-एलिना राई
देशका विभिन्न सहरी तथा अर्धसहरी क्षेत्रमा सस्तो मूल्यमा सहज रूपमा पाइने नशाजन्य पदार्थका कारण बालबालिका र किशोरकिशोरी गम्भीर जोखिममा परिरहेका छन् । पछिल्लो समय प्रहरी तथ्याङ्क र पुनर्स्थापना केन्द्रहरूको अनुभवले देखाएको छ कि लागूऔषध अब केवल युवामाझ सीमित नभई विद्यालय तहका बालबालिकासम्म विस्तार हुँदै गएको छ।
इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा धरान उपमहानगरपालिकामा मात्रै १ सय ८० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । तीमध्ये १८ देखि २५ वर्ष उमेर समूहका ९३ जना छन् भने १७ वर्षमुनिका २ जना रहेका छन्।
इलाका प्रहरी कार्यालय धरानका डीसपी भीषणबाबु राईका अनुसार सस्तो मूल्य, सजिलो पहुँचका कारण बालबालिका लागूओैषधमा फस्दै गएको बताए । त्यस्तै पारिवारिक विखण्डन, अभिभावकीय निगरानीको कमी, मानसिक अस्थिरता, गलत संगत र सामाजिक परिवेशमा आएको परिवर्तनका कारण कम उमेरमै दुर्व्यसन सुरु हुने प्रवृत्ति बढ्दो छ। 'डिजिटल युग र नेपाल–भारत खुला सिमानाका कारण लागूऔषध ओसारपसार नियन्त्रणमा चुनौती थपिएको छ,’ उनले भने, ‘सीमावर्ती क्षेत्रबाट सजिलै लागूऔषध भित्रिने र स्थानीयस्तरमा वितरण हुने भएकाले किशोरहरूमा यसको पहुँच बढेको छ।’
लागूऔषध दुर्व्यसनीका कारणले चोरी, कुटपिट, झै–झगडा लगायतको आपराधिक कार्य बढ्दै गएको डीसपी राईले बताए । केही दिनअघि मात्र धरान-११ मा घरेलु हतियार खुकुरीसहित झै–झगडा गर्दा पक्राउ परेका युवाहरु अधिकांश लागूऔषध सेवनकर्ता रहेको पुष्टि भएको छ । यसरी आपराधिक घटनामा लागूऔषध प्रयोगकर्ताको संलग्नता बढी मात्रामा देखिन थालेपछि धरानमा सादा पोसाकका प्रहरीको सक्रियता बढाएको राईले बताए ।
धरान–१७ का १७ वर्षीय सुमन राई लागूऔषधको लतमा फसेका प्रतिनिधि पात्र हुन्। कलेज पढ्दै गर्दा साथीहरूको संगतमा परेर एकचोटि मात्र भनेर सुरु गरेको बानी बिस्तारै उनको जीवनको नियमित हिस्सा बन्न पुग्यो । सुरुमा सामान्य जिज्ञासा र रमाइलोका लागि लिइएको त्यो कदम पछि गम्भीर लतमा परिणत भएको उनी बताउँछन् । उनका अनुसार उनले गाँजा, स्पास्पेन (स्पास्मो ट्याब्लेट) र ट्यामाडोल जस्ता लागूऔषध मिलाएर ‘फर्मुला’ बनाएर सेवन गर्ने गरेको बताए ।
ती पदार्थहरू सस्तो मूल्यमा सजिलै उपलब्ध हुने भएकाले आफू सजिलै त्यसको जालोमा फसेको उनले बताए । सुरुमा साथीहरूको दबाब र गलत संगतले आकर्षित गरे पनि पछि बिस्तारै शरीर र मन दुवै त्यसको अभ्यस्त हुँदै गएको उनले बताए । अहिले उनी पुनर्स्थापना केन्द्रमा विगत एक महिनादेखि छन् ।
यस्तै, धरान-१५ का १८ वर्षीय सन्दीप परियार विगत ५ वर्षदेखि लागूऔषधको लतमा फसेका छन् । बाबुको मृत्यु र आमाको दोस्रो विवाहपछि पारिवारिक विखण्डनको असर उनीमाथि परेको थियो। हजुरआमासँग बस्दै आएका उनले आमाको माया नपाउँदा मानसिक रूपमा असुरक्षित महसुस गरे। यही अवस्थाबाट बाहिर निस्कन खोज्दा उनी सानै उमेरमा गलत संगतमा फसे।
