जेन–जी आन्दोलनपछि सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री बन्ने आकांक्षा राख्दै काठमाडौं आएपनि धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्क साम्पाङ सफल भएनन् । त्यसपछि उनले आफ्नै पार्टी स्थापना गरेरै सरकारमा पुग्ने अठोट लिए । उनले कार्तिक २ गते निर्वाचन आयोगमा श्रम संस्कृति पार्टी दर्ता पनि गरे । त्यसको चार महिनामै श्रम संस्कृति पार्टी चुनावी प्रतिस्पर्धामा उत्रियो ।
१ सय ६५ मध्ये १ सय ९ क्षेत्रमा उम्मेदवार उठाको पार्टीले प्रत्यक्षतर्फ तीन क्षेत्रमा मात्र विजय हासिल गर्यो । यसमा सुनसरी–१ बाट हर्क साम्पाङ, खोटाङबाट आरेन राई र भोजपुरबाट ध्रुवराज राई छन् । तर समानुपातिकतर्फ भने पार्टीले ३ लाख ८५ हजार ९०२ मत ल्याउँदै चार सांसद सदनमा पठाउने अवसर पायो । यसमा आदिवासी जनजातितर्फ पूर्णप्रसाद लिम्बु, खस आर्यतर्फ अम्बिकादेवी संग्रौला, दलिततर्फ राधिका रम्तेल र मधेसीतर्फ रुवी कुमारी ठाकुर चयन भएका छन् ।
समानुपातिक प्रणालीको मूल उद्देश्य महिला, दलित र जनजातिलगायत पिछडिएका क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नु भएपनि अन्य दलहरूले प्रायः स्थापित, प्रभावशाली वा आर्थिक रूपमा सबल व्यक्तिलाई प्राथमिकता दिने प्रवृत्ति यस पटक पनि देखिएको छ । तर, भुँइमान्छे र साँच्चिकै पिछडिएको समुदाय समेट्दै समानुपातिक सांसदहरु छानेपछि हर्क र उनको पार्टीले प्रसंशा पाइरहेका छन् ।
तीनै सांसदमध्ये कर्णालीको सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–४ बस्ने राधिका रम्तेल पनि एक हुन् । सुर्खेतको बाबियाचौर, चतुरे चोकमा २०३९ सालमा जन्मिएकी उनले १७ वर्षको कलिलो उमेरमै विवाह गरिन् । एसएलसीसम्म अध्ययन गरेकी उनले विवाहपछि अध्ययनलाई निरन्तरता दिन सकिनन् । सात सन्तानमध्येकी माइली छोरी रम्तेलका एक दाजु, एक भाई, पाँच दिदीबहिनी छन् । बुबा दैलेखको नारायण नगरपालिकाबाट सुर्खेतको पञ्चपुरी नगरपालिकामा बसाइँ सरेका थिए ।
‘म कर्णालीमा जन्मिएकी महिला, त्यसमाथि दलित । विवाह भएपछि जिम्मेवारीको बन्धनमा परेँ पढ्ने अवस्था बनेन,’ उनले भनिन् । उनका अनुसार कर्णालीका महिला अझै पनि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवाबाट वञ्चित छन् । आर्थिक जटिलताका कारण यस्ता अवसरमा उनीहरूको पहुँच छैन ।
समाजिक सुधारका लागि भन्दै उनी ०५९ सालदेखि निरन्तर ग्रामीण महिला सशक्तिकरण मञ्चमार्फत सामाजिक न्यायका लागि सक्रिय छिन् । करिब एक दशकदेखि ग्रामीण महिला सशक्तिकरण मञ्चमा सदस्यका रूपमा काम गरी उपाध्यक्षसम्म भएकी उनले महिला हिंसा, सामाजिक अन्याय र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी छिन् ।
‘सुरुमा ग्रामीण महिला सशक्तिकरण मञ्चमा सदस्यको रूपमा जोडिएर उपाध्यक्षसम्म बने । त्यहाँ महिला हिंसा, सामाजिक हिंसा विरुद्ध र महिला अधिकारका पक्षमा काम गरिरहेँ,’ उनले भनिन् । सोही क्रममा उनी २०७९ को स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हर्क साम्पाङको कार्यशैलीबाट प्रभावित बनिन् ।
‘कर्णालीका महिलामा चेतना फैलाउँदै सिमान्तकृत र दलित महिलाको हकहितको लागि संर्घष गरिरहेकी थिएँ । मेयर बन्ने बेलादेखि सामाजिक सञ्जालमा उहाँको पोष्ट हेर्थेँ । श्रमलाई माया गर्ने, जनतासँगै भिज्ने उहाँको शैली मन परेको हो,’ उनले भनिन् ।
प्रतिनिधिसभा निर्वाचनमा साम्पाङले पार्टी नै दर्ता गरेर भाग लिएपछि उनी अझ उत्साहित भइन् । ‘उहाँको काम मन परेको थियो । अहिले पार्टी नै खोलेर आउने भनेपछि श्रम संस्कृति पार्टीको राष्ट्रिय मुद्दा र श्रमलाई दिएको महत्वले मलाई अझ प्रभावित बनायो । यस पार्टीले सुशासन, भ्रष्टाचार अन्त्य, देशको आर्थिक संवृद्धिलाई मुख्य एजेण्डा बनाएको छ । हर्कवाद र श्रमले देश बनाउने उहाँको अठोटबाट म प्रभावित भएर पार्टीमा आबद्ध भएकी हुँ,’ रम्तेलले भनिन् ।
