धरान : पिपलको छहारीमुनि प्लास्टिकका म्याट र बोरा बिछ्याइएका छन् । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ, ‘श्री पिपलबोटे खुल्ला विद्यालय’ । जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०–३५ जना बालबालिका दिनहुँ बिहान ७ बजे किताब, कापी र कलम च्यापेर ट्युसन पढ्न आइपुग्छन् ।
चन्द्र सर अर्थात् चन्द्र भण्डारी ती बालबालिकालाई लेखपढमा सहायता गर्छन् । विद्यालयमा पढ्दा नबुझेका पाठ बुझाइदिन्छन् । गृहकार्य गर्न सहजीकरण गर्छन् । यो दृश्य हो, इटहरीको व्यस्त पूर्व–पश्चिम राजमार्ग नजिकै पर्ने टेङ्ग्रा खोलाको किनारछेउको गल्लीको ।
नामजस्तै यस खुला आकाशमुनि पठनपाठन सञ्चालन हुन थालेको तीन दशकभन्दा बढी भइसकेको छ । पिपलको रुखमुनि निरन्तर सिकाइ गतिविधि सञ्चालन हुँदै आएको हुनाले यसलाई ‘पिपलबोटे खुल्ला विद्यालय’ नाम दिइएको हो ।
तर, यो दर्ता गरिएको औपचारिक विद्यालय वा शैक्षिक केन्द्र भने होइन । भण्डारीको व्यक्तिगत पहल, अदम्य इच्छाशक्ति र समर्पणका कारण निरन्तरता पाएको शैक्षिक अभियान हो । उनले विपन्न, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएका छन् । यस योगदानका कारण छरछिमेकमा सबैले उनलाई ‘चन्द्र सर’ भनेर चिन्ने गरेका छन् ।
सङ्घर्षले सिकाएको सेवाभाव
सुनसरीको छिमेकी जिल्ला धनकुटाको कागते–६ मा जन्मिएका चन्द्र भण्डारी चार सन्तानमध्ये कान्छा छोरा हुन् । सामान्य परिवारमा हुर्किएका उनले बाल्यकालमै अभाव र सङ्घर्ष झेलेका छन् । गुजाराको खोजीमा आमाबाट ५० रुपैयाँ खर्च लिएर उनी २०४४ सालमा इटहरी झरेका थिए ।
इटहरीमा दाजु–आफन्तसँग ग्यारेजमा मेसिन बनाउने काम गरे । केही समयपछि एक साथीसँग मिलेर हटिया बजारमा कपडाको व्यापार गरे । तर करिब छ महिनामै त्यो व्यापार बन्द भयो । त्यसपछि उनी बाँसको व्यापारमा लागे । २०५१ सालदेखि उनले टेङ्ग्रा खोलानजिकै बाँसको व्यापार सुरु गरे ।
धरानको पानमारा, मोरङको केराबारी र धनकुटाबाट २०–२३ रुपैयाँमा किनिएको बाँस २५ रुपैयाँमा बिक्री हुन्थ्यो । प्रति बाँस दुई रुपैयाँ नाफा हुन्थ्यो । यसरी उनले सुनसरीका विभिन्न ठाउँमा व्यापार विस्तार गरे ।
यही क्रममा विद्यालय जाने उमेरका बालबालिका धुलोमाटोमा खेलिरहेको उनले देखे । “उनीहरूका बाआमालाई छोराछोरी पढाउनुपर्छ भन्ने चेतना सायदै थियो,” उनले सम्झिए, “मलाई भने गरिबीका कारण पढाइ छाड्नुपरेको आफ्नो बाल्यकाल सम्झना आयो ।”
त्यसपछि उनले बालबालिकालाई भेला गरेर पढाउने निर्णय गरे । सुरुमा १० जना बालबालिकालाई बिहान–बेलुका दुई–तीन घण्टा निःशुल्क ट्युसन पढाउन थाले ।
“अक्षर चिनाएपछि स्कुल जाने बाटो खुल्छ भन्ने लाग्थ्यो,” उनले भने, “बालबालिकाको पीडाले नै खुल्ला विद्यालय जन्मियो ।”
विपन्न परिवारका बालबालिकालाई भरोसा
उनको प्रयास विस्तारै फैलिँदै गयो । स्थानीयमा चर्चा बढ्दै जाँदा विद्यार्थी पनि थपिँदै गए । सुरुमा सानो टहरो बनाएर पढाइन्थ्यो । बिहान–बेलुका ४०–५० जना बालबालिका आउँथे ।
तर, २०६० सालमा टहरो भत्किएपछि कक्षा खुला आकाशमुनि नै सञ्चालन हुन थाल्यो । “कटेज भत्किए पनि बालबालिकामा पढ्ने चाहना थियो,” उनले भने, “उनीहरूले बोरा ल्याएर भुइँमा बिछ्याएर पढ्न थाले ।”
“सुविधा केही थिएन, तर सिक्ने चाहना थियो,” उनले बताए ।
बाढी, खडेरी वा अन्य कठिनाइका बीच पनि उनको ट्युसन कहिल्यै रोकिएन । कोभिड–१९ महामारीका बेला पनि उनले अनलाइन कक्षा सञ्चालन गरे । अहिले दैनिक ३०–३५ जना बालबालिका नियमित पढ्न आउँछन् ।
यहाँ पढ्ने अधिकांश बालबालिका श्रमिक परिवारका छन् । केही मध्यम वर्गका बालबालिका पनि आउँछन् ।
उनले जन्मदिनमा कापी, कलम र पुस्तक उपहार दिने गर्छन् । सहयोगीहरूले पनि सामग्री र लत्ताकपडा ल्याउने गर्छन् ।
तर व्यवस्थित कक्षा कोठाको अभाव उनलाई अझै खड्किएको छ ।
“घामपानीबाट जोगिने ठाउँ भए अझ राम्रो हुन्थ्यो,” उनले बताए ।
सेवाको कदर
उनको सेवाभावको कदर गर्दै विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । २०७१ सालमा दमकको ‘पढ्ने घर’ संस्थाले पहिलोपटक सम्मान गरेको थियो । त्यसपछि धेरै संस्थाबाट अवार्ड प्राप्त गरेका छन् ।
उनी ‘युएसए–नेपाल ह्युमानिटेरियन सर्भिस अवार्ड २०१७’ बाट पनि सम्मानित भएका छन् । सेक्रेड हार्ट इङ्लिस स्कुल र मानव अधिकार तथा शान्ति समाजलगायत संस्थाले पनि सम्मान गरेका छन् ।
उनका लागि सम्मान केवल कागज होइन, समाजको माया र भरोसा हो ।
“कर्म गर्नु मेरो कर्तव्य हो,” उनले भने, “फलको आशा छैन । सकेसम्म पढाइरहन्छु ।”
उनका लागि यो शिक्षा सेवा पेशा होइन, जीवनको उद्देश्य हो । यही भावनाले उनलाई तीन दशकदेखि यही काममा टिकाइरहेको छ ।
“म खुसी छु, बालबालिका पनि खुसी छन्,” उनले भने ।
यही खुसीले उनलाई हरेक दिन फेरि पिपलको छहारीमुनि उभिन प्रेरित गरिरहेको छ । उनले पढाएका विद्यार्थीहरू आज कोही विदेशमा छन् भने कोही नेपालमै विभिन्न पेशामा संलग्न छन् ।