करिब १३ वर्षमै चुरोटबाट सुरु भएको उनको दुर्व्यसन क्रमशः लागूऔषधमा परिणत भयो। घर छोडेर सडकमा पुगेपछि उनले लागूऔषध सेवन मात्र होइन, ओसारपसार र आपूर्तिमा समेत संलग्न भएको बताए । समयसँगै उनको पढाइमा गम्भीर असर पर्न थाल्यो र कक्षा ६ पछि विद्यालय छोड्न बाध्य भए । शिक्षा छुटेपछि उनको जीवन अझ अनियन्त्रित बन्दै गयो र लागूऔषध उनको दैनिक जीवनको हिस्सा बन्यो ।
सडक बच्चा भएर उनले दैनिकी निर्वाह गर्न थाले र त्यसपछि उनी इटहरीस्थित भ्वाइस अफ चिल्ड्र्ने संस्थामा पनि आश्रित हुन पुगे । जहाँ सडक बच्चालाई राखिने गरिन्छ । तर त्यहाँबाट पनि उनी भागेर सडकमै आइपुग्थे । अहिले उनी १८ वर्षका भए तर उनको लत क्रमश: गाँजा र विभिन्न प्रकारका ट्याब्लेट र खैरो हिरोइनसम्म विस्तार हुँदै गयो ।
उनका अनुसार लागूऔषध नाकाबाट ओसारप्रसार गर्ने , डिलरमा पुर्याउने र अडरबाट विभिन्न मान्छेकोमा सप्लाई गर्ने र त्यहाँबाट .आएको पैसाले फेरि लागूऔषध किन्ने गरेको उनले बताए । ‘डिलरबाट ल्याएर अरूलाई पुर्याउने र आएको पैसाले फेरि लागूऔषध किन्ने गर्थें,’ उनले भने । केही समयअघि प्रहरीले चेकजाँचका क्रममा उनको साथबाट ५ ग्राम लागूऔषध बरामद गर्यो । अहिले उनी पनि पुनर्स्थापना केन्द्रमा उपचारत छन् ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३ सय ३९ जना लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका थिए, जसमध्ये १७ वर्ष उमेरका ९ जना , १८ देखि २५ वर्षका १ सय ६१ जना , २६ देखि ३५ वर्षका १ सय २२ जना, ३६ देखि ४५ वर्षका ४० जना र ५६ वर्षमाथिका ७ जना पक्राउ परेका छन् ।
यसैगरी आव २०८०/८१ मा १ सय ९२ वटा लागूऔषधका मुद्दा दर्ता भएका छन् । तीमध्ये १७ वर्ष उमेरका ६ जना, १८ देखि २५ वर्षका ८६ जना, २६ देखि ३५ वर्षका ४० जना, ३६ देखि ४५ वर्षका १८ जना र ५६ वर्षमाथिका ३ जना रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
धरानस्थित केवाईसी पुनर्स्थापना केन्द्रका प्रतिनिधि अनिस गुरुङका अनुसार पछिल्लो समय उपचारका लागि आउने अधिकांश किशोर उमेरका छन्। ‘पारिवारिक तनाव, मानसिक अस्थिरता र गलत संगत मुख्य कारणका रूपमा देखिएको छ,’ उनले भने, ‘समयमै उपचार र परामर्श नपुग्दा समस्या झन् जटिल बन्दै गएको छ।’
अभिभावक वैदेशिक रोजगारीमा जाने, बालबालिका आफन्त वा होस्टलमा छोडिने अवस्थाले उनीहरूमा भावनात्मक खालीपन सिर्जना गरेको छ। यही खालीपन, निगरानीको कमी र खुला सिमानाबाट सहज आपूर्तिले लागूऔषधको जोखिमलाई अझ बढाएको गुरुङले बताए । किशोर अवस्थामा हुने मानसिक परिवर्तन, जिज्ञासा र दबाबले पनि उनीहरूलाई दुर्व्यसनतर्फ धकेल्ने गरेको उनको भनाइ छ ।