चुनावी प्रचारका क्रममा हर्क पूर्वबाट मध्यनेपाल छिचोल्दै पश्चिम कर्णाली पुगेका थिए । सोही क्रममा सुर्खेतमा भएको पार्टी सभामा उनले हर्कसँग प्रत्यक्ष भेट गर्ने अवसर पाइन् । त्यसपछि उनले पार्टीको सदस्यता लिएर सक्रिय रूपमा चुनावी प्रचारमा लागिन् ।
तर, पार्टीले आफूलाई सांसद बनाउँछ भन्ने कहिल्यै नसोचेको उनको भनाइ छ । पार्टीप्रति उनको लगाव र सामाजिक योगदान देखेर हर्कले उनलाई समानुपातिक सूचीको दलित कोटातर्फ पहिलो नम्बरमै राखे । ‘न खासै चिनजान न भेटघाट । उहाँ पूर्वको मान्छेले सिङ्गो नेपाल समेट्ने सन्देश दिँदै मजस्तो कर्णालीको भुइँमान्छेलाई यसरी विश्वास गर्नुहुनेछ भन्ने मैले सोचेकी पनि थिइनँ,’ रम्तेलले भनिन् ।
समानुपातिक सूचीको दाबेदार हुन आफूले कुनै कसरत नगर्दा पनि अवसर पाएकोमा उनी खुसी छिन् । ‘मैले उहाँलाई समानुपातिक सूचीबाट सांसद बन्छु भनेर कहिले फोन गरिनँ, न साथीहरूमार्फत भन्न लगाएँ, तर उहाँले मलाई दलित कोटाको पहिलो नम्बरमा राखिदिनुभयो । सूचीमा नाम राखिसकेपछि आफैँले फोन गरेर ‘नाम राखिदिएको छु, धरान आउनुहोस् भन्दै बोलाउनुभयो । उहाँको यो सरल र भुइँमान्छेको स्वभावले नै मलाई अझ प्रभावित बनायो,’ उनले सुनाइन् ।
पार्टीलाई कर्णालीबाट अपेक्षाकृत कम मत आएको भएपनि नेतृत्वले आफूलाई प्राथमिकतामा राखेकाले थप जिम्मेवारी बोध भएको उनको भनाइ छ । कर्णाली प्रदेशबाट यस पार्टीले ४ हजार ६ सय ५७ मत ल्याएको छ । ‘पार्टीमा औपचारिक विभिन्न जिल्ला–जिल्ला गएँ । नयाँ पार्टी भएर पनि होला यसपटक यहाँको जनताले खासै पत्याउनुभएन । कर्णालीबाट हाम्रो पार्टीलाई करिब ४ हजार बढी मत मात्रै पर्यो । तरपनि नेतृत्वले न्योचित ढंगले सांसद चयन गर्नुभएकोमा थप जिम्मेवारी पाएको महसुस गरेकी छु,’ उनले भनिन् ।
साम्पाङले समानुपातिक सांसदमा समेटेपछि कर्णालीबासीमा पार्टीप्रति विश्वास बढेको उनको बुझाइ छ । सांसद बन्दा परिवारबाट उर्जा मिलेको उनी सुनाउँछिन् । पछिल्लो समय उनी घरगृहस्थीमा मात्र सीमित छैनन् ।
‘मेरो श्रीमान्, बुबाआमा सबैले सदनमा राम्रो काम गर्नुपर्छ भनेर मलाई उत्साह दिनुभएको छ,’ उनले थपिन्, ‘महिला आर्थिक रुपमा स्वतन्त्र हुनुपर्छ भनेर सोचसहित मैले तान बुन्ने सीप सिकेकी थिएँ । त्यही सीपलाई सदुपयोग गर्दै अन्य दिदीबहिनीसँग मिलेर उद्योग खोले, त्यसले मेरो परिवारको खर्च टार्न सहज बनाइरहेको छ ।’
संसदमा आफ्नो भूमिकाबारे बोल्दै उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा कर्णाली अझै पछाडि रहेपनि आफूले महिला, सुकुम्बासी र दलित समुदायको उत्थानका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन् ।
‘कर्णाली शिक्षा, स्वास्थ्य, पूर्वाधार सबै क्षेत्रमा पछाडि छ। मैले महिलाले भोग्ने हिंसा, हिंसा भोगेर पनि न्याय नपाएको अवस्था, महिलाको आर्थिक पक्ष कसरी बलियो बनाउने, बालविवाह समस्या, सुकुम्बासी समस्या र दलित समुदायका लागि विशेष ध्यान दिने योजना बनाएकी छु । यसमा कानुन बने पनि कार्यान्वयन भएको छैन, त्यसमा नै जोड दिनेछु,’ उनले सुनाइन् ।
सुत्केरी हुन नसकेर ज्यान गुमाउने महिलाको समस्यामा पनि उनले आवाज उठाउने योजना बनाएकी छिन । ‘कर्णालीमा राम्रो सडक र स्वास्थ्य संस्था नहुँदा सुत्केरी हुन नसक्दा वर्षेनी महिलाले अस्पताल जादाजादै ज्यान गुमाउनुपरेको कहालीलाग्दो व्यथा छ, त्यसका लागि पनि आवाज उठाउने छु ।’ उनले भनिन् ।