय तहलाई बिमा कार्यक्रममा जिम्मेवार बनाउन खोजिएको हो।’
उनले ठूला अस्पतालमा बिरामीको चाप कम गराउन यो कदम चालिएको दाबी गरे।
‘ठूला विशिष्टीकृत अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु तोकिँदा अस्पतालमा बिरामीको चाप पनि बढ्दै गयो, उपचारमा आएका अन्य बिरामीको लाइन लाग्न थाल्यो। त्यसैले यसलाई व्यवस्थित गर्न हामीले प्रथम सेवा विन्दुको छुट्टै विवरण र रेफरल अस्पतालको छुट्टै विवरण सार्वजनिक गरेका हौँ।’
सूचना अधिकारी मल्लले साउन १ गतेदेखि प्रथम सेवा विन्दुमा उपचार सेवा नभए ९८ वटा अस्पतालमा रिफरल गर्न सकिने व्यवस्था लागू गर्ने बताए।
‘सुरुमा तोकिएको अस्पताल उपचार हुन्छ, सो अस्पतालमा सो सेवा नभए चिकित्सकले तोकिएको रिफरल अस्पतालमा बिरामीलाई पठाउन सक्ने छन्।’
बिमाको प्रथम सेवा विन्दुबारे जानकारी गराउन स्थानीय तहलाई बोर्डको आग्रह
बिमितहरूलाई समस्या हुने गुनासो आएपछि बोर्डले प्रथम सेवा विन्दु थप गर्न चाहने स्थानीय तहलाई अस्पतालको विवरण पठाउन भनेको छ।
स्वास्थ्य बिमा बोर्डले प्रथम सेवा विन्दु र रिफरल गरी बिमाका लागि ४७५ वटा अस्पताल तोकेको छ। जसका ३७७ वटा प्रथम विन्दुका स्वास्थ्य केन्द्र र ९८ वटा रिफरल अस्पताल छन्।
३९७ वटा स्थानीय तहका अस्पतालमा भने प्रथम सेवा विन्दु छैनन्।
स्वास्थ्य बिमा ऐन, २०७४ (प्रथम संशोधन, २०८२) को दफा ९ को उपदफा (६)बमोजिम प्रथम सेवा विन्दु प्रयोजनका लागि प्रत्येक स्थानीय तहमा कम्पनीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने व्यवस्था छ।
‘सोही व्यवस्था बमोजिम स्थानीय तह अन्तर्गतका कुन–कुन सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु आवश्यक पर्ने हो र प्रथम सेवा विन्दुमा लागि अपुग भएका मापदण्ड कति समयमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा बिमा बोर्डलाई जानकारी गराउन हुन निर्णयअनुसार अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख गरिएको छ।
बिमा क्षेत्रमा पुनर्विचार गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनर्विचार गरिने बताएका छन्। त्रिवि शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा दुरुपयोग हुने गरेको पाइएको भन्दै औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने उल्लेख गरे।
‘स्वास्थ्य बिमाको सम्बन्धमा केही थपघट गर्ने, पुनर्विचार गर्ने आवश्यकता छ, यसमा गर्दैछौँ,’ ओलीले भने, ‘नत्र भने कतिपय ठाउँहरुमा छलछाम हुने गरेको छ। त्यसलाई हामीले रोक्नुपर्ने छ।’
८ रोगमा २ लाखसम्म सेवा विस्तार
७ जनाको परिवारले ३५ सय तिरे वार्षिक १ लाखसम्मको बिमा सुविधा दिइरहेको बोर्डले ठूला ८ प्रकारका रोग लागेका बिरामीमा बिमा सुविधा थप गरेको छ।
सरकारले साउन १ गतेदेखि लागू हुने गरी क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सनिजम र अल्जाइमर्सका बिरामीलाई २ लाखसम्मको सेवा थप गरेको छ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्ने बताएका थिए।
बिमा बोर्डका अधिकारीका अनुसार बिरामी वा परिवारले अतिरिक्त प्रिमियम तिर्नु नपर्ने गरी सुविधा थप्न लागिएको हो।